कठमाडौं ।
चर्चित बलिउड अभिनेता इरफान खानको निधन भएको छ । ५४ वर्षिय खानले बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा अन्तिम सास फेरेका थिए । अहिले उनको निधनले पुरै बलिउड नै शोकमा डुबेको छ ।
इरफानको जन्म ७ जनवरी १९६७ मा राजस्थानको जयपुरमा बुवा यासीन अली खान र आमा सईदा बेगम खानको कोखबाट भएको थियो । सानैदेखि राम्रो क्रिकेट खेल्ने उनी परिवारको आर्थिक अवस्था नाजुक भएकोले अघि बढ्न सकेनन् । आमा सईदा उनलाई शिक्षक बनाउन चाहान्थिन । तर सानैदेखि विद्यालयका विभिन्न नाटकहरुमा भाग लिँदा लिँदै उनलाई अभिनय क्षेत्र नै प्यारो लाग्न थाल्यो । त्यसैले उनले राष्ट्रिय नाट्य विद्यालयबाट प्रशिक्षण लिए । यसैक्रममा २३ फेब्रुअरी १९९५ मा सोही विद्यालयमा अध्यनरत सुतपा सिकदरसंग उनको विवाह भयो ।
थिएटरबाट अभिनय यात्रा शुरु गरेका उनले मुम्बई आएपछि धारावाहिक टेलिभिजन सिरियलहरुमा काम गर्न थाले । यसैक्रममा सन् १९८८ मा उनले सलाम बम्बे नामक चलचित्रको सानो रोलबाट बलिउडमा पाइला टेके । त्यसपछि निरन्तर रुपमा अभिनय क्षेत्रमै अगाडि बढेका उनले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । मकबूल, पिकु, पान सिंह तोमर, बजरंगी भाइजान जस्ता चर्चित फिल्ममा अभिनय गरेका उनी जुनसुकै चरित्रमा आफुलाई ढाल्न सक्ने यथार्थपरक अभिनेताका रुपमा चिनिन्छन् ।

बलिउडमा मात्र नभई उनले हलिउडका ‘जुरासिक वर्ल्ड’, ‘लाइफ अफ पाई, द अमेजिंग स्पाईडर म्यान जस्ता सुपरहिट चलचित्रहरुमा पनि अभिनय गरेका छन् । बलिउड र हलिउडमा दमदार प्रस्तुतिको कारण उनी आफ्नो जीवनकालमा धेरै अवार्डहरुबाट पुरस्कृत भएका छन् । निकै सरल जीवन विताउन मन पराउने उनलाई सन् २०११ मा भारतको चौथो सर्वोच्च नागरिकको रुपमा सम्मानस्वरुप पद्ममा श्री अवार्डबाट समेत विभूषण गरिएको थियो ।
दुर्लभ किसिमको क्यान्सर न्युरोएन्डोक्राइन ट्युमरबाट पीडित उनले सन् २०१८ मा पहिलोपटक आफु क्यान्सर पीडित भएको मिडियासमक्ष जानकारी दिएका थिए । दुई वर्षदेखि क्यान्सरबाट ग्रसित उनले लण्डनमा समेत उपचार गराएका थिए । गत शनिबार मात्र उनकी आमाको निधन भएको थियो । आमाको निधन पछि केहि दिन पहिले अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।

उनका २ छोराहरु छन्, सुतापा र बबील । इरफानले अभिनय गरेको पछिल्लो चलचित्र अंग्रेजी मिडियम हो । जुन चलचित्रले कोरोना भाइरसका कारण राम्रो व्यापार गर्न सकेन । उक्त चलचित्रको छायांकन गर्दा पनि उनि निकै बिरामी परेका थिए ।
































प्रतिक्रिया