कांग्रेस वरिष्ठ नेता पौडेललाई जापान सरकारको उच्च विभुषण

कांग्रेस वरिष्ठ नेता पौडेललाई जापान सरकारको उच्च विभुषण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उच्च विभुषण ‘ग्रान्ड कोर्डन अफ दि अर्डर अफ दि राइजिङ सन’ प्रदान गर्ने भएको छ । जापानी दूतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । सन् १८७५ मा जापानले स्थापना गरेको यो सम्मान जापान सरकारले विदेशी नागरिकहरुलाई प्रदान गर्ने गरेको ठूलो सम्मान मध्ये एक हो ।

नेपाल र जापानबीचको सम्बन्ध मजबुद बनाउन योगदान गरेकाले पौडेललाई यो सम्मान दिइएको दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । पौडेल सन् १९९९ मा स्थापित नेपाल जापान संसदीय मैत्री संघका संस्थापक अध्यक्ष हुन् । सन् २०१७ सम्म उनी यसको अध्यक्ष थिए ।

को हुन् रामचन्द्र पौडेल ?

७६ वर्षिय पौडेल नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय छन् । कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको निधनपछि ०७२ माघ पछि पौडेल कार्यवाहक सभापति बनेका थिए । त्यसपछिको महाधिवेशनमा सभापति बन्न खोजे पनि उनी सफल भने भएनन् ।

आफ्नो जीवनको पाँच दशक भन्दा बढी समय राजनीतिमा समर्पण गरेका पौडेलले विगतदेखि वर्तमानसम्म कांग्रेस राजनीतिभित्र समन्वयकारी एवं मध्यमार्गी भूमिका निभाउँदै आएका छन् । उनी यसअघि पार्टी भित्र महामन्त्री र उपसभापतिसम्म भएका छन् भने पटक-पटक मन्त्री र उपप्रधानमन्त्री पनि बनेका छन् । उनी पूर्वसभामुख पनि हुन् । ०१७ सालदेखि राजनीतिमा सक्रिय रामचन्द्र पौडेलले वीपी कोइराला ०३३ सालमा भारतको निर्वासनबाट फर्केपछि कोइरालाका नजिकका पात्र भएर काम गरे । त्यतिबेलादेखि नै पौडेलले पार्टीभित्र समन्यकारी भूमिका निभाउन थालेका हुन् ।

वि.सं. २००१ सालमा तनहुँको रिस्तीमा जन्मिएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका हुन् । नेपाली कांग्रेसद्वारा सञ्चालित ०१८ को सशस्त्र क्रान्तिमा पनि पौडेलको सहभागिता उच्च थियो । विद्यार्थी आन्दोलनका अगुवा रहेका पौडेललाई ०४० सालमा कांग्रेसले केन्द्रीय प्रचार समितिको संयोजक बनाएको थियो । उनी ०४४ सालमा पहिलो पटक कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए । त्यसयता उनी निरन्तर केन्द्रीय समितिमा छन् ।

०४८ सालको आमनिर्वाचनमा तनहुँ १ बाट संसद पदमा निर्वाचित उनी स्थानीय विकासमन्त्री र कृषि मन्त्री बनेका थिए । ०५१ सालको चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित हुँदै उनले प्रतिनिधिसभाको सभामुख भएर ५ वर्ष काम गरे । ०५६ सालको निर्वाचनमा तनहुँ २ बाट संसद बनेका उनीसँग उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्री भएर काम गरेको अनुभव पनि छ ।

तत्कालिन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उनको भूमिका उच्च छ । ०७० सालको संविधानसभा निर्वाचनसम्म आइपुग्दा ५ पटक सांसद बने पनि ०७४ को चुनावमा भने उनी पराजित भएका थिए । वि.सं २०१९ देखि ०४६ सालसम्म पटक-पटक १३ वर्ष जेल जीवन बिताएका पौडेलका राजनीतिसँग सम्बन्धित तीनवटा पुस्तक पनि प्रकाशित भएका छन् । प्रजातान्त्रिक समाजवादः एक अध्ययन, नेपाली कांग्रेस के भन्छ ? र नयाँ सन्दर्भमा समाजवाद नामका पुस्तक उनले लेखेका हुन् ।

वि.सं. ०६७ सालमा प्रधानमन्त्रीका लागि पौडेलले १७ पटक प्रयास गर्दा पनि सफल भने भएका थिएनन् । कांग्रेसको आगामी महाधिबेशनमा उनी सभापति बन्ने होडमा छन् ।

Skip This
Skip This
Logo