काठमाडौं ।
अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोना भाइरसका कारण वित्तीय क्षेत्रमा परेको क्षतिको अध्ययन भइरहेको बताएका छन् ।
अर्थमन्त्री खतिवडाले नेपाल चाटर्ड एकाउन्टेन्स संस्था (आइक्यान) ले गरेको भिडियो कन्फ्रेन्समा बोल्दै यस्तो बताएका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण मुलुकका उद्योग, व्यापार, पर्यटन, वैदेशिक लगानी, रेमिट्यान्स लगायतका विभिन्न क्षेत्र प्रभावित भएका छन् । यस्तो अवस्थामा सरकारले कुन क्षेत्रमा कति क्षति भएको छ भन्ने अध्ययन गरिरहेको उनले बताए ।
‘वित्तीय क्षेत्रको बारेमा कुरा गर्दा कोरोनाका कारण आवागमन बन्द हुँदा कुन क्षेत्र प्रभावित भए भन्ने लेखाजोखा भइरहेको छ । यसमा श्रम, निर्माण, व्यापार, उद्योगमा के परेको छ र यसले वित्तीय क्षेत्रमा कस्तो असर पर्छ भन्ने कुरा हुन्छ ।’ अर्थमन्त्री खतिवडाले भने । उनले बैंकका ऋण र निक्षेपकर्ताको बीचमा साझेदारी मिलाएर जानुपर्नेमा जोड दिए । नाफा, घाटा जे हुँदा पनि बाँडौला भन्ने विचार हुनुपर्ने अर्थमन्त्री खतिवडाको भनाइ थियो ।
कर्जा लिनेको छुट दिने कुरामा ऋणको साँवा र ब्याजमा असार मसान्तभन्दा पछि पनि सार्न सकिने उनको भनाइ थियो । उनले यदि कुनै व्यवसाय राम्रोसँग चलिरहेको छ र ऋण तिर्ने क्षमता छ भने समयमै तिर्न समेत आग्रह गरेका छन् । कोरोनाका कारण बैंकिङ क्षेत्रले निस्क्रिय कर्जाको चुनौती खेप्नु पर्ने उनले बताए । त्यस्तै, उनले आर्थिक गतिविधि सामान्य बनाउन एकैचोटी सम्भव नहुने भन्दै त्यसका लागि सरकारले क्रमशः काम गर्दै जाने बताए ।
‘आर्थिक गतिविधि खुकुलो बनाउँदा व्यवसायिक व्यक्तिको आगमन हुन्छ र संक्रमणको जोखिम पनि उत्तिकै हुने भएकाले सोचेर मात्रै अगाडी बढ्नुको विकल्प छैन ।’ अर्थमन्त्री खतिवडाले भने । त्यस्तै, अन्तर्राष्ट्रिय नाका बन्द गर्दा पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो असर परेको उनले बताए ।





























प्रतिक्रिया