कोभिड-१९ पछि मन भित्रका प्रश्नै प्रश्नहरु-१

कोभिड-१९ पछि मन भित्रका प्रश्नै प्रश्नहरु-१

केन्द्रबिन्दु
0
Shares

  • युवराज लामा

राष्ट्रिय प्रश्नहरु –
प्रश्न नं १
– कोरोनाको प्रभाव ३ महिना वा ६ महिना यसैगरी पर्यो भने देशले कसरी धान्छ ?

प्रश्न नं २
– कोरोनाबाट एकै पटक १० लाख मानिस संक्रमित भए भने हाम्रो स्वास्थ्य क्षेत्रले कसरी धेरै भन्दा धेरैलाई जोगाउँछ ?

प्रश्न नं ३
– विदेशमा रहेका नेपालीहरु मध्ये २० देखि २५ लाखले त्यहाँ छोडेर नेपाल आउनु पर्यो भने, त्यसको प्रभाव कहाँ–कहाँ र कसरी पर्छ ?

यी माथिका प्रश्नहरु धेरैलाई काल्पनिक लाग्न सक्छ । तर, इटाली, स्पेन वा अमेरिकालाई नियाल्ने हो भने अवस्था जस्तो पनि आउन सक्छ भन्ने हो । अब प्रश्नमाथि प्रश्न उठ्छ, यी सम्भावित खतराका लागि मुलुकको तयारी कस्तो हुनुपर्छ ? के यी प्रश्नहरुको जवाफ सम्बन्धित निकायले खोज्दैछ ?

यी तमाम सम्भावित जोखिमबाट जोगिन जवाफ खोज्ने काम सरकारको हो । तर, सरकारलाई पन्छाएर विज्ञहरुले ‘ट्वाल्ल परेर’ हेरेर बस्ने अवस्था छैन । दायित्व सरकारको भएपनि एजेण्डा तयार गर्ने, त्यसमाथि बहस सुरु गर्ने र कार्यान्वनका उपाय सुजाउने काम सम्बन्धित निकाय वा विज्ञहरुको पनि हो ।

संसार अहिले कोरोना भाइरस (कोभिड-१९) बाट कसरी जोगिने ? भन्ने ब्यवहारिक लडाईंमा छ । सँगसँगै आर्थिक पाटोलाई कसरी दुरुस्त बनाउने ? वा क्षति कम गर्न कस्ता–कस्ता उपाय अख्तियार गर्ने भन्ने पनि छ । यी दुई विषयको टकरावमा हुने सम्भावित खतरा कसरी टार्ने भनेर विज्ञहरु र सरकारवीच केही न केही छलफल भइ नै रहेका छन्, विश्वमा । तर, हाम्रो देशमा भने यस किसिमका छलफल र बहस भएको सुन्नमा आएको छैन । सरकार तथ्य र तथ्यांक विना नै घोषणा र निर्देशन दिन ब्यस्त छ । त्यसको तत्कालीन र दीर्घकालीन असरको लेखाजोखा पनि गरेको पाईंदैन ।

सरकारी निर्णयहरुमा प्रश्न
घर भाडा नलिन अनुरोध गर्याे, सरकारले । निजी विद्यालयलाई शुल्क नलिन पनि भनिसक्यो । बैंक ब्याज नलिनु भन्ने पनि आइसक्यो । तर, ती कुनैपनि ‘सेक्टर’ले सरकारको कुरा मान्ने लक्षण देखिएका छैनन् । किनभने सरकारले लहड र भावनामा बगेर बोल्यो, जसको बैज्ञानिक जवाफ ऊ सँग छैन । सरकारले माथि उल्लेखित विषयमा मिनाहा दिँदा पर्ने प्रभाव माथि गृहकार्य गरेको छैन । विज्ञहरुलाई सोधेको छैन । र, विज्ञहरुले पनि त्यसमाथि बहस गरेका छैनन् । निश्कर्ष निकालेका छैनन् । अथवा सरकार वा निजी क्षेत्र कसैसँग पनि जवाफ छैन ?

प्रधानमन्त्रीले सम्बोधनमा गौरवका साथ भने–‘३ हजार २ आइसोलेस बेड तयार गरिएको छ ।’ सरकारको नीति कति आइसोलेसन बेड तयार गर्ने हो ? यसको जवाफ उनले दिएनन् । तर चेतावनी दिए, ‘अबको दुई साता अझै कष्टकर हुन सक्छ ।’ दुई साता कस्तो किसिमको कष्कर अवस्था हुन्छ, र सरकारले त्यसका लागि कस्तो तयारी गरेको छ ? के ३ हजार आइसोलेसन बेडले धान्ने किसिमको कष्टमा सीमित हुनेछ, प्रधानमन्त्रीले भनेको सम्भावित अवस्था ? प्रधानमन्त्रीका कुरा किन अपुरो र अधुरो थिए भने उनी विज्ञसँग छैनन् । के प्रधानमन्त्रीलाई विज्ञ मन पर्दैन ?

महामारीले यतिबेला यूरोप र अमेरिकालाई नमज्जाले गाँजेको छ । र, उनीहरु आत्तिएका पनि छन् । उनीहरुसँग ‘डाटा’ छ । त्यसकारण आत्तिएका हुन् । हाम्रो सरकारसँग ‘डाटा’ वा कुनैपनि किसिमको आंकलन छैन । त्यसकारण सरकार ढुक्क छ ?

राष्ट्रिय एकतामा समेत प्रश्न
कोभिड-१९ को जोखिम बढ्दै जाँदा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय एकता हुन पक्कै जरुरी छ । तर, ब्यवहारमा त्यस्तो देखिएको छैन । अन्तर्राष्ट्रियमा भिन्न खाले राजनीति हाबी भइरहेको छ । विश्व स्वास्थ्य संगठनले राजनीति नगर्न सुझाएको छ । कोही अघि बढ्ला वा आफू पछि परुँला भने जस्ता प्रतिपस्र्धा देखिएका छन् । राजनैतिक प्रतिस्पर्धा ।

मुलुकभित्र पनि यही अवस्था छ । लकडाउन भएको १५ दिनपछि मात्र प्रमुख प्रतिपक्षीले विज्ञप्ती निकाल्छ । के यही थियो प्रतिपक्षले एकता जाहेर गर्ने सही समय ? के राष्ट्रिय एकताको संदेश भनेको यही हो ?

सत्तारुढ दलमा दुई अध्यक्ष छन् । उनीहरुबीच शितयुद्ध छ भनिन्छ । सरकार र पार्टीको समन्वय देखिंदैन । सरकारमा बसेकाहरु अहिलेको बिपत्तिबाट जोगाउनेभन्दा आफ्ना धन्दामा क्रियाशील भएको समाचार सार्वजनिक हुन्छन् । र, उनीहरुलाई सुधार्न सरकार प्रमुखको चासो देखिंदैन । सत्तारुढ दल यो सवाल उठाउन हिम्मत नै गर्दैन । के यस्तो ब्यवहारले गर्छ महामारीको तयारी ?

अन्तर्राष्ट्रिय प्रश्नहरु
– कोरोना भाइरसको जन्म कसरी भयो ? के कारणले भयो ? र, यसको उच्च जोखिमबाट विश्वलाई कसरी जोगाई राख्ने ?

– भाइरस विरुद्धमा भ्याक्सिन पत्ता लगाएको कुरा चाइनिज, इन्डियन र अमेरिकी चिकित्सकहरुले बताईरहेका छन् । तिनीहरुको कुरामा एक अर्काले नै शंका समेत जाहेर गर्दै आएका छन् । खासमा उनीहरुको चक्कर के हो ?

– हामीले आजसम्म कुनैपनि देशलाई विकशित, धनी वा सम्पन्न मानेको मापन सही छ ? किनभने पद र पैसाले मानिसको जीवन रक्षा गर्न सकेन । जति सम्पन्न भनेर मानिएका देश छन्, त्यहाँ नै कोभिड १९ को खतरा बढी छ । उनीहरुको मृत्युदर बढी छ । यसको कारण के–के हो ?

– मानिसको ‘इम्युनिटी पावर’का कारण कोरोनाले चाप्ने र छोड्ने गर्छ भन्ने कुरामा संसारका चिकित्सकहरु एक मत छन् । के अब हाम्रो जीवन पद्धति माथि बहस हुन जरुरी भएको हो ?

– कोभिड-१९ ले विश्वलाई ६ महिना गाँज्यो भने त्यसको असर क्षेत्र कुन–कुन हुन् ? र, त्यसको प्रभाव कस्तो पर्छ ?

कोरोना आतंकपछि धेरै प्रश्नहरु रसतल्ल छन् । तर, जवाफ कतैबाट आउन सुरु भएको छैन । आम मानिस अवाक बनेका छन् । जवाफ दिन सक्नेहरु पनि मौन छन् । छलफल र वहस गर्ने कार्यमा कोही पनि अग्रसर देखिंदैनन्, अन्तर्राष्ट्रमा भन्दा राष्ट्रमा बढी ।

अन्तिम प्रश्न छ, – कोरोना भाइरसबाट मुक्तिपाएपछि विश्व कसरी अघि बढ्छ ?

(खेलकुद, चलचित्र, समाज, पर्यटन र विश्व राजनीतिका सम्बन्धमा अध्ययन–अनुसन्धानमा रुची राख्ने लेखक लामासँगको कुराकानीमा आधारित)

Skip This
Skip This
Logo