कोरोनाका कारण आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण, यस वर्ष २.२७ प्रतिशतमा सिमित हुने

कोरोनाका कारण आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण, यस वर्ष २.२७ प्रतिशतमा सिमित हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

चालु आर्थिक वर्षको आर्थिक बृद्धिदरमा निकै ठूलो असर देखिने भएको छ । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सम्पूर्ण आर्थिक गतिविधी प्रभावित भएको भन्दै आर्थिक वृद्धिमा संकुचन आउने सरकारले प्रक्षेपण गरेको हो ।

बुधबार केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा २.२७ प्रतिशतमा मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । सरकारले चालु आवमा ८.५ प्रतिशत आर्थिक बृद्धिदर हुने लक्ष्य राखेको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले पनि सो आर्थिक बृद्धिदर जसरी पनि हासिल हुने बताएका थिए । तर चालु आवको मध्यपछि शुरु भएको कोरोना भाइरसको संक्रमणले मुलुकको अर्थतन्त्र तहसनहस पारेको भन्दै अर्थतन्त्रको बृद्धिदर नराम्रोसँग प्रभावित भएको विभागले जनाएको छ । कोरोनाले सेवा क्षेत्रको बृद्धिदरलाई नराम्रोसँग प्रभावित बनाएको विभागले जनाएको छ ।

विभागका अनुसार अर्थतन्त्रका मूख्य तीन क्षेत्रमध्ये प्राथमिक क्षेत्रको बृद्धिदर २.५४ प्रतिशतमा, द्वितीय क्षेत्रको बृद्धिदर ३.३६ प्रतिशत र सेवा क्षेत्रको बृद्धिदर मात्र १.९९ प्रतिशत रहने जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा मुलुकको आर्थिक वृद्धिदर ६.७५ कायम भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागले जनाएको छ ।

प्रतिव्यक्ति आम्दानी १ लाख २६ हजार रुपैयाँ

नेपालीको प्रतिव्यक्ति वार्षिक औसत आम्दानी १ लाख २६ हजार रुपैयाँ पूगेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष ०७६/७७ मा नेपालीको औसत आम्दानी १ लाख २६ हजार १८ रुपैयाँ पूगेको विवरण सार्वजनिक गरेको हो ।

विभागले सार्वजनिक गरेको विवरण अनुसार प्रति व्यक्ति आम्दानी एक वर्षको अवधिमा ८ हजार ७५० रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा नेपालीको आम्दानी १ लाख १७ हजार २६८ रुपैयाँ थियो ।

यस वर्ष कुल ग्राहस्थ उत्पादन (जीडपी) को आधारमा हेर्दा एकजना नेपालीको वार्षिक औसत आम्दानी १ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षमा नेपाली अर्थतन्त्रको आकार ३७ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो ।

Logo