काठमाडौं ।
सरकारले कोरोना भाइरसको संक्रमणका कारण नेपाली अर्थतन्त्रमा असर परेको भन्दै सहयोगका लागि एसियाली विकास बैंक (एडिबी) सँग आग्रह गरेको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले एएिडीबीसँग थप सहयोग गर्न आग्रह गरेका हुन् । अर्थमन्त्री खतिवडाले बुधबार एडीबीका अध्यक्ष साचुगु आसाकावासँग टेलिफोन वार्ता गर्दै सहयोगका लागि आग्रह गरेका हुन् । अर्थमन्त्री खतिवडा र एडिबी अध्यक्ष आसाकावाबीच भएको सो टेलिफोन वार्तामा कोरोनाले अर्थतन्त्रमा पार्ने प्रभाव, एसियाली विकास बैकले नेपाललाई गरिरहेको सहयोग तथा आगामी दिनमा नेपालको विकास प्राथमिकताका क्षेत्रमा बैंकले गर्न सक्ने थप सहयोगका विषयमा कुराकानी भएको एडिबीले जनाएको छ ।
सो बार्तामा अर्थमन्त्री खतिवडाले स्वास्थ्य सेवामा सार्वजनिक क्षेत्रको भूमिका प्रभावकारी रहनुपर्ने बताए । उनले आगामी दिनमा नेपालको स्वास्थ्य पूर्वाधार विकासमा बैंकको थप सहयोगको अपेक्षा रहेको समेत बताएका छन् । कोरोनाको असरका कारण वैदेशिक रोजगारी प्रभावित भएको भन्दै कृषि क्षेत्रमा लगानी बढाउने र रोजगारी सृजना गर्नुपर्ने भएकाले सो क्षेत्रमा पनि आर्थिक सहयोग गर्न खतिवडाले आग्रह गरेका छन् ।
एडिबीले यसअघि कोरोना महामारीको असरलाई न्युनिकरण गर्न ३ लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामाग्री तथा २५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायताका लागि सहयोग गरिसकेको छ ।





























प्रतिक्रिया