समुद्रपार निकासी पैठारी संघद्वारा राहतको माग

समुद्रपार निकासी पैठारी संघद्वारा राहतको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नेपाल समुद्रपार निकासी पैठारी संघले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण व्यापार व्यवसाय पूर्णरुपमा ठप्प भएपछि राहतको माग गरेको छ ।

संघले हालको चालु पूँजी कर्जा र आवधिक कर्जालाई एक/दुई वर्षे कर्जामा परिणत गर्नुपर्ने, बैंकहरुले बचतको ब्याजदर घटाउनु पर्ने, तथा अहिलेको चालुपूँजी कर्जाको सीमा एक/दुई पटकसम्म थप गरिदिनु पर्ने माग गरेको छ ।

संघले विज्ञप्ति प्रकाशित गर्दै नेपालको कुल व्यवसायमा सेवा क्षेत्रको हिस्सा ५० प्रतिशतभन्दा बढी रहेकोले यस क्षेत्रलाई बैंक तथा वित्तीय संस्थाबाट विभिन्न उपक्रमद्वारा विशेष सुविधा दिन माग गरेको छ । संघले औद्योगिक नीतिहरुलाई अझ खुकुलो बनाउँदै मुलुकमा औद्योगिकीकरणको थालनी गर्न उपयुक्त समय आएको बताएको छ । विदेशी लगानी नीतिलाई अझ उदार बनाउँदै विदेशी लगानी प्रवर्धन र विदेशी पूँजीको आप्रवाह बढाउनु पर्ने सुझाव दिएको छ ।

विद्यमान सम्पत्तिमा पूनर्कर्जा उपलब्ध गराउन माग

बैंकहरुको कर्जा लगानी अनुपात आगामी दुई वर्षसम्मका लागि बढाउन संघले माग गरेको छ । संघले आगामी १० महिनाका लागि ब्याज पूँजीकरणको सुविधा दिन र ट्रेडिङमा समेत युसान्स एलसी १० दिन हुने व्यवस्था गर्न माग गरेको छ । त्यस्तै, होटल र उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा बुकिङ प्रणाली विस्थापित गर्न संघले सुझाव दिएको छ । त्यस्तै, निर्यातका लागि लगानी बोर्ड जस्तै निकाय खडा गरेर एकद्वारबाट निर्यात सम्बद्ध सबै विषयको सम्बोधन गर्न माग गरेको छ । सरकारले निर्यातकर्तालाई सहुलियत ब्याजमा मध्यकालीन र दीर्घकालीन कर्जा उपलब्ध गराउनु पर्ने संघले माग राखेको छ ।

Logo