संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका अनुसार हामी अहिले दोस्रो विश्व युद्धपछिकै सबैभन्दा ठूलो महामारीको भूमरीमा छौं ।
कोरोना भाइरस अर्थात कोभिड १९ ले विश्व समुदायलाई आक्रान्त बनाइरहेको छ । ‘मै हुँ’ भन्ने शक्तिराष्ट्रहरू समेत यतिबेला टाउको कन्याइरहेका छन् । वाक, व्यापार हुँदै राजनीतिक युद्धको तयारीमा रहेको अमेरिकाले समेत चीनको सहयोग स्विकारेको अवस्था छ ।
सुरूवाती चरणमा कोरोनालाई चिनिया भाइरस भन्दै उधुम मच्चाएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अहिले पछुताइरहेका छन् ।
अहिलेसम्मको तथ्यांक हेर्दा शक्तिशाली मुलुक अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी पीडित छ । कोरोना भाइरसबाट कुल मृतकमध्ये अमेरिकामा मात्रै २१.१९ प्रतिशत अर्थात २८ हजार ५२९ पुगेको छ ।
त्यस्तै अहिलेसम्म संक्रमितमध्ये अमेरिकामा मात्रै ३०.९१ प्रतिशत अर्थात ६ लाख ४४ हजार ८९ पुगेको छ । भाइरसको उद्गम केन्द्र चीनमा मृतकको संख्या ३ हजार ३४२ पुगेको छ भने संक्रमितको संख्या ८२ हजार ३४१ पुगेको छ । चीनको उच्च सावधानीका कारण यो ग्राफमा उसको स्थान सातौंमा पुगेको छ ।
कोरोना भाइरसबाट संक्रमित र मृतकको ग्राफ रफ्तारमा बढीरहेको छ । यो सामग्री तयार पार्दासम्म संक्रमितको संख्या २० लाख ८३ हजार पुगेको छ भने मृतकको संख्या ३४ हजार पुगेको छ । सायद तपाईले यो सामग्री पढीरहँदा यो डाटा निकै पुरानोसावित हुनेछन् । यसैबाट बुझिन्छ कोरोनाको महामारी कुन रफ्तारमा अघि बढीरहेको छ भनेर ।
बाँच्नु होला तर जोगिन गाह्रो पर्ला
कोरोना आफै आउँदैन, तपाईं बाहिर गएर लिएर आउने हो । तर, धेरै नेपाली कोरोनासँग होइन प्रहरी प्रशासनसँग डराएर घरभित्र बसेका छन् कि झै लाग्छ । त्यसो त हामी अध्यारोमा बाहिर निस्कन्छौं । मर्निङ वाक, इभिनिङ वाक, फ्रेस, किनमेल आदि इत्यादि नाममा हामी सडकमा निस्कन्छौं । कतिपय त सरकारी पासलाई शानमा बदलेर डुलेको पनि पाइएको छ ।
प्रहरीको तथ्यांक अनुसार दैनिक ५ हजारको हाराहारीमा सर्वसाधारण पक्राउ परिरहेका छन् । ६ हजार भन्दा बढी सवारीसाधन प्रहरीको नियन्त्रणमा छ । हरेक बिहान करिव २ हजारको हाराहारीमा सर्वसाधारण पक्राउ पर्ने गरेका छन् ।
लकडाउन तपाईंकै लागि हो । कोरोना भाइरस एउटा सामाजिक सञ्जालको भाइरल जस्तै हो । एउटाले जानीनजानी फेसबुकमा हालेको कुरा क्षणभरमा दुनियाँले थाहा पाए जस्तै हो यो भाइरस पनि । छिमेकमा एक जनाले खेलाँची गर्दा सबैले दुःख पाउँछ ।
एकछिनलाई हामी यसरी सोचौं न । जस्तो बाहिरबाट आएर घर प्रवेश गर्न तपाईं ‘मेनगेट’ खोल्नु हुन्छ । यदि तपाईंको हातमा कोरोनाको भाइरस रहेछ भने त्यो गेटमा पनि सर्ने भयो । अथवा त्यो गेटमा त बाहिरका मान्छेले पनि छोएको हुन सक्छ । यदि त्यो गेटमा कोरोना भाइरस रहेछ भने तपाईंले गेट खोल्दा तपाईंमा पनि सर्ने भयो ।
तपाईंले पन्जा लगाउनु भएको छैन भने त सिधै जोखिममा हुनुहुन्छ । यदि तपाईंले पन्जा लगाउनु भएको भएपनि झुक्किएर पन्जा नखोली हात धुने पानीको मग छुनुभयो भने ? तपाईंले छुने वित्तिकै त्यो मगमा भाइरस सरिसकेको हुन्छ । तपाईंले हात त साबुन पानीले धुनु भयो होला तर त्यो पानी राख्ने भाँडो साबुनले पखाल्नु भयो ? कमैले पखाल्छन् होला ।
साबुन पानीले धोएर स्यानिटाइजर प्रयोग गरेपछि तपाईंको हात त सफा भयो होला तर त्यो मगमा त भाइरस सर्यो । अब तपाईंले छोएको त्यही पानीको मगबाट पानी लिएर तपाईंको परिवारले हात हुनुहुन्छ । तपाईंले त हात धुनुभयो, मास्क पन्जा फाल्नु भयो तर तपाईंले मास्क पन्जा फाल्नु अघि नै चावीले ढोका खोल्नु भयो अथवा भर्याङको रेलिङ छुनुभयो अथवा झुक्किएर खल्ती, नाक वा मुखमा हात लैजानु भयो भने ?
यदि तपाईं बाहिरबाट आएर हात नधोइ वाथरूम पस्नुभयो भने त्यहाँबाट झन अरुलाई सर्ने सम्भावना धेरै हुन्छ । किनकी तपाईंले वाथरूमको ढोका खोल्नु हुन्छ । वाथरूपको धारा खोल्नुहुन्छ । अझ तपाईं घरभित्र पस्दा मेन गेटमा तपाईंको कपडा, हेल्मेट, खुट्टाले छोयो भने ? तपाईं हात त धुनुहुन्छ ? के तपाई खुट्टा र कपडा पनि हरेक पटक धुनुहुन्छ ? धुनुहुन्न भने तपाईंको कपडाले बेडमा छोइएला, हेल्मेटबाट टेवलमा त सर्ने भइहाल्यो । तपाईंले प्रयोग गरेको चप्पल ? आदि इत्यादि ।
के अहिले हामी यो सबै सावधानी अपनाइरहेका छौं ? अनि सम्भव छ त ? मैले यहाँ एकल परिवारको कुरा गर्दैछु । उपत्यकामा एउटै घरमा दशदेखि १५ परिवार बस्नेहरू छन् । उनीहरू सबैले एउटै इनारको पम्प प्रयोग गर्न सक्छन् । एउटै वाथरूम ४/५ परिवारले प्रयोग गर्नेहरू छन् । वाथरूमभित्र साझा चप्पल प्रयोग हुन सक्छ । अनि अवस्था के होला ? के हामीले त्यसपछि आउने भयावह अवस्थाको कल्पना गरेका छौं ?
कोरोना भाइरसको संक्रमण भइहाले पनि ९८ प्रतिशत बाँच्ने सम्भावना हुन्छ तर तपाईं वा तपाईंको घर छर-छिमेकमा कसैलाई संक्रमण भइहाल्यो भने बाँकी अरू छिमेकी संक्रमणबाट जोगिने सम्भावना निकै कम हुन्छ । यसका लागि कोही एक जनाले सावधानी अपनाएर हुँदैन सबैले म म भन्नु जरुरी हुन्छ ।
अब उरन्ठेउला प्रश्न उठ्न सक्छ, ‘इम्युनिटी पावर नभएकालाई मात्र गाह्रो हुने रहेछ, हामी मोटा बलियालाई त गाह्रो नहुने रहेछ हामीलाई बाल !’
यदि तपाईं यस्तै सोच्दै हुनुहुन्छ भने त्यो तपाईंको महाभूल हो । अचेल कोरोना भाइरसको संक्रमण भन्दा यसको त्रास बढी छ । जसले गर्दा कयौंले अकालमा ज्यान गुमाएका छन् । सामान्य रुघाखोकी ज्वरो आएकाले समेत उपचार नपाएर मृत्युवरण गरिरहेको अवस्था छ । किनकी उपचारमा खटिने चिकित्सकदेखि एम्बुलेन्स चालकहरू समेत त्राहीमाम छन् । यो अर्कै कुरा भयो ।
अब मानौं तपाईंलाई कोरोनाको संक्रमण भइहाल्यो र उपचार भइरहेको छ । त्यो अवस्थामा तपाईंले भोग्नुपर्ने मानसिक पीडा चानचुने खालको हुँदैन । किनकी तपाईंलाई कसैले फलफूल र हर्लिक्स बोकेर भेट्न आउन मिल्दैन । त्यहाँ तपाईंको स्याहारका लागि तपाईंको कोही परिवार बस्न पाउँदैन । तपाईंको ज्यान भगवान (चिकित्सक) को भरोसा हो ।
नचाहेर पनि जानकारीका लागि एउटा कुरा भन्नैपर्छ । सरकारले बनाएको ‘कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन सम्बन्धी कार्यविधि’ अनुसार शवलाई छोएर माया प्रकट गर्न पनि पाइन्न । एक मिटर टाढा बसेर मात्रै शव हेर्न मिल्ने कार्यविधिमा उल्लेख छ ।
उपचारका लागि आवश्यक पिपिई, भेन्टिलेटर समेत पर्याप्त नभएको नेपालको के कुरा अमेरिकाका अस्पतालहरूको अवस्था समेत कहालीलाग्दो छ । बिरामीहरू बेड नपाएर तड्पीरहेका छन् । उपचारमा खटिएका दर्जनौं चिकित्सकहरूको समेत ज्यान गइसकेको अवस्था छ ।
डब्लु एचओको एक अध्ययनले देखाए अनुसार कोरोना भाइरस संक्रमित मध्ये ३० प्रतिशतमा कुनै लक्षण नै देखिएको छैन । पछिल्लो समय कोरोनाभाइरसको महामारी फैलिनुको एउटा खासकारण यो पनि हो । त्यसकारण पनि बढी सावधानीको जरूरत हुन्छ ।
धेरै घुम्नुपर्ने हामी घरमै छौ, तपाईं चाँहि ?
पत्रकारिता अर्थात सरकारको चौंथो अंग । पत्रकारिताको एउटा मान्यता भनेको धेरै मान्छे भेटेर सूचना संकलन गर्ने र जनतामाफ प्रस्तुत गर्ने हो । एउटा सामान्य समाचार सामग्री तयार पार्नका लागि पनि धेरै पेशासँग आवद्ध मानिसहरूसँग भेटघाट गर्नुपर्ने हुन्छ । खोजमूलक रिपार्ट बनाउनका लागि त महिनौसम्म सयौ मान्छेसँग भेटघाट गर्नुपर्ने हुन्छ । तर यतिबेला अधिकांश पत्रकारहरू भेटघाट होइन कुराकानीका आधारमा काम गरिरहेका छन् । यो रहर होइन कोरोनाको कहर हो ।
रेडियोका पत्रकारहरू घरबाटै समाचार पढिरहेका छन् । टेलिभिजनका कार्यक्रम सञ्चालकहरू अनलाइनमार्फत कार्यक्रम चलाइरहेका छन् । कतिपय सञ्चारमाध्यम (पत्रपत्रिका, युट्युव) बन्द भएका छन् भने संचालनमा रहेका सञ्चारमाध्यमका पत्रकारहरू अनलाइन र फोनमार्फत काम गरिरहेका छन् ।
सरकारले लकडाउन घोषणा गरेपछि केन्द्रबिन्दु मिडिया प्रालिका मित्रहरू पनि होम क्वारेन्टाइनमा बसेर काम गरिरहेका छन् । हामी उपत्यकाका ११ ठाउँमा बसेर काम गरिरहेका छौं । हामी अनलाइन च्याटरूमबाटै एकअर्कालाई साथ सहयोग र सल्लाह सुझाव आदान प्रदान गर्छाैं ।
यसरी नै हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दु टिभी सञ्चालन गरिरहेका छौं । होम क्वारेन्टाइनबाट हामीले दैनिक बुलेटिन प्रस्तुत गरिरहेका छौं । होम क्वारेन्टाइनबाटै हामीले २२ वटा बुलेटिन प्रस्तुत गरिसकेका छौं, २३ बुलेटिनको तयारीमा छौं । काम गर्न साह्रो गाह्रो भएपनि हामीले कोरोनाको कहरलाई आत्मसाथ गर्दै ज्यान घरमा ध्यान काममा गरेर आम दर्शक पाठकलाई समाचार सामाग्री प्रस्तुत गर्दै आएका छौं ।
हामी प्रहरी प्रशासनदेखि डराएर होइन कोरोनाबाट जोगिन घरमा बसेका हौं । हामीले चाह्यौ भने निर्धक्क घुमेर समाचार संकलन गर्न पाउँछौं । तर, हामी आफू, आफ्नो परिवार, छरछिमेकी, समुदाय र राष्ट्रलाई सुरक्षित राख्नकै लागि साह्रो गाह्रो खेपेर घरमै बसेर काम गरिरहेका छौं । तर तपाई किन लखरलखर बाहिर हिड्नु हुन्छ ?
एकपटक सोचौं न दिनभर डुलेर जिम्मेवारी पूरा गर्नुपर्ने पत्रकारलाई घरमै गुम्सिएर काम गर्न कति गाह्रो होला ? कसरी तपाईका लागि समाचार प्रस्तुत गरे होला ? स्रोतसाधन कसरी व्यवस्थापन गरेको होला ?
कोरोनाविरुद्धका योद्धाहरूका नाममा
हामी मान्छे हौं त्यसकारण हामीमा मानवता हुनुपर्छ । र, त्यो मानवता देखाउने समय भनेको पनि यस्तै संकटमा हो । अहिले हामी कोरोनासँग लड्न हातहतियार बोकेर बाहिर निस्कनु पर्दैन । कोरोनासँग लड्न चिकित्सक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सञ्चारकर्मीहरू मैदानमा छन् ।
हामी केवल घरमै बसि दिएर उनीहरूलाई सहयोग गरि दिए पुग्छ । तपाईं आफ्नो परिवारसँग बसेर मिठोमिठो खाएर, टिभी हेरेर, इन्टरनेट चलाएर बस्न त गाह्रो मान्नु हुन्छ भने ती योद्धाहरू र उनीहरूको परिवारको हालत के होला ? तपाईकै ज्यान जोगाउन युद्ध लडिरहेकाहरूलाई पनि सहयोग नगर्ने त अब ?
अनि विपन्न र दैनिक किनमेल ?
अब प्रश्न उठ्न सक्छ, ‘बाहिर नै ननिस्की खानेकुरा चुलोमा कसरी आउँछ ?’ विपन्न परिवारले कसरी चुलो बाल्ने ? देशमा संघीयता आएको छ तर संकटको यो घडिमा स्थानीय सरकारले आवश्यकता अनुसारको जिम्मेवारी वहन गरेको देखिँदैन ।
प्रहरी प्रशासनको भाटा सर्वसाधारणले सधै सहदैनन् । स्थानीय सरकारले वडाभित्रको दैनिक जनजिवीकालाई सहज बनाइ दिनुपर्छ । त्यसका लागि एउटा कार्यविधि बनाएर व्यवस्थापन गर्नुपर्छ ।
छरछिमेकमा भएका विपन्नलाई सहयोग गर्ने र राहतमा प्राथमिकता दिने काम हाम्रो र स्थानीय सरकारको हो । पाँच किलो चामल र एक लिटर तेलकै लागि नागरिकता खोजेर रमीता गर्ने बेला होइन यो ।
अन्त्यमा,
कोरोनाभाइरसबाट जोगिन अहिलेसम्म कुनै औषधि बनेको छैन । त्यसकारण अहिलेसम्म पत्ता लगाएको उपचार विधि भनेकै लकडाउन, होम क्वारेन्टाइन र उच्च मनोबल नै हो ।
तपाईंले प्रशासनको आँखा त छल्न सक्नु होला तर कोरोनाको संक्रमण छल्न सक्नु हुन्न । त्यसकारण घरमै बसेर आत्मबल बलियो पारौं, आफू पनि बचौं र अरूलाई पनि बचाऔं ।
लकडाउनको २३ औं दिनमा आइपुग्दा पनि सर्वसाधारणमा अटेरपन नहटेपछि यो लेख सिर्जना भएको हो । लेख पढेर त्रास होइन सचेत बन्न सिकौं ।
सामाजिक संजालमा भाइरल भइरहेको यो भिडियो हेरौ एकपटक





























प्रतिक्रिया