लकडाउन कहिले सकिन्छ ? यसको कुनै टुंगो छैन् । अहिले हामी लकडाउनको तेस्रो हप्तामा छौं र यो अझै कति जाने हो, त्यसको कुनै टुंगो छैन । छिमेकी मुलुक भारतमा संक्रमितहरुको संख्या तीव्ररूपमा बढीरहेको छ । भारतमा बढ्दो संख्याले पनि हामीलाई अनिश्चयको भुमरीमा धकेलिदिएको छ । जबसम्म भारतमा कोरोनाको नियन्त्रण हुन्न तबसम्म नेपाल–भारत सिमाना खुल्दैन । अनि त्यतिवेलासम्म हाम्रो अवस्था सामान्य हुँदैन ।
नेपाल मात्र होइन, संसार नै कहिले कोरोना भाइरस मुक्त होला ? विश्वका वैज्ञानिकहरुसँग पनि यसको उत्तर छैन् । यति मात्र होइन्, यो कोरोना भाइरस नै के हो ? कसरी सर्छ, कति दिनमा ठिक हुन्छ भन्ने पनि पूर्णरूपमा यकिन भएको छैन । चीनको उहानबाट शुरु भएको भाइरस यतिवेला संसारमा नै फैलिएको छ । ७६ दिनको लकडाउनपछि चीनको उहानमा भाइरस पूर्णरूपमा मुक्त भएको घोषणा गरिएको थियो । तर, पछिल्ला दिनमा चीनका अन्य भागमा समेत कोरोनाको विरामी बढेपछि यसले त्रास सिर्जना गरेको छ । अहिले त थोरै मात्रामा भएपनि चीनले अन्य मुलुकलाई सहयोग गरिरहेको छ तर भोलि चीनमा पनि फेरि फैलियो भने ऊ अरुलाई सहयोग गर्न सक्ने अवस्थामा हुने छैन ।
नेपालको नै कुरा गर्ने हो भने विदेशबाट फर्केको ४० दिनपछि पनि कोरोना देखिएको छ । यस अगाडि १४ दिन क्वारेन्टाइनमा बसेपछि पुग्छ भन्ने मान्यता थियो तर त्यसपछि पनि कोरोना कोरोनाको लक्षण देखिएपछि अझै चुनौती थपिएको छ । उदाहरणको लागि वहराइनबाट आएको ४० दिनपछि गोरखामा एक युवामा पोजेटिभ देखिएको छ । यति मात्र होइन्, नेपालमा यतिवेला कोरोनाको लक्षण नै नदेखिने समस्या समेत देखापरेको छ । जसले गर्दा कोराना कहाँ कहाँ फैलिएको छ भनी यकिन समेत गर्न सकिएको छैन् ।
विश्वको अधिकाँश जनसंख्या यतिवेला लकडाउनमा छ । केही मुलुकले लकडाउन खुलेको पारेपछि विश्व स्वास्थ्य संगठनले त्यसो नगर्न भनेको छ । लकडाउन अन्त्य गरेमा दोस्रो चरणको संक्रमण देखिने चेतावनी सो संगठनले दिएको छ । यति मात्र होइन, यस पटक लकडाउनका कारण केही समयका लागि कोरोना भाइरस नियन्त्रणमा आएपनि वर्षायाममा यो फेरि देखिन सक्ने आंकलन विश्वका वैज्ञानिकहरुले गरिरहेका छन् ।
यतिवेला वैज्ञानिकहरुले भन्न थालेका छन्, अब नयाँ खोप नबनेसम्म विश्व सामान्य अवस्थामा फर्कन सक्दैन् । कति समय लाग्ला भ्याक्सीन बनाउन ? विगतमा इबोला लगायतका अन्य रोगका भ्याक्सीन बनाउनको लागि झण्डै दुई वर्ष लागेको थियो । तर, विगतका अनुसन्धानहरुले भने भ्याक्सीन बनाउने कार्यलाई केही सहज भने बनाएको छ । वैज्ञानिकहरुका अनुसार भ्याक्सीन बनाउन कम्तीमा पनि अर्काे एक वर्ष लाग्ने छ । प्राविधिक रुपमा भ्याक्सीन बनाउन धेरै समय नलागेपछि त्यसको स्वीकृतिको प्रक्रिया भने निकै लामो लाग्छ ।
एउटा भ्याक्सीन अनुमोदन गर्नका लागि कम्तीमा ३ तहको क्लिनिकल तह पार गर्नुपर्छ । उदाहरणको लागि अमेरिकामा सन् २०१९ मा मात्रै इबोलाको खोप स्वीकृत भएको थियो । अनि यतिवेलाको अर्काे चासोको विषय हो, इबोलाको खोप पहिले कसले निर्माण गर्ला, चीन, भारत, अमेरिका वा अन्य कुनै युरोपेली मुलुक । यतिवेला विशेषगरी चीन र अमेरिकामा खोप निर्माणको प्रारम्भिक चरणको काम भईरहेको छ ।
संसारमा सन् १८०० मा पहिलोपटक दादुराको भ्याक्सीन पत्ता लागेको थियो । तर, त्यसपछि सार्स, मिडिल इष्ट रेष्पीरेटरी सिन्ड्रोम, स्वाइन प्mलुको समयमा भाइरसको समयमा नै ठूला ठूला अध्ययन र अनुसन्धानहरु भए । त्यसैले अन्य रोगको तुलनामा कोभिड–१९ को भाइरस बनाउने प्रक्रिया भने केही सहज हुने र कम समय लाग्ने बताईरहेको छ तर पनि खोप बनाउने कार्य भने आफैमा चुनौतीपूर्ण छ । तर, अन्य रोगहरुको अनुसन्धानको नतिजाले भने खोप निर्माण कार्यलाई भने केही सहज वनाईदिने छ । तर खोप निर्माण गरेर मात्र हुँदैन, त्यसको उत्पादन र वितरणमा निकै समय लाग्छ ।
कोरोनाको समयमा विश्व स्वास्थ्य संगठन अझ प्रभावकारी र गतिशिल बन्नुपर्ने हो तर सो संगठनमाथि यतिवेला चौतर्फी रुपमा हमला भईरहेको छ । विशेषरी अमेरिकाले सो संगठनलाई प्रदान गर्ने ठूलो सहयोग नदिने घोषणा गरिसकेको छ । यसले संगठनको क्षमतामा गम्भीर असर गर्नेछ र यसले कोरोनाविरुद्ध लडाईलाई गम्भीर असर गर्नेछ । अमेरिकाले सहयोग प्रदान नगर्ने भनेपछि संयुक्त राष्ट्रसंघले संगठनलाई निरन्तर सहयोग गरिरहनको लागि आग्रह गरेको छ । यति विश्वलाई नै नेतृत्व लिने संस्थाहरु कमजोर हुने हो भने नेपालजस्तो कम विकसित मुलुकहरुलाई भने असर गर्नेछ ।
कोरानाको संक्रमण केही कम आएपछि केही निश्चित देश र केही निश्चित भुभागमा केही आर्थिक गतिविधीहरु सुचारु होलान् । तर खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामाग्रीहरुको उत्पादन र वितरणका लागि एक मुलुकबाट अर्काे मुलकसम्म निर्वाध रुपमा आवातजावत गर्ने वातावरण कहिले निर्माण होला ? त्यसको कुनै टुंगो छैन् । त्यसैले यसले विश्वको सप्लाई सिस्टममा नै असर गरेको छ । अहिले विभिन्न मुलुकसँग रहेको खाद्य भण्डारणले केही समय धान्ला तर केही ३–४ महिनामा नै अवस्था सामान्य बन्ला त ? यसै भन्न सकिने छैन् ।
त्यसैले अबको केही महिनामा नै विश्वमा विभिन्न भागमा भोकमरीको अवस्था नआउला भन्न सकिदैन । नेपालमा नै यतिवेला कम्तीमा ३–४ महिनाको लागि खाद्यान्नको भण्डारण रहेको छ । त्यसपछि भारत र अन्य देशबाट नआउने, नयाँ उत्पादन नहुने भने हो नेपाल नै समस्यामा पर्नसक्छ ।
कोरोना भन्दा पनि यसले अर्थतन्त्रमा पार्ने असर एकदमै भयंकर छ । विभिन्न अन्तराष्ट्रिय संघसंस्थाहरुले विश्वका आर्थिक मन्दीको घोषणा गरिसकेका छन् भने नेपालमा पनि आर्थिक वृद्धिदर पनि २.५ प्रतिशत भन्दा कम हुने अनुमान गरेको छ । यस अगाडी अन्तराष्ट्रिय मुद्रा कोषले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने घोषणा गरेको थियो ।
कोरोनाले नेपालमा मात्र होइन, विश्वभर नै वेरोजगारीहरुको संख्यामा उलेख्य वृद्धि भईरहेको छ । नेपालमा यसले अझ भयावह अवस्था सिर्जना गर्ने देखिन्छ । यतिवेला पचास लाखभन्दा बढी नेपालीहरु विभिन्न मुलुकहरुमा काम तथा विद्यार्थी भिसामा रहेका छन् । कतिपय खाडी मुलुकहरुले त नेपाली कामदारहरुलाई फिर्ता लैजानको लागि आग्रह गरिसकेका छन् । पहिलो त लाखौको संख्यामा रहेका नेपालीहरुलाई स्वदेशमा ल्याउने प्रक्रिया आफैमा निकै कठिन रहेको छ भने अर्काेतर्फ उनीहरु घर फर्केपछि रोजगारी कसरी सिर्जना गर्ने ?
त्यसैगरी भारतमा पनि लाखौ नेपालीहरुले रोजगारी पाईरहेका छन्, भारतको आर्थिक अवस्था खस्कँदा त्यहाँ रहेका नेपालीहरुले पनि रोजगारी गुमाउने सक्भावना हुन्छ । यसरी ठूलो संख्यामा वेरोजगार हुँदा यसले विभिन्न सामाजिक समस्याहरु सिर्जना गर्छ । यति मात्र होइन, यसले राजनैतिक अस्थीरता समेत सिर्जना हु्न्छ ।
लकडाउन लामो समयसम्म जान सक्ने विषयलाई विचार गरेर विभिन्न मुलुकले लकडाउनको समयमा नै अर्थतन्त्रका केही आधारभुत प्राणीहरुलाई कसरी चलायमान बनाउन सकिन्छ भनेर योजनाहरु बनाईरहेका छन् । उदाहरणको लागि भारतको खाद्यान्न र औषधि लगायत विभिन्न क्षेत्रलाई संचालन गर्नका लागि निर्देशिकाहरु बनाईरहेको छ । धेरै प्रभावित इटली, स्पेन लगायतका मुलुकहरुले पनि विभिन्न बाटोहरुको बारेमा सोचिरहेका छन् । तर हाम्रो सन्दर्भमा भने अहिलेसम्म खासै योजनाहरु बनाएको पाइदैन् ।
त्यसैले कम्तिमा पनि खोप निर्माण गर्न लाग्ने समयसम्मका लागि देशका विभिन्न क्षेत्रहरुलाई कसरी अगाडि बढाउने भन्ने सम्वन्धमा सोच्न ढिलो भईसकेको छ । तर खोप निर्माण नभएसम्म भने विश्व पूर्णरूपमा ढुक्क अबस्थामा रहन सक्दैन् ।































प्रतिक्रिया