काठमाडौं ।
१० बैशाखको राती दुई मधेसवादी दल (समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी) ले पार्टी एकता गर्ने सहमती गरेपनि आज दल दर्ता गर्न भने सकेनन् । निर्वाचन आयोग पुगेर राती गरेको निर्णय जानकारीको रुपमा दर्ता गरेपनि उनीहरुले दल दर्ताको ‘प्रोसेस’ नै सुरु गर्न नसकेको आयोग स्रोतले जनाएको छ ।
हिजो राती उनीहरुले ‘जनता समाजवादी पार्टी’ नाम राख्ने र सो पार्टीको झण्डा र निर्वाचन चिन्हको विषयमा सहमती गरेका थिए । तर, नेतृत्वको विषयमा भने उनीहरुले निर्णय गर्न सकेका थिएनन् । दल दर्ताका लागि पार्टी पदाधिकारीको नाम खुल्नु आवश्यक छ । त्यसैगरी केन्द्रीय समितिको नामावली समेत हुन जरुरी छ । जसको निर्णय नयाँ दल जनता समाजवादी पार्टीसँग छैन ।



राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची २ अनुसार दल दर्ताका लागि निम्न कुरा आवश्यक पर्छ । जस्तो – दलको विधान, दलको नियमावली, दलको घोषणापत्र, दलको झण्डा, चिन्ह (लोगो) को नमूना, कम्तीमा पाँचसय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धतासहित निजहरुले अर्को दलको सदस्य नभएको भनी गरेको उद्घोषण पत्र, दलको सदस्यता प्राप्त गर्न प्रतिबद्धता व्यक्त गर्ने नेपाली मतदाताहरुको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपि आदि । यी मध्ये दलको झण्डा, चुनाव चिन्ह र नाम मात्रै जनता समाजवादी पार्टीले निर्णय गरेको छ ।
नयाँ दल जनता समाजवादी पार्टी निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गर्ने जनाएको छ । पार्टी फुटको संघारमा रहेकाबेला राती नै एकताको निर्णय गरेपनि अब फुटको डर टरेको हुनाले दर्ता प्रक्रियामा उक्त पार्टी नहतारिएको स्रोतको दावी रहेको छ ।
तस्वीर : विश्वदीप पाण्डेको फेसबुकबाट





























प्रतिक्रिया