काठमाडौं ।
नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको स्थिति दृष्टिगत गरी सरकारले लकडाउनको समयावधि थप गरेको विषयलाई स्वभाविक रूपमा लिँदै यस सङ्क्रमणलाई पररास्त गर्न कोरोनासँग जुध्ने गति र सतर्कताको मात्रा पनि बढाउनु पर्ने जनाएको छ ।
लकडाउनका बाबजुद कैयौँ देश कोरोनाको चपेटामा परेको अनुभवबाट शिक्षा लिँदै, थपिएको पछिल्लो अवधिमा अघिल्लो चरणका कमजोरी अन्त्य गरेर सतर्कताको स्थितिलाई मजबुत तुल्याउन काँग्रेसले सरकारसँग अपिल गरेको छ । काँग्रेसले आज एक वक्तव्यमार्फत वर्तमान परिस्थितिको गम्भीरता बमोजिम आवश्यक मेडिकल सामग्रीको तत्काल आयात गर्न, परीक्षणको दायरा थप विस्तार गर्न र थप सतर्कताका लागि सरकार र समुदायको ध्यानाकर्षण गराएको छ ।
अत्यावश्यक मेडिकल सामग्री खरीद गर्ने या निश्चित मुलुकबाट मानवीय सहयोगका रूपमा आयात गर्ने कार्यमा ढिलाइ भइरहेको विषयलाई काँग्रेसले गम्भीरतापूर्वक लिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । “पारदर्शी ढङ्गले कुन प्रक्रिया र कुन माध्यमबाट ल्याउने त्यो सरकारको अधिकार क्षेत्रको विषय हो । तर कोरोनाबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको आजको मितिमा सामग्रीको पर्याप्त बन्दोबस्त गर्न अब रत्तिभर ढिलाइ नगर्न हामी आग्रह गर्दछौँ”, उनले भनेका छन् ।
कोरोना परीक्षण गर्ने केन्द्रहरु विस्तार गरिनु सकारात्मक भएको तर र्यापिड टेष्टको परिणाम भने विश्वव्यापी रुपमै विश्वसनीय र भरपर्दो नदेखिएको स्थितिमा नेपालले पिसिआर विधिको व्यापकता बढाउन जरुरी रहेको काँग्रेसको भनाइ छ । सोही बमोजिमको क्षमता अभिवृद्धि गर्न प्रवक्ता शर्माले अपिल गरेका छन् ।
“नियमित उपचारमा प्रयोगमा रहेका अस्पतालहरुमै कोरोना परीक्षण र उपचार गर्ने कार्य अत्यधिक जोखिमपूर्ण रहेको र त्यसबाट सङ्क्रमणले व्यापकता पाउन सक्ने कतिपय देशको अनुभव देखिएको छ । बाह्य अनुभवलाई गम्भीरतापूर्वक लिएर आवश्यक वैकल्पिक बन्दोबस्त गर्न युद्धस्तरमा तयारी गर्नुपर्ने विकल्पको अर्को कुनै विकल्प सोचिनु हुन्न”, प्रवक्ता शर्माद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।रासस





























प्रतिक्रिया