काठमाडौं ।
नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले घोषणा गरेको लकडाउन आज १६ औं दिन पनि जारी रहेको छ ।
चैत ११ गते बिहान ६ बजेबाट लागू हुनेगरी एक हप्ताका लागि घोषणा गरिएको लकडाउनको अवधि सरकारले तेस्रोपटक थप गरेर आगामी वर्षको वैशाख ३ गतेसम्म जारी रहने निर्णय गरेको छ । विश्वभरी फैलिएको कोरोना महामारीको संक्रमण नेपालमा देखिएपछि जारी गरिएको लकडाउन पछि उपत्यका सुनसान बनेको छ ।
मुख्यगरी काठमाडौं उपत्यकाका भिडभाड हुने बजारहरु बन्द रहेका छन् । असन बजार, न्यूरोड, ठमेल लगायतका मुख्य भिडभाड हुने बजारहरु बन्द रहेका छन् । यसैगरी बसपार्कहरु समेत सुनसान देखिएका छन् । बजार मात्रै होइन मन्दिरहरु समेत बन्द रहेका छन् । सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । चोक चोकमा सुरक्षाकर्मी खटिएका छन् । लकडाउनमा कडाई गरिएपनि तरकारी पसल र खाद्य पसलहरुमा अनावश्यक भिड हुने गरेको पाइन्छ । लकडाउन उल्लंघन गर्दै सडकमा जथाभावि हिड्नेहरुको संख्या बढेपछि प्रहरीले केही समय ‘होल्ड’ गरेर राख्ने नीति लिएको थियो । पछिल्लो समय प्रहरीले माइकिङ गरेर जनचेतना फैलाइरहेका छन् । प्रहरीले लकडाउनको उल्लंघन गर्नेहरुको संख्या बढेपछि अझ कडा कारवाहीको नीति लिएको छ ।
अत्याश्वयक सवारीहरु (एम्बुलेन्स, सुरक्षाकर्मी, पानी बोक्ने ट्याङ्कर, खाद्यान्न ढुवानी गर्ने सवारी र सञ्चार माध्यमका सवारी) बाहेक चलेका छैनन् । उपत्यका सुनसान देखिएको छ । साँझपख तरकारी पसल र केही खाद्यपसल खुल्ने गरेका छन् ।
लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खानेहरुलाई भने समस्या भएको छ । सरकारले स्थानीय तहहरुसँग समन्वय गरेर राहत विरतण भइरहेको बताएपनि उनीहरु सन्तुष्ट छैनन् ।
नेपालमा दोस्रो कोरोना संक्रमित देखिएपछि चैत १८ गतेसम्मका लागि पहिलो पटक लकडाउन घोषणा गरिएको थियो । सो अवधिमा अरु व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएपछि सरकारले लकडाउन थप गरेको छ ।
सरकारले दोस्रोपटक २५ गतेसम्मका लागि समय थप गरिएको थियो । संक्रमितको संख्या बढ्दै गएपछि सरकारले तेस्रो पटक गत सोमबार बैशाख ३ गतेसम्म लकडाउनको अवधि थपेको थियो । सरकारले अन्तर्राष्ट्रिय सीमानाका र हवाई उडान समेत बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएको छ । एकजना उपचारपछि निको घएर घर फर्किएका छन् भने ८ जनाको उपचार भइरहेको छ । अहिलेसम्म २ हजार १ सय २२ जनामा परीक्षण गरिएको छ । १ सय जना आइसोलेसनमा छन् ।































प्रतिक्रिया