नेपालको आर्थिक बृद्धिदर २.५ प्रतिशत हुने आइएमएफको प्रक्षेपण

नेपालको आर्थिक बृद्धिदर २.५ प्रतिशत हुने आइएमएफको प्रक्षेपण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको आर्थिक बृद्धिदर २.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

आइएमएफले सन् २०२० मा सो आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको हो । दक्षिण एशियाली देशहरुमध्ये नेपालको आर्थिक बृद्धिदर तुलनात्मक रूपमा सन्तोषजनक रहेको आइएमएफले जनाएको छ । आइएमएफले वर्ल्ड इकोनोमिक आउट लुक सार्वजनिक गर्दै नेपालको आर्थिक बृद्धिदर सन् २०२० मा २.५ प्रतिशत र सन् २०२१ मा ५ प्रतिशत रहने प्रक्षेपण गरेको हो ।

आइएमएफको सो रिपोर्ट अनुसार बंगलादेशको १ प्रतिशत, भुटानको २ प्रतिशत र भारतको १.९ प्रतिशत रहेको छ । त्यसको तुलनामा नेपालको आर्थिक बृद्धिदर बढी रहने प्रक्षेपण गरिएको छ । त्यस्तै, माल्दिभ्स र श्रीलंकाको आर्थिक बृद्धिदर ऋणात्मक देखिएको आइएमएफले जनाएको छ । त्यस्तै, श्रीलंकाको बृद्धिदर ०.५ प्रतिशत र माल्दिभ्सको ८.१ प्रतिशत रहने आइएमएफको प्रक्षेपण छ । आइएमएफका अनुसार यूरोजोनको जिडिपी ७.५ प्रतिशतले खुम्चिने तथा इटाली र स्पेनको आर्थिक अवस्था सबैभन्दा प्रभावित हुने अनुमान गरिएको छ ।

कोभिड-१९ ले सबैभन्दा प्रभावित दुई देशको जिडिपी क्रमशः ९.१ प्रतिशत र ८ प्रतिशत ऋणात्मक हुने बताइएको छ । दुवै देशहरुमा कोरोना संक्रमित र मृत्युको संख्या उच्च छ । यस्तै अमेरिकाको अर्थतन्त्र ऋणात्मक भई ५.९ प्रतिशतले खुम्चिने भनिएको छ । जापानको ५.२ प्रतिशत, बेलायतको ६.५ प्रतिशत, जर्मनीको ७ प्रतिशत र फ्रान्सको ७.२ रहने प्रक्षेपण पनि आइएमएफले गरेको छ । छिमेकी देश भारतको बृद्धिदर १.९ प्रतिशत रहने र चीनको १.२ प्रतिशतले बृद्धि हुने प्रक्षेपण आइएमएफले गरेको छ ।

अहिले विश्व कोरोना महामारीका कारण आर्थिक संकटमा परेको भन्दै उसले अर्थ व्यवस्था नाजुक रहेको जनाएको छ । आइएमएफले कोरोनाका कारण सन् १९३० को दशकको आर्थिक महामन्दीपछि अहिले सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको जनाएको छ । आइएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपिनाथले विश्वकै अर्थ व्यवस्थाको बृद्धिदर ऋणात्मक भइ माइनस ३ प्रतिशतमा रहने बताएकी छिन् । सन् २०२० को जनवरीमा आइएमएफले नै विश्वको जिडिपी ३.३ प्रतिशत बृद्धि हुने आँकलन गरेको थियो । तर त्यस विपरीत हाल ३ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरेको हो ।

त्यस्तै, आइएमएफको रिपोर्ट अनुसार कोरोनाको महामारीले विश्वको आर्थिक गतिविधि ठप्प भएका कारण सन् २०२० मा विश्वका ठूला र विकसित मुलुकहरुको अर्थतन्त्रको बृद्धिदर पनि ऋणात्मक हुने आँकलन गरिएको छ । कोरोनाको बढ्दो संकटले उत्पन्न खराब आर्थिक अवस्थासँग लड्न आइएमएफसँग हाल विश्वका थुप्रै मुलुकहरुले आकस्मिक फण्ड माग्दै आएका छन् । आइएमएफका अनुसार १ सय ८९ सदस्य मुलुकमध्ये ९० भन्दा बढीले आर्थिक सहायता मागेका छन् ।

Logo