शंकर ग्रुपका प्रबन्ध सञ्चालक तथा किर्गिजस्तानका अवैतनिक महाबाणिज्य दूत ‘अनरेरी कन्सुल’ सुलभ अग्रवाल २५ चैतमा ‘थर्मल गन’को कालाबजारी गर्दैगर्दा रंगेहात पक्राऊ खाएपछि ठूला ब्यापारीको अनुहार उदांगो भएको छ । त्यसमा पनि कोरोना भाइरसको महामारीले विश्व नै संकटमा परेका बेला कसरी ब्यापारीहरु यो हदसम्मको फटाईं गर्न सक्छन् भन्ने अर्को पाटो पनि खुलेको छ ।
सँगसँगै अनरेरी कन्सुल अर्थात अति सम्मानित दूत भए वापत प्राप्त सुविधालाई उनीहरुले कसरी दुरूपयोग गरिरहेका छन् भन्ने तस्बिर पनि प्रष्ट पारेको छ ।
तथ्यहरु पल्टाउने हो भने सुलभ मात्र होइन, उनी जस्तै अन्य नामी ब्यापारीहरुले अवैतनिक महाबाणिज्य दूत ‘अनरेरी कन्सुल’ भएर सुविधाको दुरुपयोग गरिरहेको देखिन्छ । यो रिपोर्ट अवैतनिक महाबाणिज्य दूत ‘अनरेरी कन्सुल’ भए वापत प्राप्त सुविधा दुरुपयोग गर्ने ब्यापारीहरुको पर्दाफास गरिएको दोस्रो शृङखला हो ।
अपराधमा मुछिएका निलो प्लेटधारीहरू
परराष्ट्र मन्त्रालयका अनुसार ५१ देशमा बाणिज्य दूत ‘अनरेरी कन्सुल’हरु रहेका छन् । यी मध्ये अधिकांशले यसबाट प्राप्त निलो प्लेटको गाडी र झण्डा प्रयोग गरेर गैरकानुनी कार्यहरु गर्दै आएका छन् ।
(यसअघि ‘अनरेरी कन्सुल’ भएका शंकर ग्रुपका २ जना, चौधरी ग्रुपका ५ जना, मजदुर रुवाउने चिनी मिलका मालिक शशिकान्त अग्रवाल र मुक्तिश्री टावरका अजय सुमार्गीका फटाईँहरुको संक्षेप रिपोर्ट प्रस्तुत गरेका थियौं ।)
जव जव देशमा संकट पर्छ, तव तव ब्यापारीहरुले अत्यावश्यक सामाग्रीको जामाखोरी (जम्मा गरेर राख्ने), कृत्रिम अभाव र कालाबजारी गर्ने गरेको इतिहास छ । अझ उनीहरु यस्तो अपराधमा ‘अनरेरी कन्सुल’भए वापत पाउने सुविधा प्रयोग गर्छन् ।
नरेश दुगड ‘अनरेरी कन्सुल’ मेक्सिको
राष्ट्रिय माडवारी परिषद नेपालका संस्थापक अध्यक्ष तोलाराम दुगडका कान्छा भाइ किसनलाल दुगड (केएल)का छोरा हुन् नरेश दुगड । जो मेक्सिकोका ‘अनरेरी कन्सुल’ हुन् । उनी अहिले पनि कालाबजारीको मुद्धामा जिल्ला अदालत काठमाडौंमा तारिख धाइरहेका छन् । नरेश केएल ग्रुपका म्यानेजिङ डाइरेक्टर हुन् ।
२०७२ सालको भुकम्प र नाकाबन्दीका बेला बजारमा दैनिक उपभोग्य सामाग्रीको कृत्रिम अभाव गराए, ब्यापारीहरुले । धारा लगायत विभिन्न ब्राण्डका खानेतेललार्ई बजार दरभाउभन्दा अधिकतम मूल्य अंकित लेबल लगाएर राखिएको अवस्थामा प्रहरीले केएल ग्रुपको जडिबुटीस्थित गोदाममा छापामारी करिब डेढ लाख लिटर खानेतेलसहित दुई जनालार्ई पक्राउ गर्यो । महानगरीय प्रहरीपरिसर काठमाण्डु तथा महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दानबहादुर कार्की नेतृत्वको संयुक्त टोलीले उक्त छापा मारेको थियो ।
के.एल ग्रुप उत्पादक तथा बिक्री शाखाका डिपो इन्चार्ज अमन जैन र प्रबन्धक प्रमोदराज अधिकारीलार्ई प्रहरीले पक्राउ गरेपनि यसका सञ्चालक किसन लाल दुगड (नरेशका बाबु) र म्यानेजिङ डाइरेक्टर नरेश दुगड भने भाग्न सफल भए । उनीहरु त्यसबेला ‘अनरेरी कन्सुल’ भएवापत प्राप्त निलो प्लेटको झण्डावाल गाडीमा भारततिर फरार भएका थिए ।
कालोबजार तथा केही सामाजिक अपराध र सजाय ऐन २०३२ अनुसार काठमाण्डु जिल्ला अदालतमा केएल र नरेशका विरुद्ध मुद्दा दर्ता गरियो । पक्राउ पूर्जी जारी गरिएका उनीहरु केही समयपछि अदालतमा हाजिर भए र घरौटीमा रिहा पनि भए । तर, केएल र नरेश विरुद्धको मुद्धा भने अहिले पनि छिनोफानो भएको छैन । र, उनीहरु अदालतमा तारिख धाइरहेका छन् ।
केएल ग्रुपले गरेका अपराधका धेरै शृङखलाहरु छन् । त्यसमध्येको ठूलो अपराध अहिलेपनि उनीहरुवाट भइरहेको छ, मोरङ जिल्लाको आमतोला, अमरदह, हसन्दह र गोबिन्दपुर गाऊँमा । कुरो पञ्चायतकालबाट सुरु हुन्छ ।
तत्कालीन राजा महेन्द्रले भूमीसुधार ऐन लागु गरेपछि दुगड ग्रुपले हदबन्दीबाट जोगिन हजारौं बिगा जमीनलाई कृषि मार्फत बनाउने निधो गर्यो । त्यहीक्रममा मोरङको आमतोला, अमरदह, हसन्दह र गोबिन्दपुर गाऊँका हजारौं बिगा जमीनमा विभिन्न किसिमका कृत्रिम बगैचा लगाइए । अहिले तोलारामले भाइहरु हुकुम चन्द, मोतीलाल र किसनलाल (केएल)लाईगरी चार भाग लगाई उक्त हजारौं बिगा जमीन करोडौं रुपैयाँमा बिक्रि गर्दै आएका छन् ।
मजदुरलाई न्यूनतम पारिश्रमिकबाट बञ्चित गरेको, कर्मचारीलाई ज्यालादारीमा सीमित गरेको, अंगभंग वा घाइते मजदुरलाई बेवारिसे छोड्ने गरेको लगायतका आरोप पनि यस ग्रुपलाई लाग्दै आएको छ ।
शिव रतन शारडा ‘अनरेरी कन्सुल’ जर्जिया
शारडा ग्रुपका अध्यक्ष हुन् शिव रतन शारडा । जर्जियाका ‘अनरेरी कन्सुल’ यस ग्रुपमाथि धेरै आरोप र मुद्धाहरु लागेका छन् । २०७६ बैशाख १२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको पत्र संख्या नं २५१४२ अनुसार यस ग्रुपका उद्योग धन्दाहरु सबै अबैध छन् । सरकारी जमीन मिचेर दुहवीमा बनेको प्रिमियर स्टिल, जिंग भोड्का लगायतका उद्योगहरुको दर्ता खारेज गर्न उक्त निवेदन परेको हो ।
अख्तियारमा शारडा ग्रुप बयानको क्रममा छ । तर, मोरङ सिचाई आयोजनाको साढे ८ कठ्ठा र एउटा सरकारी स्कूलको केही कठ्ठा जमीन मिचेको कुरालाई नगरपालिका, सिंचाई आयोजना र सम्बन्धित स्कूलले प्रमाणित गरेर पठाई सकेका छन् । अर्कोतर्फ प्रिमियर स्टिल इन्डस्ट्रीको दर्ता नै जालसाजी अनुसार गरिएको देखिन्छ । उद्योग विभागवाट प्राप्त अनुमती पत्र नै गैह्कानुनी छ । यस ग्रुपका अर्का सञ्चालक तत्कालीन सभासद (मधेसी जनअधिकार फोरम, लोकतान्त्रिकवाट) पवन शारडाले ‘फाष्ट ट्रयाकवाट यस उद्योगलाई दर्ता गर्ने क्रममा कुनै पनि प्रक्रिया पुरा गरेको देखिदैन ।
शारडा ग्रुपको प्रिमियर स्टिलले प्रक्रिया पुरा गर्न बाँकी विषयमा प्रारम्भिक वातावरणीय परीक्षण र मूल्यांकन विनास्वीकृति नै उद्योगहरु खोलिएका छन् । सुनसरी–मोरङ औधोगिक करिडोरमा रहेका यी उद्योगले बस्नै नसक्नेगरी वातावरण बिगारेको स्थानीयहरुको अनुभव रहेको छ । शारडाका अक्सिजन ग्यास, तेल, स्टिल, रक्सी लगायतको उत्पादनका उद्योगहरुले वातावरणीय मापदण्ड पुरा नगरेका हुन् ।
त्यसैगरी यस ग्रुपलाई पनि मजदुरलाई न्यूनतम पारिश्रमिकवाट बञ्चित गरेको, कर्मचारीलाई ज्यालादारीमा सीमित गरेको, अंगभंग वा घाइते मजदुरलाई बेवारिसे छोड्ने गरेको लगायतका आरोप पनि लाग्दै आएका छन् ।
अवैतनिक बाणिज्य दूत अर्थात ‘अनरेरी कन्सल’ हुँदाका फाइदा
अन्तर्राष्ट्रिय र राष्ट्रिय विमानस्थलमा बिशिष्ट कक्ष प्रयोग गर्न पाईन्छ । सिंहदरबार, बालुवाटार लगायतका भिभिआइपी स्थलहरुमा निर्बाध आवतजावत गर्न पाईन्छ । यही गाडी चढेर विदेश समेत बेरोकतोक जान पाइन्छ । गाडी चेकजाँच समेत हुँदैन । जस्तो केएल दुगडका सञ्चालकहरु प्रक्राउ पूर्जी जारी भएपछि भारत प्रस्थान गरेका थिए । भिआइपी र भिभिआइपीले पाउने अन्य सुविधाहरु पनि लिन पाईन्छ ।
क्रमश:































प्रतिक्रिया