कोरोनाको खोप यथाशीघ्र भित्र्याई निःशुल्क वितरण गर्न कांग्रेसको आग्रह

कोरोनाको खोप यथाशीघ्र भित्र्याई निःशुल्क वितरण गर्न कांग्रेसको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले कोभिड-१९ को खोप नेपालमा यथाशक्य छिटो भित्र्याउन र जनतालाई निःशुल्क उपलब्ध गराउने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस, सूचना, सञ्चार तथा प्रचार केन्द्रीय विभागले कोभिड–१९ को उपचार र रोकथामलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन गर्न तथा विश्व बजारमा आइपुगेको खोप भित्र्याई निःशुल्क उपलब्ध गराउन आग्रह गरेको हो ।

विभागको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले देशव्यापी रुपमा सञ्चालन गरिरहेको विरोध कार्यक्रममा सहभागिता बढाउनका लागि मिडिया तथा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने निर्णयसमेत गरेको छ । बैठकले यसअघिको निर्णय अनुरुप पार्टीको परिमार्जित रूपमा सार्वजनिक गरिएको वेबसाइटलाई अझ परिष्कृत गर्दै लैजाने, पार्टीका आठै संसदीय दल, जिल्ला कार्यसमिति, भ्रातृ र शुभेच्छुक संस्था एवं विदेशस्थित नेपाली जनसम्पर्क समितिको वेबसाइट सञ्चालनका लागि निर्मित करीब डेढ सय ‘सब डोमेन’ को कार्यान्वयन प्रक्रियालाई आगामी माघ १५ गतेसम्म सार्थक गतिमा अघि बढाउने निर्णय गरेको छ ।

विभागले गत छ महिनायता हरेक मङ्गलबारदेखि शुक्रबारसम्म साँझ ७ः१५ बजे पार्टीको फेसबुक पेजबाट नियमित लाइभमा जारी खुला अन्तर्क्रियाको कार्यक्रम ‘छहारी संवाद’ लाई निरन्तरता दिंदै स्रोता क्लब गठन गर्ने निर्णय गरेको सचिव दिनेश थापा मगरले जानकारी दिए । विभागले केही सदस्यको जिम्मेवारी हेरफेर तथा विभिन्न उपसमिति र कार्यदलसमेत गठन गरिएको छ ।

यसैगरी बैठकले विभाग प्रमुख विश्वप्रकाश शर्माका संयोजकत्वमा देशका लागि कांग्रेसको आगामी १५ वर्षे परिकल्पनाको प्रारम्भिक खाका तर्जुमा कार्यदलसमेत गठन गरेको छ । कांग्रेसको नीति, विचार र सिद्धान्तलाई नागरिकसम्म पुर्याउन प्रविधिको अधिकतम प्रयोग गर्ने नीति बमोजिम आगामी फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा कांग्रेस एप सार्वजनिक गर्ने निर्णयसमेत गरिएको उनले बताए ।

अतिरिक्त शुल्क लिने कलेजलाई कारवाही गर्न माग

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले नियम विपरीत अतिरिक्त शुल्क लिने वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई कारवाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी अतिरिक्त शुल्क नतिरेको भन्दै दुई विद्यार्थीलाई एमबिबिएसको परीक्षा दिन रोकेर विद्यार्थीको भविश्यमाथि खेलवाड गर्ने कलेज र त्यसका सञ्चालकलाई कारवाही गर्न माग गरेका हुन् ।

छात्रवृत्ति पाएका विद्यार्थीलाई बस्न र खानबाहेक अन्य कुनै शीर्षकमा रकम नलिन विश्वविद्यालय अनुदान आयोगले स्पष्ट व्यवस्था गरिसकेको अवस्थामा जबर्जस्ती रकम असुल गर्नका लागि परीक्षामा सामेल हुन नदिनु दुःखद् भएको उनले बताए। नेविसङ्घले परीक्षा दिनबाट वञ्चित गरिएका रामजी राम र पङ्कज रामलाई तत्काल पुनः परीक्षाको व्यवस्था मिलाउन त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान र डीनको कार्यालयसँग मागसमेत गरेको छ ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले सरकारी छात्रवृत्तिमा अध्ययनरत दुई दलित विद्यार्थीलाई शुल्क नतिरेको भन्दै एमबिबिएस चौथो वर्षको परीक्षा दिनबाट वञ्चित गर्नु निन्दनीय भएको बताए उनले यस्ता मेडिकल कलेजका सञ्चालकलाई सरकारले कडा कारवाही गर्ने बताए ।

Logo