बिकेन एलपी ग्यास, बुलेट खाली समेत हुन पाएन

बिकेन एलपी ग्यास, बुलेट खाली समेत हुन पाएन

केन्द्रबिन्दु
0
Shares

चितवन ।

एलपी ग्यास उद्योगहरुमा ग्यास नबिकेर बुलेटसमेत खाली गर्न उद्योगीले पाएका छैनन् । देशभरमा ५८ वटा ग्यास उद्योग छन् ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका केन्द्रीय अध्यक्ष गोकुल भण्डारीका अनुसार ती उद्योगले मगाएका दुई सय ५० बुलेट खाली गर्न सकिएको छैन । लकडाउनको समयमा ग्यासको अभाव हुन नदिन भन्दै १२ दिनसम्म आधा सिलिन्डर मात्रै भरेर बिक्री गरिएको थियो । एक सिलिन्डरमा १४ दशमलब दुई किलो ग्यास हुने भए पनि सात दशमलब एक किलो ग्यासमात्र बिक्री गरिएको थियो ।

भण्डारीको भनाइमा झण्डै १० लाख सिलिन्डर आधा मात्रै भरेर बजारमा पठाइएको छ । खपतसमेत आधा घटेकाले ग्यास बिक्री हुन नसकेका हो । उनका अनुसार यसैले गर्दा ग्राहकको सिलिन्डर खाली नहुँदा ग्यास बिक्री हुन नसकेको हो ।

बाबा, श्री र लुम्बीनी गरी तीन उद्योग सञ्चालन गर्दै आएका बिमल कालाखेतीका अनुसार भण्डारण खाली नभएपछि बुलेट खाली गर्न सकिएको छैन । चालकलाई उद्योगले खाना र बस्न व्यवस्था गरेर राखेका छन् । ९६ घण्टाभन्दा बढी समय बुलेट राख्नुपरेमा दैनिक अतिरिक्त शुल्कसमेत तिर्नुपर्ने उनले बताए । नेपालमा सामान्य अवस्थामा दैनिक एक लाखवटा सिलिन्डर बिक्री हुने गर्दछ । लकडाउनको हल्लासँगै धेरैले सिलिन्डर भरेर राखेको र सभा सम्मेलन एवं होटल बन्द हुँदा खपत आधा घटेको कालाखेतीको भनाइ छ ।

नेपालका ग्यास उद्योगमा १५ करोडदेखि दुई सय करोडसम्म लगानी भएको व्यवसायीहरु बताउँछन् । सबैभन्दा ठूलो नेपाल ग्यासका सञ्चालकसमेत रहेका भण्डारी आउँदा दिनमा ग्यास कतिको सहज हुन्छ अहिले नै भन्न नसकिने भएकाले उपभोक्ताको खाली सिलिन्डर भए भरेर राख्न अनुरोध गरिएको बताउँछन् ।रासस

Skip This
Skip This
Logo