काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र स्थायी कमिटी बैठक माग गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी कानुन संशोधन गर्न अध्यादेश जारी गरेपछि नेकपाभित्र स्थायी कमिटी बैठकको माग गरिएको हो।
मंगलबार साँझ पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसमक्ष नेकपाका नेताहरूले स्थायी कमिटी बैठक माग गरेका छन् । भीम रावल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, रघुजी पन्तलगायत नेताहरूले दाहालसमक्ष स्थायी कमिटी बैठक बोलाउन माग गरेका हुन् । भीम रावलले दाहाललाई फोन गरेर सचिवालय बैठकमा भएको छलफलको विषयमा कुराकानी गर्दै स्थायी कमिटी बैठक आह्वान गर्न माग गरेको स्रोतले जनाएको छ।
त्यसैगरी जनार्दन शर्मा, देवेन्द्र पौडेल र हरिबोल गजुरेलले दाहाललाई भेटेरै स्थायी कमिटी बैठक माग गरेका हुन् । ‘पार्टीभित्र उत्पन्न पछिल्लो घटनाक्रमबारे छलफल गर्न स्थायी कमिटी बैठक माग गरिएको छ,’ एक नेताले भने, ‘प्रधानमन्त्री ओलीले पार्टीको सबै संयन्त्र छलेर काम गर्न थाल्नुभयो, यो राम्रो पक्ष होइन।’
सोमबार बसेको नेकपा सचिवालय बैठकमा राजनीतिक दलसम्बन्धी कानुन संशोधन अध्यादेशमाथिको छलफलमा मत विभाजन भएको थियो। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट पास गरेर राष्ट्रपति कार्यालयमा अध्यादेश जारी गर्न पठाएपछि बसेको बैठकमा नेकपाका सचिवालय सदस्यहरूबीच मत बाझिएको थियो।
प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्ति रोकिएको दाबी गर्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनुपरेको बताएका थिए भने राजनीतिक दल सम्बन्धी अध्यादेश सत्तारुढ पार्टी नेकपा लक्षित नभएर अर्को दलको आग्रहमा ल्याइएको दाबी गरेका थिए । तर सचिवालय सदस्यहरूले यस्तो समयमा अध्यादेश ल्याउन उचित नभएको बताएका थिए । बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले यो विषय उपयुक्त समयमा नआएको बताएका थिए भने वामदेव गौतमले बिनासल्लाह अध्यादेश ल्याउने अनि राष्ट्रपति कार्यालयमा पठाएर छलफल गर्नुको औचित्य नभएको बताएका थिए।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका तर्फबाट आवश्यकताको आधारमा यो अध्यादेश आएको भए राम्रो तर यसले भविष्यमा निम्त्याउने संकटबारे सबै सचेत रहनुपर्ने बताएका थिए। सो बैठकमै नेताहरूबीच मत बाझिएपछि मंगलबार नेकपाका स्थायी कमिटी सदस्यहरूले शीर्ष नेतासँग छलफल गरेका छन्। सोही आधारमा मंगलबार साँझ नेताहरूले दाहाललाई भेटेर र फोनमार्फत स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए। पार्टीकोविधानमा ३ महिनामा स्थायी कमिटी बैठक बोलाउनुपर्ने प्रावधान रहेको छ। सोही प्रावधानलाई टेकेर नेताहरूले बैठक माग गरेका हुन्। गत पुसमा स्थायी कमिटी बैठक बसेको थियो। नागरिकबाट































प्रतिक्रिया