नयाँ वर्षको दिन दीपक, शिवहरि र दयाहाङको ‘बर्थ डे’

नयाँ वर्षको दिन दीपक, शिवहरि र दयाहाङको ‘बर्थ डे’

केन्द्रबिन्दु
0
Shares

आज २०७७ साल वैशाख १ गते । नेपालीहरूको नयाँ वर्ष भएपनि लकडाउनको कारण सबैको नयाँ वर्ष घर भित्र नै सीमित भएको छ । नयाँ वर्षको दिन नै नेपाली कलाकारिता जगतका केहि हस्तीहरुको जन्मदिन परेको छ । उनीहरु हुन् हाँस्यकलाकार तथा निर्माता दीपकराज गिरी, हाँस्यकलाकार शिवहरि पौडेल र अभिनेता दयाहाङ्ग राई । केन्द्रबिन्दुको तर्फबाट तिनैजनालाई जन्मदिनको शुभकामना स्वरुप यो रिपोर्ट तयार परेका छौँ ।
१. दीपक राज गिरी
दीपक राज गिरी बाजे देखि नातिसम्मले चिनेको नाम हो । वि.सं. २०६० सालबाट सुरु भएको हाँस्यटेलिशृंखला तितो सत्यबाट निकै लोकप्रियता कमाएका गिरी वि.सं. २०३२ सालमा काठमाडौंको दहचोक गाविसमा जन्मिएका थिए । वि.सं. २०४९ मा रेडियो नाटक आमाबाट हाँस्यकलाकारिता सुरु गरेका दीपकले दीपाश्री निरौलासँग मिलेर रामबिलास र धनियाँ नामक रेडियो कार्यक्रमबाट २०५० सालतिर निकै ख्याति कमाएका थिए । नेपाल टेलिभिजनमा वि.सं. २०६० सालबाट संघर्ष थालेका उनले पछिल्लो समय उनले चलचित्र क्षेत्रमा पनि हात हालेका छन् । उनले नेपाली चलचित्र छ एकान छ, छक्का पञ्जा, छक्का पञ्जा-२, छक्का पञ्जा-३ र छ माया छपक्कैमा लेखक तथा निर्माता बनेर काम गरेका छन् भने, अहिले उनि आफ्नो आगामी चलचित्र छक्का पन्जा ४ को स्क्रिप्ट लेखनमा व्यस्त छन् ।

२. शिवहरि पौडेल
हाँस्यकलाकार शिवहरि पौडेल मुखाँ हान्नु जस्तो उपनामले परिचित छन् । उनको यो थेगो नसुन्ने नेपाली शायदै होलान् । हाँस्यटेलिशृंखला तितो सत्यबाट निकै चर्चा कमाएका शिवहरि कामसँगै पढाइलाई अगाडि बढाउने सिलसिलामा २०४० सालतिर हेटौंडाको अमलेखगञ्जबाट काठमाडौं छिरेका थिए । जितु नेपालसँग मिलेर टेलिचलचित्र ‘जिरेखुर्सानी’ लेखन, निर्माण, निर्देशन एवं अभिनय गरेका पौडेलको कलाकारिता यात्रा २०४५ सालदेखि सुरु भएको थियो । सुनील पोखरेल, सरोज खनाललगायतले सुरु गरेको आरोहणमा हुने नाटक हुँदै २०४७ सालबाट उनले सडक नाटक गर्न थालेका थिए । लय संग्रौलाको ‘ऊ अब एक्लो छैन’ टेलिशृंखलाबाट टेलिचलचित्रमा अभिनय सुरु गरेका उनलाई सय भागको टेलिचलचित्र ‘देवी’ले लोकप्रिय बनाएको थियो । बद्री अधिकारीको निर्देशनमा बनेको ‘दुश्मन’बाट ठूलो पर्दामा अभिनय सुरु गरेका पौडेलले चार दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।

३. दयाहाङ्ग राई
विक्रम सम्बत २०३७ सालमा भोजपुरमा जन्मेका दयाहाङ्ग राई अहिलेका नम्बर वन अभिनेता हुन् । उनले चलचित्र लूटबाट प्रसिद्धि कमाएर लोक प्रिय बनेका थिए । एसएलसिपछि भोजपुर बहुमुखी क्याम्पसमा आइए पढेका राईले भोजपुरबाट काठमाडौ छिरेपछि अभिनय सिकेका थिए । अभिनय सिक्ने क्रममा नै उनको बुद्धि तामाङ्ग, विजय बराल, रामबाबु गुरुङ, निश्चल बस्नेतसँग चिनजान भएको थियो र उनीहरुसँग मिलेर उनले मण्डला थियटरको सुरुवात गरेका थिए भने चलचित्र लूट पनि निर्माण गरेका थिए । जसले उनिसँगै सबैलाई चर्चित बनाएको थियो । त्यसपछि उनले झोले, कबड्डी लगायत करिव २ दर्जन नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् तर अहिलेसम्म पछाडी फर्केर हेर्नुपरेको छैन । अहिले उनि चलचित्रसँगै नाटकमा पनि सक्रिय छन् ।

Logo