पूर्वआइजिपी खनालको स्पष्टिकरण- ‘प्रहरी सेवा सकिए पनि जीवन सकिएको छैन’, कमेन्टमा गालीको वर्षा

पूर्वआइजिपी खनालको स्पष्टिकरण- ‘प्रहरी सेवा सकिए पनि जीवन सकिएको छैन’, कमेन्टमा गालीको वर्षा

केन्द्रबिन्दु
0
Shares

समाजवादी पार्टीका सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवको अपहरण गरेको आरोप लागेपछि पूर्वआइजिपी सर्वेन्द्र खनालले आफ्नो बारेमा भ्रामक प्रचार गरिएको भन्दै स्पष्टिकरण दिएका छन्। उनले आफू बाटोमा अलपत्र परेका मजदुरहरूको उद्दार गरी सुरक्षित घर पठाउनका लागि अध्ययन गर्न बनेपा बर्दिवास सडक अवलोकनमा निस्किएको उल्लेख गरेका छन् ।

यसैक्रममा पूर्वमन्त्री डाक्टर सुरेन्द्र यादवको जनकपुरस्थित घरमा गएर खाना खाएको र यादवले पार्टीको आन्तरिक अवस्थाहरु अवगत गराएको खनालले स्पष्टिकरणमा भनेका छन्। ‘त्यहीं क्रममा धनुषामै वहाँले आफ्ना सहकर्मी उमाशंकर अडगरिया लगायतसंग कुराकानी गरेपश्चात वहाँ हामीसंगै काठमाडौँ  आउने कुरा भयो जस अनुसार हामी अत्यन्त सोहाद्रता साथ संगसंगै काठमाडौँ आयौं ।’ उनले भनेका छन्।

काठमाडौँ आइसकेर यादवलाई होटेलमा छोडेर उनी आफू आफ्नो घरमा गएर सुतेको उनले भनाइ छ। ‘माननीय सुरेन्द्र यादवजी अपहरित भएको वा त्यस्तो केहि हैन भनेर वहाँ स्वयमले प्रष्ट पारिसक्नु भएकोले त्यस बारेमा अरु केहि भन्न आवश्यक नै छैन तर हुँदै नभएको कुरालाइ आधार मानेर जे जसरि म समेतलाइ अपहरणकारीको रुपमा प्रचार गर्ने काम गरिएको छ त्यसको निन्दा र भर्त्सना गर्दछु ।’ उनले आफ्नो स्पष्टिकरणमा भनेका छन्।

खनालले आफू देश र जनताको सुरक्षामा आफ्नै ज्यान खतरामा हालेर खटेको सिपाही भएको उल्लेख गर्दै भनेका छन्, ‘जे गरें त्यो सवै यहाँहरु सवैलाइ थाहा छ, प्रहरी सेवाको समय सकिए पनि जीवन सकिएको छैन।’

उता यादवले भने पूर्वआइजिपी खनालले एकदिन अगावै आफूलाई फोन गरेको र भोलिपल्ट घरमा आइ आफूलाई काठमाडौँ ल्याउन जबर्जस्ती गरेको बयान दिएका छन्। उनले आफू होटलबाट भागेर पार्टीको सम्पर्कमा पुगेको समेत बताएका छन्।

खनालको स्पष्टिकरण जस्ताको तस्तै 

आदरणीय दाजुभाइ, दिदि वहिनीहरु
सादर नमस्कार

सत्य , सेवा सुरक्षणमको मूल मर्म अनुसार देश र जनताको सेवामा लाग्ने सोच सहित नेपाल प्रहरीको निरिक्षक रुपमा भर्ना भएर आफ्नो लगन , संगठन र सरकारको विश्वास अनि यहाँहरुको माया र आशिर्वादले प्रहरी सेवाको सर्वोच्च पद प्रहरी माहानिरिक्षकसम्म केहि समय अगाडि  देखि सेवा निवृत जीवन विताइरहेको छु ।

सेवा अवधिको विद्धमान कानुनि व्यवस्थाले गर्दा अझै केहि गरौँ भन्ने जोश , जाँगर र उत्साह रहँदै सेवा निवृत भएकोले कहाँ कसरी आफ्नो जीवनको आगामी दिनहरु आफ्नो देशको हितमा उपयोग गर्न सकिन्छ भन्ने चिन्तन मनमै भए पनि लामो प्रहरी सेवाको दौरान हतपत कहिले आराम गर्न नपाएको र परिवारसंग समय विताउन पनि नपाएकोले गर्दा केहि समय घर परिवार र आफ्नै निम्ती खर्च गरौँ भन्ने सोचबाट निर्दिष्ट रहेर त्यसै अनुसार बसिरहेको थिएँ । तर यस्तैमा सारा सँसारलाइ नै दुख दिने कोरोना भाइरसको महामारी सुरु भएर त्यसको प्रभावले हाम्रो मुलुकलाइ पनि आक्रान्त पार्दै लगेपछि यो समस्याको दौरान देश र जनताको हितमा केहि गर्न सकिन्छ कि ? भन्ने चिन्ता हुनु स्वाभाविक थियो ।

त्यसै दौरान विभिन्न साथीभाइहरु संग छलफल र कुराकानी हुँदै गर्दा संघीय संसदका माननीय सदस्यद्वय महेश बस्नेत र किसान श्रेष्ठसंग पनि कुराकानी भयो र कुराकानीको दौरान वहाँहरुले लक्डाउनले अलपत्र परेकाहरुको उद्दार गर्न वा उनिहरुलाइ सुरक्षित घर पुर्याउन कसरि सकिन्छ भन्ने अध्ययन गर्नको लागि सुरुमा बनेपा बर्दिवास सडकबाट घर जानेहरुको के कस्तो अवस्था छ भनेर हेर्न जाने योजनामा रहेको जानकारी दिनु भएपछि म पनि त्यस विषयमा केहि सुझाव , सल्लाह दिन सक्ने , योजना निर्माण गर्न सक्ने छु भन्ने ठानेर वहाँहरुसंगै गएको थिएँ ।

नेपाल प्रहरीको पुर्व महानिरिक्षेकको हिडडुल यसै पनि सवैलाइ थाहा हुन्छ , त्यसमा पनि मैले जाँदै गर्दा बाटोमा परेको काभ्रे जिल्लाका एसपीसंग त फोनमा कुरा नै गरेर जाम हटाउन भूमिका खेल्न अनुरोध नै गरको थिएँ । संकटमा मानवीय सहयोग अनि राजकीय रुपमा उद्दार के कसरि हुनसक्छ भन्ने प्रमुख लक्ष्य सहितको त्यो यात्राको दौरान पनि माननीयज्युहरु निरन्तर जस्तै राजनीतक कुराकानी पनि गर्नु हुन्थ्यो जुन मलाई अस्वाभाविक पनि लागेन ।

यसैक्रममा हामी सवैको चिनजानका साथी मनानिय डाक्टर सुरेन्द्र यादवजीको जनकपुर स्थित् घरमा गएर खाना खाएका थियौं र त्यहाँ माननीयज्युहरुसंग आपसी कुराकानी गर्ने क्रममा माननीय सुरेन्द्र यादवजीले पार्टीको आन्तरिक अवस्थाहरु अवगत गराउनु भयो र त्यहीं क्रममा धनुषामै वहाँले आफ्ना सहकर्मी उमाशंकर अडगरिया लगायतसंग कुराकानी गरेपश्चात वहाँ हामीसंगै काठमान्डौ आउने कुरा भयो जस अनुसार हामि अत्यन्त सोहाद्रता साथ संगसंगै काठमान्डौ आयौं ।

आफ्नो ड्राइभर , बडीगार्ड , स्वकीय सचिव अनि आफन्त सहित आउनु भएका माननीय सुरेन्द्र यादवज्युलाइ नक्सालमा अवस्थित वहाँ बस्ने होटेलमा छोडेर म आफ्नो घर आएर सुतेको थिएँ । जव केहिबेर आराम गरेर उठें तव बिभिन्न अनलाइन देखि कतिपय सामाजिक संजालमा माननीय सुरेन्द्र यादवजिको अपहरण भएको भन्ने मात्रै हैन त्यस काममा म समेत सहभागी भएको भन्ने जस्ता भ्रमपूर्ण समाचारहरु पढन पाएँ ।

माननीय सुरेन्द्र यादवजी अपहरित भएको वा त्यस्तो केहि हैन भनेर वहाँ स्वयमले प्रष्ट पारिसक्नु भएकोले त्यस बारेमा अरु केहि भन्न आवश्यक नै छैन तर हुँदै नभएको कुरालाइ आधार मानेर जे जसरि म समेतलाइ अपहरणकारीको रुपमा प्रचार गर्ने काम गरिएको छ त्यसको निन्दा र भर्त्सना गर्दछु ।

मानवीय सेवा भाव र राजकीय जिम्मेवारी वोध सहितको कामको योजना लिएर हिंडनु भएका माननीय सदस्यज्युहरुले त्यसो गर्दै गर्दा आफ्ना सारा राजनीतिक सम्पर्क र कुराकानीहरु रोक्नु पर्थ्यो भन्ने कुरा पनि भएन र वहाँहरु उद्दार र सहयोगको बारेमा चिन्तित रहँदै गर्दा पनि आफ्नो नेतृत्वसंग सम्पर्कमा रहने र गतिविधिको जानकारी दिने अनि संयोगले नै भएको भएपनि भएका राजनीतिक कुराकानीहरुको विषयमा आवश्यक समन्यव र जानकारी दिने कुरालाइ अस्वाभाविक मान्ने पनि कुरा थिएन ।

म देश र जनताको सुरक्षामा आफ्नै ज्यान खतरामा हालेर खटेको एक सिपाही हुँ , जे गरें त्यो सवै यहाँहरु सवैलाइ थाहा छ, प्रहरी सेवाको समय सकिए पनि जीवन सकिएको छैन, फेरी पनि कुनै न कुनै रुपमा देश र जनताको हित हुने काममा लागी रहनेछु तर कुनै पनि दिन आफ्नो स्वार्थको खातिर कुनै अनैतिक र गैरकानुनी काम गर्ने छैन ।

जनताको साथ् , समर्थन र मायाको आडमा हिजो जसरि प्रहरी भएर अपराधीहरुको दोहोलो काढेको थिएँ, अव पनि समाजमा व्याप्त थुप्रै विकृति विसंगतिहरुको विरुद्ध कुनै न कुनै रुपमा भूमिका निर्वाह गर्नेनै छु । मलाइ विश्वास छ , सदाझैं जव सत्यले असत्यलाइ विस्थापित गर्नेछ तव अफवाह , भ्रम र नियोजित रुपमा चालिएका वदनामीका योजनाहरु विगतमा जस्तै पानीको फोका सावित हुनेछन ।

गालीको वर्षा 

यता सामाजिक सञ्जालमा भने पुर्व आइजिपी खनालमाथि गालीको वर्षा भइरहेको छ । पूर्व आइजिपी जस्तो मान्छे पार्टीको कार्यकर्ता बनेर व्यक्ति अपहरणमा संलग्न भएको भन्दै उनीमाथि कारवाहीको समेत माग भइरहेको छ। खनालले पोष्ट गरेको स्पष्टिकरणमा समेत उनको कार्यक्षमतामाथि प्रश्न उठाईएको छ।



 

Skip This
Skip This
Logo