काठमाडौं ।
नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कागजी नोटको प्रयोग गरेपछि साबुन पानीले राम्रोसँग हात धुन अनुरोध गरेका छन् । नेपाल लगायत विश्वका सयौँ मुलुकमा कोरोना संक्रमण बढदै गएको सन्दर्भमा कागजी नोटबाट पनि सर्न सक्ने भन्दै सतर्कताका साथ नोटको प्रयोग गर्न अध्यक्ष दाहालले अनुरोध गरेका हुन् ।
विश्व स्वास्थ्य संगठनले कागजी नोटको माध्यमबाट पनि कोरोना भाइरसको संक्रमण सर्न सक्ने भन्दै सुरक्षाका विधि अपनाउन भनेपछि नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले नोटको प्रयोग गर्दा निकै सावधानीपूर्वक गर्नुपर्ने अनुरोध गर्दै आएका छन् । नोटको प्रयोग गर्दा सतर्कतापूर्वक स्वास्थ्यलाई विशेष ध्यानमा राख्दै प्रयोग गर्नुपर्ने अध्यक्ष दाहालले बताए । ‘नोटको माध्यमबाट पनि कोरोनाको संक्रमण फैलिन्छ भनिएको छ, यस्तो अवस्थामा नोट छोइसकेपछि साबुन पानीले हात मिचिमिचि धुनुपर्छ ।’–अध्यक्ष दाहालले भने ।
कागजी नोटबाट पनि कोरोनाको संक्रमण सर्ने कुरा बाहिरिएपछि सर्वसाधारणलाई निल्नु न ओकल्नु भएको छ । कागजी नोटको प्रयोग नगरे डिजिटल बैंकिङमा अधिकांशको पहुँच छैन । प्रयोग गरे कोरोनाको संक्रमण सर्ला कि भन्ने त्रास । यस्तो त्रासका कारण सर्वसाधारणले कतिपयले साटेर ल्याएका कागजी नोट धुने, कतिपयले थोरै छ भने फिर्ता लिनुपर्ने पैसा पनि फिर्तै नलिने र नोटलाई घाममा सुकाउने त कतिपयले घरबाटै खुद्रा पैसा लिएर बजार जाने गरेका छन् ।
नेपाली बजार अझै क्यासलेस भइसकेको छैन । यहाँका अधिकांश जनताले कागजी नोटको प्रयोग गर्दै आएका छन् । दैनिक उपभोग्यका सामानहरु किन्दा प्रायः नगद (क्यास) नै प्रयोग गरिन्छ । जसका माध्यमबाट एक व्यक्तिबाट अर्काे व्यक्तिमा कोरोना भाइरसको संक्रमण सर्न सक्छ । नोटको प्रयोगबाट कोरोना भाइरसको संक्रमण सर्न सक्ने भएकाले डिजिटल कारोबारमा जोड दिन अध्यक्ष दाहालले भनेका छन् । उनले भने–‘नोटबाट जोखिम हुने भनिएकाले हामीले डिजिटल माध्यमको कारोबारलाई प्राथमिकता दिन आग्रह गर्दै आएका छौँ ।’ डिजिटल माध्यमबाट गरिने कारोबारलाई बढवा दिन अहिले बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल कारोबारमा छुट समेत दिएका छन् ।
कोरोनाको संक्रमणका कारण गत फागुनमा छिमेकी मुलुक चीनमा करिब ८४ हजार करोड रुपैयाँ नष्ट गरिएको थियोे । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा सो कागजी नोट नष्ट गरेको थियो । न्यूयोर्क युनिभसिटिले गरेको एक अध्ययन अनुसार पैसामा पनि ‘सुक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ । यस्तो अवस्थामा चिकित्सकहरुले कागजी नोटमा कुनै पनि रोगका जीवाणु करिब दुई सातासम्म जीवित रहनसक्ने बताएका छन् । कागजी नोटमा भाइरस, व्याक्टेरिया, सामान्य किटाणु, ढुसी लगायतका झण्डै तीन हजार भन्दा बढी प्रकारका जीवाणु देखा परेका छन् ।
त्यस्तै, बैंकबाट निकालिएको कागजी नोटमा आठ प्रकारका व्याक्टेरिया तथा तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोल पम्प, जुत्ता सिलाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको सो अध्ययनले देखााएको थियो । संयुक्त राज्य अमेरिकाको कागजी नोटमा कोकेन भएको ‘फरेन्सिक साइन्स इन्टरनेशनल’ ले प्रमाणित गरिसकेको छ ।
त्यसैगरी, दक्षिण अफ्रिकाको कागजी नोटमा पनि ९० प्रतिशत विभिन्न किसिमका प्राणघातक व्याक्टेरिया तथा ढुसी रहेको पाइएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न नोटको प्रयोग गरिसकेपछि सावुन पानीले हात धुनुको विकल्प नभएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टको भनाई छ । मुलुकलाई तत्काल क्यासलेस बनाउन संभव छैन, त्यसैले नोटको प्रयोगमा सावधानी अपनाउनुपर्छ ।’–प्रवक्ता भट्टले केन्द्रबिन्दुसँग भने ।
त्यस्तै, राष्ट्र बैंकले आरटिजिएस (रियल टाइम ग्रस सेटलमेन्ट) को माध्यमबाट गरिने कारोबारलाई पनि निशुल्क गरेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल बजारमा ५ खर्ब ३८ अर्ब रुपैयाँ कागजी नोट रहेको छ ।





























प्रतिक्रिया