युट्युबमा हेर्न लायक ५ नेपाली चलचित्र (भिडियोसहित)

युट्युबमा हेर्न लायक ५ नेपाली चलचित्र (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण धेरै जसो देशहरुले संक्रमणबाट बच्न आफ्नो देशमा लकडाउन गरेका छन् । विश्वको आधा भन्दा बढि जनसंख्या कोरोना भाइरस र लकडाउनका कारण घरमा बसिरहेका छन् । जसमा नेपाल पनि अछुतो छैन । कार्यालयदेखि स्कुल कलेज सबै बन्द छन् । यस्तो अवस्थामा हप्तौंदेखि नेपालीहरु पनि आफ्नो घरमा बसिरहेका छन् । उनीहरु इन्टरनेटमा बढि समय बिताइरहेका छन् । इन्टरनेटमा पनि अझ बढि युट्युबमा फिल्म हेरेर समय बिताइरहेका छन् । आजको हाम्रो रिपोर्टिङ युट्युबमा हेर्न लायक पाँच नेपाली चलचित्रहरुको विषयमा आधारित छ ।

१. माइतीघर

वि.स.२०२३ सालतिर निर्माण भएको तेस्रो नेपाली कथानक चलचित्र साथै निजि ब्यानरमा बनेको पहिलो चलचित्र हो माइती घर । बि.एस. थापाद्वारा निर्देशित यस चलचित्रमा बलिउड अभिनेत्री माला सिन्हाको मुख्य भूमिका रहेको छ भने, चिदाम्बर प्रसाद (सि.पी) लोहनी, बलिउड अभिनेता सुनिल दत, बलिउड हास्य कलाकार राजेन्द्र नाथ, यादव खरेल साथै थुप्रै कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

यस चलचित्रको वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर, यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर, नमान लाज यस्तरी कि झुम्छ जीन्दगी मेरो नआउ सामु यस्तरी कि अड्छ ढुकुढुकी मेरो, म प्यार बेचिदिन्छु बहार बेचि दिन्छु, काला कुर्तैले छ माहिने जागिर खायाँ, पहरामा सुन छ हात पुग्दैन लौरी छैन जस्ता कालजयी गीतहरु अझै पनि सबैको मुखमा गुञ्जिने गर्छन् । प्रायः गीतहरु भारतीय गायिका लता मंगेशकरको आवाजले सजिएका छन् । यो चलचित्र ब्ल्याक एन्ड ह्वाईटमा युट्युबमा अपलोड भएको छ । पछिल्लो पटक यसलाई युट्युबमा ९ लाख ९९ हजार ६६७ पटक हेरिएको छ ।

२. बासुदेव

अभिनेता निर शाहद्वारा निर्देशित नेपाली कथानक चलचित्र बासुदेव बि.स.२०४१ सालतिर प्रदर्शनमा आएको थियो । यस चलचित्रमा निर शाह, हरिहर शर्मा, कृष्ण मल्ल, सर्मिला मल्ल, सुभद्रा अधिकारी, मुकुन्द श्रेष्ठ, सकुन्तला शर्मा जस्ता धेरै कलाकारहरुको अभिनय छ । यसमा रहेको रवीन शर्माको स्वरले सजिएको कुन मन्दिरमा जान्छौं यात्री कुन मन्दिरमा जाने हो ? निकै चर्चित गीत हो । यसका साथै  जति निर्मल जति चोखो यो आकाशको पानी जस्ता कालजयी गीतहरु यस चलचित्रमा हेर्न, सुन्न सकिन्छ ।पछिल्लो पटक यस चलचित्रलाई युट्युबमा २ लाख ४० हजार ३१ पटक हेरिएको छ ।

३. प्रेमपिण्ड

ऐतिहासिक घटनामा आधारित चलचित्र प्रेमपिण्ड बि.सं. २०५२ सालमा बनेको थियो । करिब १ सय वर्ष पुरानो घटना जुनबेला नेपालमा राणाहरुको दबदबा र शासन थियो । त्यसै बेलाको एक जर्नेलको दरबारको कथामा आधारित यस चलचित्र यादव खरेलको निर्देशनमा बनेको हो । यसलाई साहित्यकार बालकृष्ण समले लेखेका हुन् ।

चलचित्रमा निर शाह, सरोज खनाल, सनी रौनियार, सुशिला रायमाझी, मेलिना मानन्धर, हरिहर शर्मा साथै अन्य दर्जनौं कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रमा भारतीय गायिका आशा भोस्लेको स्वरले सजिएको कालजयी गीतहरु गैह्रीखेतको शिरै हान्यो, बर्खायामको करौतीले, चैत मास खडेरीमा डढेलोले वनै खायो, के भनुँ म कसो गरी परी, मोहनीको माया जालैमा अझै पनि चर्चित छन् । पछिल्लोपटक युट्युबमा यसलाई १ लाख ८५ हजार ७४४ पटक हेरिएको छ ।

४ दक्षिणा

तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र दक्षिणा बि.सं. २०५१ सालमा प्रर्दशनमा आएको थियो । शिक्षक र विद्यार्थीबीचको सम्बन्धमा आधारित यस चलचित्रमा भुवन केसी, निरुता सिंह, तुलसी घिमिरे, राजाराम पौडेल, मनानी घिमिरे, केशव भट्टराई, बि.एस राणा लगायतको मुख्य भूमिका रहेको छ । दक्षिणालाई प्रर्दशनको बेलामा नेपाली दर्शकहरुले धेरै रुचाएका थिए । यो चलचित्र नायिका निरुता सिंहको पहिलो चलचित्र हो । चलचित्रको सपना भै आँखामा आउने को होला, यो मुटुलाई कसरी सम्झाई बुझाउ गीतहरु चर्चित छन् । यस चलचित्रलाई युट्युबमा ६२ हजार ११७ पटक हेरिएको छ ।

५. नुमाफुङ
लिम्बू जातिको मौलिक संस्कृतिमा आधारित चलचित्र नुमाफुङ बि.सं. २०६१ सालमा सार्वजनिक भएको थियो । नुमाफुङ् नाम पनि लिम्बू भाषाबाटै राखिएको छ । नुमाको अर्थ ‘राम्रो’ र फुङको अर्थ ‘फूल’ अर्थात् नुमाफुङको अर्थ राम्रोफूल हो । चलचित्रमा एउटी नारीलाई फूलसँग तुलना गरिएको छ । नविन सुब्बाले निर्देशन गरेको यस चलचित्रमा प्रेम सुब्बा, अनुपमा सुब्बा, निवाहाङ्मा लिम्बू, आलोक नेम्वाङ्ग, रमेश सिङ्घाको अभिनय रहेको छ । लिम्बु संस्कृतिको बेजोड प्रस्तुति रहेको यो चलचित्रलाई युट्युबमा १५ लाख ३० हजार ७६३ पटक हेरिएको छ ।

Skip This
Skip This
Logo