काठमाडौं ।
काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ६५९ महिलासहित दुई हजार ६८५ जनालाई बुधबार कारवाही गरिएको छ । सोही क्रममा २९७ दुई पाङ्ग्रे र २४ चार पाङ्ग्रे गरी ३२१ सवारी साधनलाई पनि नियन्त्रणमा लिएर चालकलाई कारवाही गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट सबैभन्दा बढी दुई हजार १५७ जनालाई नियन्त्रणमा लिइएको थियो ।
यसैगरी ललितपुरबाट ४८० र भक्तपुरबाट ४८ जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको थियो । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले चैत ११ गतेदेखि लागू हुनेगरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेको थियो ।
उक्त आदेश उल्लङ्घन गर्नेलाई तीन घण्टा कोरोनाका बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाका लागि गरिएको नभएर सम्पूर्णको सुरक्षाका लागि भएकाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन पनि प्रहरीले सबैलाई अनुरोध गरेको छ ।
यसैवीच विहिबार विहानै लकडाउन उल्लंघन गर्ने करिव ८ सयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस





























प्रतिक्रिया