कोरोना महामारीले नेपालमा खुल्न सक्ने अवसरका ढोकाहरू

कोरोना महामारीले नेपालमा खुल्न सक्ने अवसरका ढोकाहरू

केन्द्रबिन्दु
0
Shares

‘जे भयो राम्रो भयो अनि जे हुन्छ राम्रोका  लागि हुन्छ ।’– भागवत गीता

यतिबेला भागवत गीताको यही सारलाई पनि अनुशरण गर्नुपर्ने देखिन्छ । विश्व समुदाय कोरोनाभाइरस (कोभिड १९) को संकट सामना गरिरहेका छन् । तर चुनौतीको रुपमा मात्र नहेरी अवसरको रुपमा पनि लिन सक्नु पदर्छ । जहाँ चुनौती हुन्छ, त्यहाँ चुनौती सँगसँगै अवसर पनि हुन्छ भनेर हामीले बुझ्नु पदर्छ । यस मतलब यो पनि होइन कि कोभिड १९ को महामारीलाई नजरअन्दाज गर्ने प्रयास गर्दैछु ।

हो, यस महामारीले समस्त मानव जातीलाई नै दशौं वर्ष पछाडि धकेलिएको अनुमान गरिएको छ । आज विश्व नै ठप्प बनेको अवस्था छ । उद्योग धन्दा, कल कारखाना, व्यापार व्यावस, स्कुल कलेज सबै बन्द छन् । तर सधै भरी यहि नकारात्मक पक्षलाई मात्र सोचेर बस्नु पनि हुँदैन । नकारात्मक कुराहरुलाई मात्र सोचेर बस्दा हामी केही पनि गर्न सक्दैनौं । केही मात्रामा भए पनि यसका पनि सकारात्मक पक्ष पनि रहेको छ । हो, त्यही नकारात्मक पक्षहरूकै भिडबाट केही मात्रामा भएका सकारात्मक पक्षको रुपमा रहेको कुराहरूलाई हामीले अनुशरण गर्न सक्नुपर्छ । यो आलेखमा मैले नेपालमा खुल्न सक्ने सम्भावित अवसरलाई उल्लेख गर्ने प्रयास गर्दैछु ।

१. सुचना प्रविधिमा सिर्जना हुनसक्ने अवसरहरू

(क) अनलाईन शिक्षा प्रणाली

हुन त यो नयाँ शिक्षा प्रणाली होइन । अहिले पनि सिए (चार्टर एकाउन्टेन्ट) यसै प्रविधिबाट अध्यापन गराइन्छ । तर, हालसम्म विद्यालय वा कलेज तह सम्म त्यति प्रयोगमा नआएको वा नल्याइसकेको अवस्थामा यो कोभिड १९ को महामारीले बाध्य बनाएर अनलाईन कक्षाको सुरुवात भएको छ । त्यस्तै भिडियो कन्फेरेन्स प्रविधिको माग पनि बढेको छ ।

स्मरण रहोस् यी प्रविधि भनेको सुचना प्रविधि क्षेत्रको नयाँ प्रविधि भने होइन । आज भन्दा २०–२२ वर्ष अघि नै सुरुवात भइसकेको प्रविधि हो । तर, यसले सिमित वर्ग वा समुहभित्र मात्रै पहुँचमा थियो । अबको अवस्थामा यस क्षेत्रमा कार्यरत कम्पनी तथा व्यवसायीहरुको व्यापार बढ्ने निश्चित नै छ ।

(ख) ब्रेन ड्रेनको समस्या समाधान हुनसक्ने सम्भावना

नेपालको सुचना प्रविधि क्षेत्रमा सबैभन्दा ठूलो समस्याको रूपमा रहेको ब्रेन ड्रेन अर्थात् सक्षम युवा जनशक्तिहरु विदेशीने समस्या सधैं रहीरहेको थियो । यो समस्या सुचना प्रविधि क्षेत्रमा मात्र होईन, समस्त उद्योग धन्दामा नै छ । तर, सुचना प्रविधि क्षेत्र भनेको ज्ञान र सिपमा आधारित क्षेत्र भएको हुँदा अरु क्षेत्रमा भन्दा बढी प्रभावित पारेको थियो ।

अबको दिनहरुमा वैदेशिक अवसर पनि कम हुने देखिन्छ र विदेशीएका जनशक्ति पनि रोजगारी गुमाउनुपर्ने अवस्था हुन सक्छ । यस अर्थमा नेपालमा उत्पादन भएको करिब पाँच हजार संख्यामा (वार्षिक) आइसिटी ग्रयाजुटलाई रोजगारी सिजना हुनसक्दछ । त्यति मात्र होईन, विदेशबाट पनि दक्ष जनशक्ति फिर्ता हुने सम्भावना देखिन्छ । जुन कुरा नेपालको सुचना प्रविधि क्षेत्रको लागि ठूलो उपलब्धि हुनसक्दछ ।

(ग) बिपीओर आइटी इनाबल सेवाको अवसर

अबको केही वर्ष विश्वको आर्थिक अवस्था त्यति राम्रो हुने जस्तो देखिदैन । तर, काम त गर्नु नै प¥यो । जुन राष्ट्रमा काम गराउँदा सस्तो पर्छ अर्थात् पैसा कम लाग्छ , त्यही राष्ट्रलाई नै काम दिइनेछ । अनि सुचना प्रविधिमा कुनै दुरी हुदैन, चाँहे त्यो अमेरिकामा बसेर काम गरेको होस् या काठमाडौंमा । नेपाल जस्तो राष्ट्र, जहाँ थोरै खर्चमा पनि धेरै काम गर्न सकिन्छ ।

त्यस्तो राष्ट्रको लागि यो अवसर पनि हो । एक सर्वेक्षण अनुसार नेपालको आइटी इनाबल सर्भिसमा भारत भन्दा ३५ प्रतिशत सस्तो छ । अरु राष्ट्रहरुमा भन्दा हाम्रो कर्मचारीहरुको तलब भत्ता नै सस्तो पर्छ । त्यसैले यो पनि ठूलो अवसर हुन सक्दछ । हाल नेपालमा बसेर विदेशको काम गर्ने आइटी कम्पनीहरु करिब तीन सयको हाराहारीमा छन् । यिनै तीन सय कम्पनीहरुलाई नै सरकारले व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने हो भने पनि देशको लागि धेरै हुन सक्दछ ।

२. कृषि क्षेत्रमा अवसरहरू

नेपाल कृषि प्रदान देश हो भनेर हामीले किताबमा पढेका थियौं । गत आर्थिक वर्षमा ३ खर्बको खाद्यन्न आयात गरिएको रहेछ । जुन कुल खपतको ७० प्रतिशत जति हुन आउँछ । हो, केही वर्ष अघिसम्म नेपाल कृषिमा आत्मनिर्भर थियो । (केही खाद्य सामाग्री बाहेक) तर, अहिलेको परिस्थिति फरक छ ।

यसको मतलब खेतीयोग्य जमिन कम भएको भने पक्कै होइन होला । केही मात्रामा जमिनमा घर बने होलान् तर, यस्तो हुनुको मुख्यकारण भनेको वैदेशिक रोजगारी नै प्रमुख हो । भएका जग्गा जमिनहरु पनि बाँझो छन् । काम गर्ने मान्छे छैन, सबै बालबच्चा र बृद्धा बा आमालाई छोडेर वैदेशिक रोजगारीमा गएका छन् । यो आजको वर्तमान स्थिति हो । तर, अब यो परिस्थितिमा परिर्वतन आउँन सक्छ । झण्डै ५÷६ लाखको संख्यामा काठमाडौं छोडेर आ आफ्नो गाउँमा गएर खेती किसानी सुरु गरिसकेको अनुमान गरिएको छ । त्यस्तै दश लाखको हाराहारीमा वैदेशीक रोजगारीबाट फिर्ता आउन सक्ने देखिन्छ ।

ती फिर्ता भएका युवा जनशक्तिबाट कुखुरापालन, गाईपालन, बाख्रापालन, खेती किसानी गर्ने प्रवल सम्भावना देखिन्छ । त्यति मात्र होइन विदेशमा सिकेका आधुनिक कृषि प्रणालीलाई पनि प्रयोगमा ल्याउन सक्नेछन् । यसको लागि सरकार पनि अलि सजक हुनुको साथ साथै सहयोगी हुनुपर्ने देखिन्छ ।

३. औधोगिकरण गर्ने अवसर

हामीले माथि नै उल्लेख गरिसकेका छौं कि करिब दश लाख हाराहारी संख्यामा वैदेशिक रोजगारीमा गएका नेपाली जनशक्ति फिर्ता हुन सक्नेछन् । यदि त्यसो भएमा उद्योगधन्दामा काम गरिरहेको दक्ष जनशक्ति पनि फिर्ता हुनेछ । ती फिर्ता भएमा दक्ष जनशक्तिको सिपलाई सदुपयोग गरि नयाँ नयाँ कल कारखाना, उत्पादन तथा भएको उद्योगहरुमा पनि समय अनुकुल बृद्धि विकास तथा विस्तार गर्न सकिन्छ । नयाँ नयाँ अवधारणामा उद्योग सञ्चालन हुनेछ । नयाँ नयाँ उत्पादन बजारमा आउनेछ । यति मात्र होइन साना तथा मझौला उद्योगले देश विकासमा ठूलो योगदान दिन सक्नेछ ।

४. व्यापार व्यवसायमा अवसर

एक अनौपचारिक तथ्यांक अनुसार काठमाडौंमा भएका जनसंख्या र विदेशमा रहेका नेपालीको संख्या करिव हाराहारीको अवस्थामा छन् । अर्थात काठमाडौं उपत्यका र विदेशमा गएका कुल जनसंख्या झण्डै नेपालको कुल जनसंख्याको आधा हुन आउँछ । अब सोच्नुहोस् त यदि ती सबै नेपाल फर्के भने अर्थात् आ आफ्नो गाउँ फर्के भने व्यापार व्यवसायी कस्तो हुन्छ होला ? स्कुल, कलेज, हस्पिटल आदि कति चाहिन्छ होला ? खाद्य सामाग्री कति चाहिन्छ होला ? यस अर्थमा समस्त व्यापार व्यवसायी नै बढ्ने निश्चित छ ।

कोरोनाभाइरसको प्रभावले तत्काल नै केही सकारात्मक प्रभाव पारेको पनि देखिन्छ । कोरोना भाइरसले एउटा सचेतनाको पाठ पनि सिकाएको छ । भाइरसले महारमारीकोरूप लिँदा कसरी जोगिने र त्यसका लागि के कस्तो पूर्वतयारी गर्ने भन्ने विषयमा विश्व समुदायलाई सचेत बनाएको छ ।

व्यस्त जीवनशैलीका कारण पारिवारिक दूरी टाढिएको बेला लकडाउनले आपसी सम्बन्धलाई निकटपन र आत्मियता ल्याइदिएको छ । त्यस्तै कोरोना भाइरसको महामारीसँगै विश्वभर वातावरण प्रदुषणमा कमि आएको अध्ययनले देखाएको छ । त्यस्तै विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण सर्नसक्ने भन्दै हात मिलाउनु जोखिमपूर्ण हुने चेतावनी दिएपछि पूर्वीय हिन्दू सभ्यतामा प्रचलित नमस्ते गर्ने चलन विश्वव्यापीरूपमा लोकप्रिय बनेको हो ।

समग्र रुपमा भन्नुपर्दा आगामी दिनमा नेपालको विकास गर्न यसले एउटा अवसर दिलाएको छ । अवसर मात्र भएर पुग्दैन यसलाई व्यवहारमा कार्यन्वयन पनि गर्न सक्नुपर्छ । सरकार पनि त्यस्तै विकास उन्मुख देखिनुप¥यो अनि हामी जनता पनि आ–आफ्नो कार्य क्षेत्रमा मेहनतका साथ काम गर्नुप¥यो । कोरोना भाइरस अर्थात् कोभिड १९ ले दिन खोजेको एउटा सन्देश के पनि हो भने ‘आफ्नो देश भनेको आफ्नै हुन्छ । चाहे त्यो गरिब नै किन नहोस् । विदेश भनेको विदेश नै हुन्छ । चाहे त्यहाँ बसेर जति नै कमाउनुहोस् ।’

Logo