टिचिङ र कान्ति अस्पतालमा महानगरको निःशुल्क खाना

टिचिङ र कान्ति अस्पतालमा महानगरको निःशुल्क खाना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
काठमाडौं महानगरको वडा नं. ३ ले दैनिक ३ हजार ७ सय व्यक्तिलाई निःशुल्क खाना खुवाइरहेको छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका समयमा कमजोर आर्थिक अवस्था भएका, आफ्ना कोही नभएका, दैनिक काम गरेर खानु पर्ने वर्गका मानिसहरुलाई खानेकुराको व्यवस्था गरिएको हो । वडाध्यक्ष दीपक के.सी. भन्छन् हामीले अहिले बिहान र बेलुका गरेर करीब ३ हजार ७ सय व्यक्तिका लागि खानेकुरा उपलब्ध गराएका छौं ।

वडाध्यक्ष के.सी. का अनुसार वडाको आग्रहमा बोधिसतुवा बिहारले अव्यबस्थित बस्तीमा भएका परिवार, टिचिङ हस्पिटल महाराजगञ्ज र कान्ति बाल अस्पतालमा भर्ना भएका बिरामीका कुरुवा गरी दैनिक १३ सय जनाका लागि खानाको व्यवस्था गरिदिएको छ । त्यसैगरी नारायण गोपाल चोकको एरिकल व्याङ्क्वेटका तर्फबाट होम बुढाथोकीले दैनिक बिहान १ हजार जनाका लागि, मेघा पार्टी प्यालेसले दैनिक बेलुकी ८ सय जनाका लागि, सामुदायिक सेवा केन्द्रबाट गंगालाल र न्युरो अस्पतालमा भर्ना भएका बिरामीका कुरुवा गरी २ सय जनाका लागि खाना र पानस पार्टी प्यालेसले लकडाउन व्यवस्थापन गर्न खटिने ४ सय जना राष्ट्रसेवकका लागि खाजाको व्यवस्था गरेको छ ।

वडाले अहिलेसम्ममा ४ हजार ३ सयजनालाई राहत वितरण गरिसकेको छ । राहत वितरणका लागि हामीले वडालाई ४ वटा क्लष्टरमा बाँडेका छौं । ती क्लष्टरमा जान नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, स्थानीय क्लव, राजनीतिक प्रतिनिधिको समूह बनाएका छौं । वडाध्यक्ष के.सी. भन्छन् ‘हामीले बस्तीमा पुगेर राहत आवश्यक पर्ने व्यक्ति पहिचान ग¥यौं । उनीहरुलाई त्यहीँ कुपन दियौं र तोेकेको ठाउँमा गएर राहत लिन भन्यौं । राहत दिनका लागि वडामा भएका खाद्य पसलहरुबाट प्रस्ताव माग्यौं । थोरै मूल्य कवोल गर्नेसँग हाम्रो सम्झौता छ । कुपन पाएकाले खाद्य पसलमा गएर प्रचलित व्यवस्थाको उल्लंङ्घन नहुने गरी राहत लिँदै हुनुहुन्छ । उनका अनुसार पहिले राहत दिएको थाहा नपाएर अहिले सम्पर्कमा आउने मानिसहरु पनि हुनुहुन्छ । यसरी छुटेका परिवारलाई अहिले खाद्यान्न उपलब्ध गराउने काम भइरहेको छ ।’

Logo