नगरप्रमुख घर्तीमाथि आक्रमण

नगरप्रमुख घर्तीमाथि आक्रमण

केन्द्रबिन्दु
0
Shares

जाजरकोट ।
जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आक्रमण भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं नगरप्रमुख घर्तीमाथि शनिबार जिल्लाको भेरी नगरपालिका–१० को फेराखोलास्थित भेरी नदीको किनार छेउमा आक्रमण भएको हो ।

साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि मलामी गएका नगरप्रमुख घर्तीलाई सत्तारूढ नेकपाका युवासंघ नेपाल जाजरकोटका संयोजक दीपेन्द्र शाहीको समूहले आक्रमण गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनले शाही र उनका भाइहरुको समूहले नगरप्रमुख घर्तीमाथि ढुङ्गा र मुक्का प्रहार गरेर आक्रमण गरेको बताए ।

नगरप्रमुख घर्ती नेपाल कम्युनिष्ट पार्टीको कर्णाली प्रदेश समिति सदस्यसमेत हुन् ।
नगरप्रमुखले योजना दिँदा शाही समूहले नपाएको र आफूमाथि अन्याय गरेको गुनासो गर्ने क्रममा विवाद भएको बताइएको छ । नेकपा कर्णाली प्रदेशले विज्ञप्ति निकाल्दै दोषीमाथि कारवाहीको माग गर्दै युवासंघ केन्द्रीय समितिले शाहीलाई निलम्बन गर्नसमेत माग गरेको छ ।

नगरप्रमुख घर्तीलाई आक्रमण गर्नेहरुको व्यापक खोजी भइरहेको जाजरकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए । –रासस

Logo