उपेन्द्र यादव र मूख्यमन्त्री मो.लालबाबुका कारण प्रदेश दुई कोरोनाको संकटमा !

उपेन्द्र यादव र मूख्यमन्त्री मो.लालबाबुका कारण प्रदेश दुई कोरोनाको संकटमा !

केन्द्रबिन्दु
0
Shares

  • किशोर विश्वास-

मुलुकभित्र कोरोना भाइरसको जोखिम बढेपछि राष्ट्रको नाममा प्रधानमन्त्रीले दुईवटा सम्बोधन गरे । २५ चैतको दोस्रो सम्बोधन क्रममा उनले एउटा विषयमा चिन्ता ब्यक्त गरे । प्रधानमन्त्रीलाई चिन्तित बनाउने विषय थियो, ‘हजारौंको संख्यामा नेपालीहरु घर फर्किएका छन् । उहाँहरु मध्ये कतिपयले क्वारेन्टाइनमा बस्न ध्यान नदिएकोमा चिन्ता थपिएको छ’– उनको सम्बोधनमा उल्लेख छ ।

कुन देशबाट आएका नेपालीले क्वारेन्टाइनमा बस्न इन्कार गरिरहेका छन् ? र, आजका मितिमा ती कुन क्षेत्रमा बस्छन् ? यी प्रश्नको जवाफ त प्रधानमन्त्रीले बोलेनन् । तर, उनले गरेको संकेत अनुसार खास गरेर दुई नं प्रदेशमा भारत तथा खाडी लगायतका देशबाट लुसुक्क छिरेकाहरुलाई उनले सम्बोधन गर्न खोजेको बुझिन्छ । किनभने दुई नं प्रदेशमा ठूलो संख्यामा विदेशबाट भित्रिएको रिपोर्ट सरकारलाई प्राप्त भएको छ । र, आज पनि आवत–जावत रोकिएको छैन । यसको पछाडि केही कारण र तथ्यहरु लुकेका छन् ।

प्रदेश दुईका केहीले गर्व गर्ने एउटा विषय हो, ‘भारतसँग हाम्रो रोटी–बेटीको सम्बन्ध छ ।’ तर आज त्यही रोटी–बेटीको सम्बन्ध हामीलाई भारी पर्न थालेको छ । अहिलेपनि उनीहरु छोरा–ज्वाईं वा छोरी–बुहारी (ससुराली र माइती) को रुपमा नेपाल–भारत आउने–जाने गरिरहेका छन् । सरकारले ढाट तेर्स्याएका ठाऊँबाट होइन, जुन सुकै सिमानाबाट आउने–जाने छुटमा छन् उनीहरु ।

वर्तमानमा रोटी–बेटीको भन्दा अझ खतरनाक सम्बन्ध बनेको छ, भारतको दिल्लीस्थित निजामुद्धीन मर्कसमा आयोजित तबलीगी जमातीको कार्यक्रम । यस कार्यक्रममा सहभागी मध्ये हजारभन्दा बढी भारतीयहरुलाई कोरोना भाइरसले पकडी सकेको छ । र, त्यही सभामा सहभागी भएर फर्किएका दर्जनौं जमातीहरु नेपाल आएर बेपत्ता बनेका छन् । यिनीहरु कहाँ लुकेर बसेका छन् ? प्रधानमन्त्रीको सम्बोधनमा यस जमातप्रति पनि गहिरो संकेत थियो ।

बीबीसीका अनुसार सोही तबलीगी जमातीसँग दिल्ली पुगेर फर्किदै गरेका एक नेपालीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई उत्तरप्रदेशको बागपतमा रहेको एक अस्पतालमा राखियो । तर, उनी अस्पतालको झ्याल फुटाएर लापत्ता भए । सुनसरी नसिंह भोक्राहा गाउँपालिकाका ६५ बर्षे मो.सफिद मिया संक्रमित फेला परेको र उनको पुनः उपचार सुरु भएको बागपत प्रहरीले जनाएको छ । त्यसैगरी सोही मर्कसमा सहभागी नेपालको पर्सा जिल्लाका एकजना कोरोना भाइरसका कारण हरियाणामा मरेको समाचारलाई पनि भारतीय सरकारले पुष्टि गरेको छ ।

भारतीय सरकार उक्त मर्कसमा आयोजित मुस्लिम ‘इस्तिमा’मा भागलिनेहरु प्रति गम्भीर छ । किनपनि भने त्यो ‘इस्तिमा’ हुँदा भारत सरकारले भेला हुन निषेध गरिसकेको थियो । र, अर्को पक्ष त्यहाँ भाग लिनेहरुमा भटाभट ‘कोरोना पोजेटिभ’ देखिन थाल्यो र त्यो क्रम अझै छ । दुःखको कुरो के छ भने, सोही सभाबाट नेपाल छिरेकाहरुप्रति भने संघीय सरकार र १ र २ का प्रदेश सरकार बेखवर जस्तै छ । केहीलाई पक्रिएर क्वारेनटाइनमा राखिएपनि ठूलो संख्यामा भागेर वा लुकेर बस्न सफल छन् उनीहरु । प्रदेश २ र १ लाई वर्तमानमा सबैभन्दा खतरा र चुनौती त्यहीँबाट भागेर आउनेहरुसँग छ ।

दिल्लीको इस्लामिक सभाबाट भागेर आएकाहरु कहाँ छन् ?
भारतको राजधानी नयाँ दिल्लीको निजामुद्धिन मर्कसमा लकडाउनपछि (गत चैत १० देखि) एउटा ठूलो इस्लामिक सभाको आयोजना गरियो । उक्त मर्कसमा ७ हजार कट्टरपन्थी मौलानाहरुको उपस्थिति रहेको थियो । दुर्भाग्य त के भयो भने भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्याको ३० प्रतिशत रोगी त्यही मर्कसमा सहभागी जमातीमा देखियो । र, त्यो जमात अहिले भारतभरि फैलिसकेको छ । र, भारतीय सरकारले त्यस सभाका आयोजकहरुलाई ‘वारेन्ट’ जारी गरेको छ, पक्राउ गर्न । किनभने उनीहरुले सरकारको आदेश उल्लंघन गरेर ‘इस्तिमा’ गरेका थिए ।

भारतमा ‘वारेन्ट’ जारी भएपछि त्यो जमाती भागेर नेपाल पस्दै आएको छ । सरकारले केहीलाई त पक्राउ गरेको जनाएको छ । तर, दर्जनौंको संख्यामा उनीहरु फरार रहेका छन् । स्थानीय स्रोतका अनुसार उनीहरुलाई समाजवादी र राजपाको संयुक्त सरकार, २ नं. प्रदेशका मूख्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष मो.लालबाबु राउत गद्धी र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको संरक्षणमा त्यो जमाती लापत्ता हुन सफल छ । सोही स्रोतका अनुसार त्यो जमाती मोरङदेखि पर्सासम्मका मस्जित र मदर्शालाई सेल्टर बनाएर बसेको छ । र, यो जमातको संख्या ५ सयभन्दा बढी रहेको वताइन्छ ।

थप बिडम्बना त के छ भने त्यस जमातका मानिसहरु हिजोआज पनि नेपाल पसिरहेका छन् । १८ सय ५० किलोमिटर सीमाक्षेत्र खुला हुनु, नेपालमा राजनैतिक संरक्षण पाइनु र लुक्नका लागि सजिलै सेल्टर भेटिने हुनाले उनीहरु भारतमा भइरहेको कडाई सहन नसकेर नेपाल भित्रिरहेका हुन् ।

उपेन्द्र यादव र लालबाबुको रबैया किन उल्टो दिशा ?
वर्तमान ओली सरकारबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव गलत्तिएका थिए (गलत्तिने बेलामा कानुनमन्त्री) । त्यसकारण पनि उनी ओली सरकारलाई भेटेका जति सबै ‘एंगल’बाट आक्रमण गर्न चाहान्छन् । उनी निकट स्रोतका अनुसार ‘भूमिगत बसेर सरकारलाई क्षेप्यास्त्र प्रयोग गर्ने’ उपेन्द्रको नयाँ रणनीति हो । यही रणनीति अनुसार उनी भाइरस फैलाएर सरकार विफल भएको हेर्न चाहान्छन् । उनको ‘इगो’लाई नजिकबाट बुझ्नेहरु भन्छन्, ‘जसरी भएपनि ओली सरकारलाई बदनाम गर्न खोज्ने हो, यादवजीले ।’ यही कारण उनी कोरोना भाइरसको महामारीको आगो सल्काएर जिउ सेक्ने कोशिस गर्दैछन् । त्यसकारण इस्लामिक जमातीलाई मस्जित र मदर्शामा लुकाउने र संरक्षणको नीति मूख्यमन्त्री मो. लालबाबु राउतसँग मिलेर बनाउने काम उनै यादवले गर्दै आएका छन् ।

मो. लालबाबु राउतको त जमातीका मानिस लुकाउने कार्य धर्मभित्रैको विषय हो । उनी न्वारानदेखिको बल लगाएर धर्म र आफ्ना अध्यक्ष यादवको निर्देशन पालना गरिरहेका छन् । अर्को बिडम्बना चाहिँ के छ भने २ नं प्रदेश सरकारको इस्लामिक जमाती लुकाउने नीतिलाई अर्को सत्ता साझेदार दल राजपाले समेत साथ दिएको छ ।

यसअघि के गरेका थिए, उपेन्द्र र लालबाबुले ?
गत फागुन ३ देखि ५ गतेसम्म सप्तरीको बोदे बर्साइन नगरपालिकाको जाँजरस्थित खड्ग नदी किनारामा अन्तर्राष्ट्रिय इस्लामिक सम्मेलन ‘इस्तिमा’आयोजना गरिएको थियो । उक्त भेलामा नेपाल र भारतका मात्र होइन पाकिस्तान, बंगलादेश, अफगानस्तान, श्रीलंका, मलेसिया, इन्डोनेशिया लगायत १५ देशका मौलानाहरु उपस्थित थिए । मुस्लिम समुदाय भित्रको पनि सुन्नी समुदाय सम्बन्धित तबलीगी जमाती थियो त्यो । उनीहरु संसारमा नै कट्टरपन्थी मुस्लिम भनेर चिनिन्छन् । र, त्यस भेलामा उक्त जमातका विश्व अध्यक्ष हजरत मौलान साद साहेबको प्रमुख अतिथिको रुपमा उपस्थिति रहेको थियो । उनीहरुको संगठन विश्वका १ सय ९४ देशमा फैलिसकेको छ । सप्तरी  उपेन्द्र यादवको चुनावी जिल्ला हो ।

मुस्लिम कट्टरपन्थीहरुको सो सम्मेलनलाई सुरुमा गृहमन्त्रालयले भारतबाहेक अन्य देशका नागरिक अबैधरुपमा सप्तरी आएको भन्दै रोकेको थियो । तर, पछि बालुवाटारबाट प्रधानमन्त्रीको निर्देशनमा सम्मेलन सुचारु गरिएको थियो । प्रधानमन्त्रीलाई दवाव दिएर सभा सुरु गराउनमा मुस्लिम आयोगका समिम अन्सारी र मूख्यमन्त्री मो.लालबाबु राउत सफल भएका थिए । उक्त सम्मेलनको संयोजक थिए, मो.गफुर मिया ।

स्मरणिय के थियो भने त्यसबेलासम्ममा चाइनामा कोरोनाको प्रभाव तिब्र हुँदै कोरिया लगायत इटाली छिरिसकेको थियो । र, त्यहीबेला १५ देशका मुस्लिम समुदायका मानिसहरु नेपालमा सम्मेलन गरिरहेका थिए । यिनै कट्टरपन्थी धार्मिक ब्यक्तिहरु केही समयपछि दिल्ली मर्कस पुगेका थिए । दिल्ली मर्कसबाट भागेर नेपाल भित्रने जग सप्तरीको त्यही सम्मेलनले तयार गरेको थियो ।

निश्कर्ष
माथि उल्लेखित यिनै कारणहरुले कोरोनाको अबको जोखिम प्रदेश नं २ र १ मा रहेको छ । र, सबैभन्दा धेरै तबलीगी जमातीहरुबाट जोखिम चुलिएको छ । त्यसकारण ‘मास इस्क्रिनिङ’ र ‘टेष्टिङ’ गर्ने कार्यलाई द्रुत बनाउन सक्नु पर्छ । प्रदेश सरकारले स्वास्थ्य जाँचको कुरामा गम्भीरता देखाएको छैन । यसका बाबजुद पनि प्रधानमन्त्रीले चिन्ता गर्ने होइन, पूर्वको काँकडभिट्टा र केचनादेखि सुदुरपश्चिमको गौरीफन्टासम्मका नाकालाई ‘सिल्ड’ गर्न सक्नुपर्छ । ‘सिल्ड’ गर्न नसके अत्यन्तै कडा बनाउन त सक्नै पर्छ । र, तराईको मोरङदेखि पर्साहुँदै काठमाडौं र गोर्खासम्मका मदर्शा र मस्जिदमा लुकेर बसेकाहरुलाई निकालेर बेलैमा क्वारेन्टाइनमा राख्नु पर्छ । गृहमन्त्रालय, गृह प्रशासन, सुरक्षाका सबै निकायहरु कडाइका साथ लाग्न ढिलो गर्नु हुन्न । र, सबैको सक्रियतामा भुसको आगो तत्काल निभाउनु पर्छ । खलनायकहरुको पर्दाफास गरेर मुलुक जोगाउनु पर्छ ।

(लेखक विश्वास राजनीतिज्ञ हुन् ।)

Logo