काठमाडौं ।
काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर हृदयघात, मृगौला रोगीलगायतका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । सोमबार महानगरले संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) सँग सम्झौता गर्दै यस्तो सेवा सञ्चालन गर्ने जानकारी दिएको हो ।
महानगरका प्रशासन विभाग प्रमुख नमराज ढकाल र संयुक्त एम्बुलेन्स चालक संघका अध्यक्ष गोवद्र्धन सापकोटाले संयुक्तरुपमा सम्झौतामा हस्ताक्षर गरेका थिए । लकडाउन अवधिभर पाँच ओटा एम्वुलेन्सले २४ सै घण्टा सेवा दिने र त्यसका लागि एम्बुलेन्स सेवालाई महानगरले आर्थिक सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।
लकडाउनको समयमा हृदयघात, मृगौला रोगीलगायतका महानगरवासीहरुलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराउन लागेको महानगरले जानकारी दिएको छ । ‘लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने सम्भावित बिरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन यो सम्झौतापछि निःशुल्क एम्बुलेन्स सेवा प्रवाह हुनेछ ।’ महानगर प्रमुख बिद्यासुन्दर शाक्यले भने–‘सम्भावित बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा लिन सम्र्पकका लागि महानगरले हटलाइन नम्वर ११८० को समेत व्यवस्था गरेको छ ।’
त्यस्तै सम्झौता अनुसार निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सवारी साधनमा करार अवधिभर अन्य प्रयोजनमा एम्बुलेन्स चलाउन पाइने छैन । निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीहरुको नाम थर र अन्य विवरणको लगत अद्यावधि गरी प्रमाणित गर्नु पर्नेछ । ‘निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेको बिरामीसँग थप भाँडा दस्तूर वा सेवा शुल्क लिन पाईनेछैन’–सम्झौतामा उल्लेख गरिएको छ–‘निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेको बिरामीसँग कुनै अस्पतालमा वा उसको घरसम्म आउन जान आनाकानी वा मोलतोल गर्न पाईने छैन ।’
यसरी सञ्चालनमा आएका एम्बुलेन्सले महानगरको भौगोलिक क्षेत्र सीमा वाहिर २ कि.मी.सम्म निःशुल्क सेवा दिनु पर्नेछ । तर, २ कि.मी. भन्दा बढिको दूरीमा यात्रा गर्नुपर्दा सम्बन्धित बिरामीले नेपाल सरकारको नियमानुसार दूरीको आधारमा भाँडा दर तिर्नुपर्नेछ । ‘निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दा रोगको प्रकृति हेरी प्राथमिकीकरण गरीे सेवा प्रदान गर्नुपर्नेछ । यसमा हृदयघात, मृगौला रोगी, आकस्मिक सेवाको पहिलो प्राथमिकता दिनुपर्नेछ ।
त्यस्तै सम्झौता अवधिभर निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सवारी साधन ५ ओटामा २४ घण्टा नै सवारी चालक सहित सवारी साधन प्राविधिक रुपमा दुरुस्त राख्नु पर्नेछ । एम्बुलेन्सले चावहिल, बौद्ध, बालाजु, स्वयम्भू, लाजिम्पाट, अन्तर्राष्ट्रिय विमानस्थल, कोटेश्वरलगायतका स्थानबाट सेवा दिनेछन् ।





























प्रतिक्रिया