होटलहरुमा १५ वर्ष अघिको धरासायी अवस्था दोहोरिन सक्ने चेतावनी

होटलहरुमा १५ वर्ष अघिको धरासायी अवस्था दोहोरिन सक्ने चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण होटल व्यवसायको क्षेत्रमा १५ वर्ष अघिको धरासायी अवस्था दोहोरिन सक्ने होटल व्यवसायी संघ नेपालले चेतावनी दिएको छ ।

संघले विज्ञप्ती जारी गर्दै अहिलेको अवस्थामा सरकारले होटल व्यवसाय क्षेत्रका लागि विशेष नीति नल्याए १५ वर्ष अगाडि होटल उद्योगमा आएको धरासायी अवस्था पुनः दोहोरिन सक्ने चेतावनी दिएको हो । ‘सन् २००३ देखि सन् २००५ को अवधिमा होटलको कुल आम्दानीमा ५० प्रतिशत ह्रास आएको थियो । सरकारले उचित कदम नचाल्दा तीस वर्ष अगाडिदेखि सञ्चालित नारायणी, ब्लुस्टार, शेर्पा, वुडल्याण्ड लगायत त्यस बेलाका प्रसिद्ध होटल बन्द नै भएका थिए । यस्तो असामान्य परिस्थितीमा व्यवसायिक अस्तित्वको पूर्वसर्त खर्च कटौती नै हो ।’ संघद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संघले गरेको अध्ययन अनुसार उद्योग नै धरासायी अवस्थामा पुगेको भन्दै सरकारलाई तत्काल विशेष नीति ल्याउन समेत अनुरोध गरेको छ । संघले विज्ञप्तीमार्फत सन् २०२० मा होटल उद्योगको आम्दानी ९० प्रतिशत घट्ने प्रक्षेपण गरेको छ । संघले होटल उद्योग पुनर्स्थापना नभएसम्म जनशक्ति व्यवस्थापन, बैंकको ऋण, घरभाडा व्यवस्थापन, विद्युत महशुल, स्थानीय सरकारको सम्पत्ति कर लगायतको उचित व्यवस्थापनलाई मध्यनजर गर्दै नीति निर्माण गर्न पनि अनुरोध गरेको छ । संघले श्रम ऐन र नियम भन्दा ‘बाँच्ने र बचाउने’ मूल नारा लिएर विशेष नीति ल्याउन सरकारलाई अनुरोध गरेको हो । होटल उद्योगबाट हुँदै आएको कुल आम्दानी सन् २०१९ को तुलनामा सन् २०२० मा १० प्रतिशतभन्दा कम हुने संघले भनेको छ । सन् २०१९ मा होटल उद्योगबाट भएको कुल आम्दानीमा ४० प्रतिशत कमर्चारी सेवा सुविधामा खर्च भएको संघले जनाएको छ ।

कोरोना संक्रमणका कारण विभिन्न मुलुकले आगामी डिसेम्बरसम्म आफ्ना नागरिकलाई भ्रमण गर्न रोक लगाइसकेकाले सन् २०२१ देखि मात्र पर्यटन गतिविधि सुरु हुन सक्ने अनुमान संघले गरेको छ ।

Logo