प्रदेश नं १ समाचार : २८२ जनाको रिपोर्ट नेगेटिभ

प्रदेश नं १ समाचार : २८२ जनाको रिपोर्ट नेगेटिभ

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

प्रदेश नं. १ मा कोरोना भाइरसको आशङ्कामा थ्रोट स्वाबबाट रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण र रगतको नमूनाबाट र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) गरिएका २८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

थ्रोट स्वाब अन्तर्गत सङ्कलित २११ नमूनाहरु परीक्षणका लागि कोशी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएकामा २२ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जनाएको छ

कोरोना भाइरस भए/नभएको छिटो पत्ता लगाउन गरिने र्‍यापिड डाइग्नोष्टिक टेस्ट अन्तर्गत शनिबार भएको नमूना सङ्कलन परीक्षणमा ९३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उक्त नमूना सङ्कलनमा जम्मा ७ महिला सहित ९३ जनाको परीक्षण गरिएको थियो ।

प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका क्वारेन्टाइनमा राखिएका नागरिकको आरडिटीको परीक्षणको नमूना ल्याउन स्वास्थ्यकर्मीहरु परिचालन गर्ने कार्य जारी छ । मोरङ, झापा र उदयपुरमा रहेका क्वारेन्टाइनमा बसेका नागरिकको नमूना सङ्कलन गरिएको छ । प्रदेशका क्वारेन्टाइनमा शनिबारसम्म ५९२ छन् भने आइसोलेसनमा १० जनालाई राखिएको छ । होम क्वारेन्टाइन अन्तर्गत तीन हजार ४१७ छन् । प्रदेशका विभिन्न स्थानमा रहेका आइसोलेसनबाट २२ र क्वारेन्टाइनबाट ५५ जना घर फर्केका छन् ।

प्रदेशमा परीक्षण किट्स आएसँगै परीक्षणको दायरा व्यापक हुने मुख्यमन्त्री शेरधन राईले जनाउँदै आएका छन् ।

नपाको कोषमा ७९ लाख जम्मा

झापाको मेचीनगर नगरपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषमा हालसम्म ७९ लाख ६६ हजार सङ्कलन गरेको छ । नगरपालिकाका लेखा प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीका अनुसार ७९ लाख ६६ हजार ४ सय ३० रुपैयाँ कोषमा जम्मा भएको छ ।

चैत २७ गतेसम्म कोषबाट ४८ लाख ४९ हजार ७७७ कोभिड–१९ रोकथाम तथा नियन्त्रण उपचारमा खर्च भएको छ । कोषमा चालु आर्थिक वर्ष ०७६/७७ को वजेटबाट २० लाख, नगरपालिकाको अन्य शीर्षकबाट रकमान्तर गरिएको ३५ लाख, १ नं. प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट १० लाख आएको थियो ।

विभिन्न राजनीतिक दल, अन्य सामाजिक संघसंस्था र व्यक्तिबाट १४ लाख ६६ हजार ४३० नगद रकम कोषमा जम्मा भएको कार्कीले जानकारी दिए ।

उल्लङ्घन गर्ने कारबाहीमा
झापामा लकडाउन उल्लङ्घन गर्ने ३०८ जनालाई प्रहरीले कारबाही गरेको छ । जिल्लाका मुख्य सहरहरु धुलाबारी, काँकरभिट्टा, दमक, विर्तामोड, शनिश्चरे, झिलझिले, चन्द्रगढी लगायतका स्थानमा तीनदिनभित्रमा प्रहरीले ३०८ जनालाई कारबाही गरेको हो ।

लकडाउनको अवज्ञा गर्दै सडकमा अनावश्यक रुपमा निस्कनेलाई प्रहरीले तयार गरेको लकडाउन सेलमा दुई घण्टासम्म उभ्याएर कारबाही गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।रासस

Skip This
Skip This
Logo