काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले हालै जारी गरेका २ वटा अध्यादेशको विरोध गर्दै फिर्ता लिन सरकारलाई माग गरेको छ । गत सोमबार हतार हतार गरि सरकारले मन्त्रिपरिषदबाट निर्णय गर्दै राष्ट्रपतिबाट स्वीकृत गराइएका २ अध्यादेश फिर्ता गर्न सरकारलाई कांग्रेस नेताहरुले माग गरेका हुन् ।
सरकारले अध्यादेश ल्याएकै दिन सोमबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ती जारी गरि सरकारले ल्याएका संवैधानिक परिषद् र राजनैतिक दल सम्बन्धी अध्यादेशप्रति नेपाली कांग्रेसको आपत्ति रहेको जनाएका थिए । सभापति देउवाले एक विज्ञप्ती जारी गर्दै सरकारले जारी गरेको अध्यादेशलाई इतिहासकै दुःखद घटना भनेर टिप्पणी गरे । देउवाले देश यतिबेला कोरोनासँग लडिरहेको अवस्थामा सरकारले जारी गरेको अध्यादेशलाई आपत्तिजनक कदम र गैह्रजिम्मेवार प्रवृत्ति भन्दै फिर्ता लिन आग्रह गरेका थिए ।
यस्तै कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि सरकारले जारी गरेको अध्यादेशलाई सरकारले सत्ताको उन्मादमा गरेको गैर संबैधानिक कदम भन्दै आलोचना गरेका छन् । एक विज्ञप्ती जारी गर्दै कोइरालाले सोमबार सरकारले ल्याएका दुई राजनीतिक अध्यादेशबारे आलोचना गरेका हुन् ।
कोरोना भाइरसको संक्रमणमा विश्व नै आक्रान्त भइरहेका बेलामा नेपाल पनि यसबाट अछुतो नभएको र यस्तो बेलामा सरकारले नागरिकको रक्षाका लागि कदम चाल्नु पर्ने तर्फ सामान्य सोचविचार पनि नगरि सिमीत स्वार्थका लागि अध्यादेश ल्याएको उनले आरोप लगाएका छन् । लकडाउन भएर नागरिक घरभित्र रहेको अवसर छोप्दै सरकारले ‘राजनीतिक दल’ र ‘संवैधानिक परिषद’ सम्बन्धी दुई अध्यादेश द्रुतगतिमा जारी गर्नु असंबैधानिक रहेको उनको भनाई छ ।
यता कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पनि अध्यादेशको विरोध गरेका छन् । उनले सरकार र प्रधानमन्त्री केपी शर्मा ओली जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् । उनको भनाई सरकारी संचारमाध्यमहरुमा प्रधानमन्त्री ओलीले कोरोनाबारे दिएका अभिव्यक्तिप्रति लक्षित थियो । अन्तर्वार्तामा प्रधानमन्त्रीले प्रहरी र सिडिओलाई थाहा नभएका विषयमा काठमाडौंदेखि पत्रकार कसरी पुग्छन् भन्दै प्रश्न गरेका थिए ।
यस्तै कांग्रेस नेता मिनेन्द्र रिजालले पनि सरकारले अहिले अध्यादेश ल्याउनुलाई बेमौसमी बाजाको संज्ञा दिएका छन् । सरकार नागरिकको समस्या प्रति थोरैपनि चिन्तित नरहेको उनको भनाइ थियो । यस्तै कांग्रेस नुवाकोट सभापनि जगदिश्वर नरसिंहकेसीले पनि सरकारले ल्याएका अध्यादेश फिर्ता लिनु पर्ने बताएका छन् ।
काँग्रेसले सरकारले २ अध्यादेश ल्याएपछि मंगलबार पार्टी पदाधिकारी बैठक बोलाएको थियो । संविधानको मर्म र भावना विपरीत अध्यादेश जारी गरेको भन्दै सो बैठकले अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको थियो ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले जनता लकडाउनमा कष्टकर स्थितिमा रहेको तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी अत्यावश्यक सामग्रीको अभावमा जोखिमपूर्ण ढंगले कोरोनासँग जुधिरहेका बेला युद्धस्तरमा सरकारले कार्य गर्नुपर्नेमा लोकतान्त्रिक संविधानलाई असफल बनाउने प्रयास गरिएको निष्कर्ष निकाल्दै सरकारलाई अध्यादेश फिर्ता लिन माग गरेको थियो ।
विरोधकै निरन्तरता स्वरुप नेपाली कांग्रेसका ११ जना केन्द्रीय सदस्यहरुले सरकारलाई अध्यादेश फिर्ता लिन संयुक्तरुपमा अपिल गरेका छन् । केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ्ग, रत्ना शेरचन, गगन कुमार थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र सरिता प्रसाईंले आज एक विज्ञप्ती जारी गर्दै सरकारको आलोचना गरेका हुन् ।
उनीहरुले महासंकटको यो क्षणमा यी अध्यादेशहरू जारी गर्नुले प्रधानमन्त्रीको अन्तरनिहित उद्देश्य, नियत र प्राथमिकता के रहेछ भन्ने पुष्टी गरेको बताएका छन् । उनीहरुले वदनियतपूर्ण निर्णयसँगै सरकार चलाउनका लागि वैधानिक हैसियत रहेपनि शासन संचालनको वैधता भने अब सरकारले गुमाइसकेको समेत बताएका छन् । जारी विज्ञप्तीमा भनिएको छ, ‘हामी चेतावनी दिन चाहन्छौं, लोकतन्त्र र संविधानमाथी नै प्रहार गर्ने कुत्सित मनसायबाट उत्प्रेरित यी अध्यादेश सरकारले अबिलम्ब फिर्ता लियोस् अन्यथा यस विरुद्धको प्रतिरोध आन्दोलनको परिणाम भोग्न तयार रहोस् ।’
उनीहरुले जारी गरेको प्रेस विज्ञप्तिको पूर्णपाठ
मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिज्यूबाट वैशाख ८ गते जारी अध्यादेशहरूका सन्दर्भमा नेपाली कांग्रेसको पदाधिकारीहरूको वैठकले आपत्ति प्रकट गर्दै यसको प्रतिवाद गर्न सवै राजनीतिक दल, संघसंस्था, नागरिक समाज, आम संचार माध्यम र समस्त नेपालीहरूमा अपील गरिसकेको छ। हामी सरकारको कृत्यको घोर भर्त्सना र खेद प्रकट गर्दै सरकारले चालेको असंवैधानिक कदमका विरुद्ध एकवद्ध हुन नेपाली कांग्रेस पार्टीले गरेको आव्ह्वानलाई पुनः दोर्होयाउन चाहान्छौं।
साथै यस घडीमा पार्टीको भूमिकालाई अझै प्रभावकारी बनाई सरकारको यो रवैयाका विरुद्धको प्रतिरोध आन्दोलनलाई सशक्त र परिणाममुखी बनाउन पार्टीभित्र वृहत छलफल आवश्यक भएकोले अबिलम्ब नेपाली कांग्रेस केन्द्रीयकार्य समितिको वैठक बोलाउन हामी सभापतिज्यू समक्ष जोडदार माग गर्दछौं । लकडाउनको समयमै प्रविधिको प्रयोग गरी वैठक वस्न सम्भव छ।
महासंकटको यो क्षणमा यी अध्यादेशहरू जारी गर्नुले प्रधानमन्त्रीको अन्तरनिहित उद्देश्य, नियत र प्राथमिकता के रहेछ भन्ने पुष्टी गरेको छ। जनता महामारीको त्रास र लकडाउनले सिर्जना गरेको कष्टकर दैनिकीबाट आक्रान्त छन्, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू आफ्नो जीवनलाई हत्केलामा राखेर महामारी नियन्त्रणको प्रयासमा खटिरहेका छन्, नेपाली कांग्रेस लगायतका राजनीतिक दलहरू, सञ्चार जगत, नागरिक समाज एकताबद्ध भएर महासंकटबाट मुक्तिका लागि सहकार्य गरिरहेका छन्।
यस कहालीलाग्दो परिस्थितिमा थप जिम्मेवारीबोध सहित सवैलाई एकतावद्ध गरी महामारीसँग जुध्नु पर्ने सरकार स्वयं यसप्रति बेखबर जस्तो बनेर जारी गरेको अध्यादेशको कुनै कोणबाट पनि औचित्य पुष्टि हुन सक्दैन । बरु यसबाट सरकार सत्ता राजनीतिको छुद्र खेलमा कतिसम्म लिप्त रहेछ भन्ने स्पष्ट भएको छ। यो समयमा सरकारको यो भन्दा ठूलो गैरजिम्मेवारीपन अरु हुन सक्दैन । यो वदनियतपूर्ण निर्णयसँगै सरकार चलाउनका लागि वैधानिक हैसियत रहेपनि शासन संचालनको वैधता भने अब सरकारले गुमाइसकेको छ।
यी अध्यादेशहरू समयको संवेदनशिलता र परिस्थितिको गाम्भिर्यता अनुरुप नभएर मात्र आपत्तिजनक भएका होइनन्। अध्यादेशले संविधानको आधारभूत स्तम्भलाई भत्काएको छ। नेपाली जनताको लामो संघर्षबाट जारी भएको संविधान, संविधानले स्थापित गरेको व्यवस्था र हामीले अबलम्बन गरेको लोकतान्त्रिक राजनीतिक प्रणालीलाई मास्ने षडयन्त्रको रुपमा यी अध्यादेश आएको छ। त्यसैले यो आपत्तिजनक छ, अस्वीकार्य छ।
संविधान वनाउँदै गर्दा लामो राजनीतिक अस्थिरताबाट गुज्रेको हाम्रो अनुभवबाट सिक्दै हाम्रो आवश्यकता र जनआकांक्षाको संवोधन गर्न, आवधिक निर्वाचनवाट आउने संसदमा राजनीतिक स्थिरताको खोजी गर्न, यसभित्रै शक्ति सन्तुलन र नियन्त्रण गर्न संविधानमा केही विशेष प्रावधानसहितको राजनीतिक प्रणालीको व्यवस्था गरेको हो । त्यसमध्ये एउटा महत्वपूर्ण व्यवस्था दल सम्बन्धि व्यवस्था हो । अध्यादेशमार्फत गरेको परिवर्तनले संविधान बनाउँदा अत्यन्त सुझवुझका साथ राखिएको ति प्रावधानहरूलाई भत्काएको छ।
यो कुनै दल विशेषको विषय वा कानून परिमार्जनको विषयमा मात्र सिमित छैन । यसले संविधानले परिकल्पना गरेको सिंगो राजनीतिक व्यवस्थामाथि प्रहार हो । त्यसमाथि संसदीय व्यवस्थाभित्र स्थीर सरकारको नारा दिएर सत्तारोहण गरेका वर्तमान प्रधानमन्त्रीसँग यो कदमपछि सरकारमा बसिरहने कुनै नैतिक आधार बाँकी होला र ?
संविधानले व्यवस्था गरेको संवैधानिक परिषदको नियुक्तिको प्रावधानलाई संविधानकै खिलाप हुनेगरी अध्यादेश ल्याउने अधिकार सरकारलाई कसरी भयो ? के मनसुवाका साथ त्यो प्रावधान हटाइयो ? त्यसका विविध पक्षको खुलासा त विस्तारै होला नै । तर संवैधानिक अंगहरूमा कब्जा गर्ने मनोकांक्षाका साथ कार्यकारी व्यक्तिको चाहना वा निर्णयबाट संवैधानिक निकायको नियुक्ति गर्ने प्रावधानहरू जसरी अध्यादेशमार्फत आएको छ यो संवैधानिक निकायको स्वायत्ततामाथिको निर्मम प्रहार त हो नै संविधानले व्यवस्था गरेको सन्तुलन र नियन्त्रणको समेत पूर्णत वर्खिलापमा छ। यो संविधानको विरुद्धमा छ।
संविधानलाई कुल्चेर गरिएको यो जालझेल र षडयन्त्रपूर्ण हर्कत प्रधानमन्त्रीको आफ्नो स्वार्थ पूर्ति गर्न र आफ्नो महत्वकांक्षा पूरा गर्नको लागि हो भन्ने प्रष्ट भइसकेको छ । याद रहोस, हामी कदापी त्यस्तो हुन दिने छैनौं । लोकतान्त्रिक व्यवस्थाको निम्ति नेपाली जनताले गरेको वलिदानबाट प्राप्त संविधान न कुनै नेता, गुट वा पार्टी विशेषको सत्ता लिप्साका निम्ति थियो न त यो कुनै व्यक्तिको लहड र सनकको अस्त्र बनाउनका लागि हो । हामी चेतावनी दिन चाहन्छौं, लोकतन्त्र र संविधानमाथी नै प्रहार गर्ने कुत्सित मनसायबाट उत्प्रेरित यी अध्यादेश सरकारले अबिलम्ब फिर्ता लियोस् अन्यथा यस विरुद्धको प्रतिरोध आन्दोलनको परिणाम भोग्न तयार रहोस् ।
सरकारको यो कदममा सम्माननीय राष्ट्रपतिज्यूको अस्वभाविक हतारो र संलग्नता आश्चर्यजनक मात्रै होइन संशयपूर्ण पनि छ । यस घटनाले राष्ट्रपति जस्तो गरिमामय संस्थालाई पुनः एकपटक कुनै दल भित्रको गुट विशेषको सहयोगी जस्तो बनाएको छ । जुन विडम्बनाको विषय हो । राष्ट्रपति व्यक्ति होइन संस्था हो, यस गौरवपूर्ण संस्थाको गरीमा राख्नको लागि हामी पुनः सचेत गराउन चाहन्छौं।
अन्त्यमा,
यतिवेला हामी दुइवटा मोर्चाको लडाईमा छौं, कोरोना विरूद्धको लडाई र सरकारको असंवैधानिक कदम विरुद्धको लडाई ।कोरोना महासंकटको यो क्षणमा सरकार स्वयंले विषयान्तर गर्न खोजे तापनि हामीलाई त्यो छुट छैन लागिरहेका छौं, लागिरहने छौं । जो जहाँ छौं आफू सुरक्षित रहेर कोरोना विरुद्धको यो लडाईमा निरन्तर लाग्न, साथ सहयोग गर्न सवैमा हामी हार्दिक अपील गर्दछौं।
साथै यो संविधानलाई जोगाउन पनि सँगसँगै लड्नु पर्नेछ।त्यसैले सरकारको असंवैधानिक कदमका विरुद्ध प्रतिरोधका लागि ठोस निर्णय लिन तथा राजनीतिक दल र समस्त लोकतन्त्रवादीहरूलाई एकवद्ध गर्दै लोकतन्त्रको रक्षार्थ इतिहासले सुम्पेको अर्को एक दायित्व निर्वाह गर्न पार्टी्भित्र वृहत छलफलको लागि अविलम्ब नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको वैठक बोलाउन नेपाली कांग्रेसका सभापति समक्ष पुनः आग्रह गर्दछौं।
जय नेपाल
१. चन्द्र भण्डारी, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
२. कमला पन्त, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
३. धनराज गुरुङ्ग, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
४. रत्ना शेरचन, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
५. गगन कुमार थापा, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
६. बद्री पाण्डे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
७. जीवन परियार, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
८. गुरुराज घिमिरे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
९.प्रदिप पौडेल, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
१०. रामकृष्ण यादव, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
११. सरिता प्रसाइ, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
मिति २०७७ वैशाख १० गते।































प्रतिक्रिया