प्रदेश नं २ मा स्वाब संकलनमा तीव्रता

प्रदेश नं २ मा स्वाब संकलनमा तीव्रता

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम ।
प्रदेश नं २ मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नमूना स्वाब संकलन कार्य तीव्ररुपमा भइरहेको छ । संघीय सरकारको छ र प्रदेश सरकारको दुई गरी आठ टोली प्रदेशका आठवटै जिल्लामा स्वाब संकलनका लागि परिचालित छन् ।

शनिबारसम्ममा प्रदेशमा एक हजार २ सय ९० जना स्वाब संकलन गरिएको छ भने आइतबार ३ सय ७१ जनाको समेत गरी अहिलेसम्ममा एक हजार ६ सय २१ जनाको स्वाब संकलन गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।

सोमध्ये ८ सय २३ जनाको रिपोर्ट आउन बाँकी छ र ८ सय १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने सात जनामा कोरोना पुष्टि भएको छ । सो सात जनामध्ये चार जना निको भइसकेको र अन्य तीन जनाको विरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेशमा अहिलेसम्म चार हजार ५ सय २३ जनाको आरडिटी परीक्षण गरिएको छ । सोअन्तर्गत सप्तरीमा ७ सय २९ जना, सिरहामा ३ सय ३९ जना, धनुषामा ४ सय ३९ जना, महोत्तरीमा १ सय ६५ जना, सर्लाहीमा १ सय २८ जना, रौंतहटमा ४ सय ४५ जना, बारामा १ सय ४६ र पर्सामा दुई हजार १ सय २३ जनाको परीक्षण गरिएको सचिव डा. घिमिरेले बताए ।

प्रदेशमा हाल विभिन्न जिल्लाको क्वारेन्टाइनमा एक हजार ४ सय ८९ जना, होम क्वारेन्टाइनमा एक हजार ६ सय २१ जना र आइसोलेशनमा २९ जना छन् ।

स्वास्थ्य सामाग्री सहयोग

कोरोना नियन्त्रण तथा रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री पर्याप्त नभएका बेला दुई संस्थाले प्रदेश नंं २ का सरकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान नेपाल र नेपाल भारत युवा मैत्री संघ नेपालले संयुक्तरूपमा पिपिई एक सय थान, सेनिटाइजरको बोटल एक कार्टुन, एन ९५ मास्क सय थान, सर्जिकल मास्क दुई हजार, सर्जिकल ग्लोब्स दुई हजार थान हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामग्रीहरु प्रतिष्ठानका तर्फबाट पूर्वमन्त्री एवं सांसद अनिलकुमार झा तथा मैत्री संघका जिल्ला अध्यक्ष पकञ्ज महतो र जीवनाथ चौधरीले संयुक्त रुपमा प्रदेशको सामाजिक विकास मन्त्री नवल किशोर साहलाई आइतबार हस्तान्तरण गरेका थिए । – रासस

Logo