कञ्चनरुपबाट ४३ जनाको स्वाब संकलन

कञ्चनरुपबाट ४३ जनाको स्वाब संकलन

केन्द्रबिन्दु
0
Shares

सप्तरी ।
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा फेला परेका सङ्क्रमित बसेको कञ्चनरुप नगरपालिकाको मस्जिद आसपास बस्नेको आइतबार स्वाब संकलन गरिएको छ ।

नगरपालिका–१ वैरवा र २ बरमझियास्थित मस्जिदसँग प्रत्यक्ष सम्बन्धित ३४ जना र नगरपालिकाद्वारा सञ्चालित क्वारेन्टाइनमा बसेका नौ जना गरी ४३ जनाको स्वाब संकलन गरिएको नगरपालिका स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत डम्बरप्रसाद गुप्ताले बताए । क्वारेन्टाइनमा बसेका नौ जना भारतबाट आएका स्थानीयवासी हुन् । क्वारेन्टाइनमा रहेका बाँकी २२ जनाको आइतबार आरडिटी परीक्षण गरिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पिसिआर विधिबाट परीक्षण गर्न स्वाब संकलन तीव्र बनाएको छ । शनिबार सप्तरीको बोदे बर्साइनबाट १ सय ६१ को स्वाब संकलन गरिएको थियो । कञ्चनरुपमा स्वाब संकलन गरेपछि विज्ञ प्राविधिकको टोली स्वाब संकलन गर्न सप्तकोशी नगरपालिका–१ फत्तेपुर पुगेको छ ।

उदयपुरको सीमामा रहेको फत्तेपुरमा १ सयको स्वाब संकलन गर्ने लक्ष्य रहेको टोलीमा सहभागी महाशाखाका फणीन्द्र ज्ञवालीले जानकारी दिए । यसअघि सप्तकोशी नगरपालिकाको वडा नम्बर १, २ र ४ मा १ सय ७१, कञ्चनरुप नगरपालिका २ र १२ मा ६६ को आरडिटी परीक्षण गरिएको थियो ।– रासस

Logo