काठमाडौँ महानगरद्वारा असहाय र दैनिक ज्यालादारी गर्नेलाई राहत वितरण

काठमाडौँ महानगरद्वारा असहाय र दैनिक ज्यालादारी गर्नेलाई राहत वितरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र वसोवास गर्दै आएका असहाय, अतिविपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरुको पहिचान गरी १० हजार ५ सय जनालाई राहत उपलब्ध गराएको छ ।

कोरोना भाइरस रोकथाम तथा संक्रमण फैलिन नदिनको लागि सरकारले १३ दिनदेखि लकडाउन लगाएको छ । यसले गर्दा अतिविपन्न, असाहय र दैनिक ज्वालादारि गरेर खाने वर्गको विचल्लि हुने भएको भन्दै महानगरले केही दिन अघि मात्रै कोरोना भाइरस सम्वन्धि राहतवितरण मापदण्ड–०७६ पारित गरि वितरण र लगत संकलन कार्यलाई तिव्रता दिएको थियो । शनिबारसम्म महानगरले ३२ वटै वडाबाट सङकलन गरेको २२ हजार ६ सय ४२ तथ्याङ्क मध्ये आइतबार १० हजार ५ सय २३ जनालाई राहत वितरण गरेको छ ।

‘शनिवार नै ३२ वटै वडाले उपलब्ध गराएको तथ्याङ्क विवरण संकलन गर्ने काम सम्पन्न गरिएको छ,’ प्रशासन विभाग प्रमुख नमराज ढकालले भने, ‘अभिभावक नभएका, आफ्नो आयश्रोत नभएका अरुको सहयोगमा बस्ने, आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिकी गुजार गर्न धौ–धौ भएका र सम्वन्धित वडाले अतिविपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई महानगरले राहत दिने मापदण्ड बनाएका छौँ ।’

संगठित संस्थामा काम गर्ने बाहेक काठमाडौँ महानगरमा विगतदेखि दैनिक रुपमा ज्यालामजदुरी गर्दै आएका, भरिया लगायत पनि मापदण्ड भित्र परेको उनको भनाइ छ। महानगर प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले विवरण संकलनका लागि एकै प्रकारको फारम ३२ वटै वडालाई वितरण गरेको थियो । त्यसैका आधारमा विवरण संकलनको कामलाई तिव्रता दिएको उन बताए ।

महानगरभित्र कुन वडामा कति राहत वितरण

३२ वटै वडाहरुले क्वारेन्टाइन निर्माणको कामलाई पनि तिव्रता दिएका छन् । वडा नम्बर–४ का वडाध्यक्ष मोहन विष्टले बागमती कलेज सुकेधारालाई २७ शैयाको क्वारेन्टाइन बनाएको जानकारी दिए । उक्त वडाले करीब २ हजारलाई राहत वितरण गर्ने योजना बनाएको छ । विष्टका अनुसार आइतबार मात्रै ५ सय ३७ जनाले राहत प्राप्त गरेका छन् । उक्त वडाले ६ स्थानबाट राहत वितरण गर्दै आएको छ ।

त्यस्तै ,वडा नं. १० ले पनि एक हजार बढीलाई राहत वितरण गरेको जानकारी दिएको छ । वडा नं. १८ ले १२ सय भन्दा बढीलाई वितरण गरेको तथा वडा नं. २७ ले पनि समस्यामा परेका करीब ७ सयलाई खाना खुवाउने काम गरेको छ ।

त्यसैगरी वडा नं. ५ ले ९ सय बढी र वडा नं. ११ ले ६ सय बढीलाई राहत वितरण गरेको छ । वडा नं. १४ ले पनि ७ सय बढीलाई राहत वितरण गरेको छ । यता वडा नं. ३१ ओम बाडेश्वर मन्दिरबाट आसपासका १ सय १५ परिवारलाई तथा इन्द्रधनुष स्कूल र भ्याली भ्यू स्कुलबाट १ सय १९ परिवारलाई राहत दिएको छ । त्यस्तै आलोकनगरमा ३० परिवार र देउराली क्लवबाट ५० परिवारलाई पनि राहत दिइएको वडा सचिव सुरेश साहुले जानकारी दिए ।

वडा नं. १३ को राहत वितरण कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्य अनुगमनका लागि गएका थिए । संघीय संसद, जीवनराम श्रेष्ठ, प्रदेश सभा सदस्य राजेश शाक्य, जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य र वडाध्यक्ष ध्रुवनारायण मानन्धर पनि राहत वितरण कार्यक्रममा सहभागी भएका थिए ।

यो वडा कालीमाटी तरकारी बजार भएको क्षेत्र हो । सो वडामा एकै दिन २ सय ५० बढीले राहत लिएका थिए । महानगर प्रवक्ता ईश्वरमान डंगोलको वडा नं.१५ ले पनि आइतबारसम्म ६ सयलाई राहत वितरण गरेको छ । प्रवक्ता डंगोलले करीब १३ सयको बिवरण संकलन गरेको जानकारी दिए ।

यस्तै वडा नं. २१ ले पनि आइतबार ११० जनालाई वडा कार्यालयबाटै राहत वितरण गरेको वडाध्यक्ष उदयचुडामणि बज्राजार्यले जानकारी दिए । सो वडाले शनिबारसम्म २१० जनाको विवरण संकलन गरेको छ । त्यसैगरी वडा नं. १६ ले पनि शनिबारसम्म ३ हजार २ सयको विवरण संकलन गरेको छ भने ४८६ लाई राहत वितरण गरेको छ ।

वडा नं.२६ मा पनि राहत माग गर्दै विवरण बुझाउनेको संख्या १ हजार ५२० पुगेको वडाध्यक्ष ख्याम तिवारीले जानकारी दिए। काठमाडौं बाहिर चल्ने लामो दुरीका गाडी यही वडामा भएको बसपार्कबाट छुट्ने भएकाले महानगरकै धेरै आवागमन हुने यस वडामा असंगठित क्षेत्रका श्रमिकको संख्या पनि उत्तिकै रहेको उनको भनाइ छ ।

उनका अनुसार यो वडामा राहत वितरणको पहिलो दिनमै २९७ जनालाई गरि आजसम्म ५६० जनालाई राहत वितरण गरिएको छ भने अन्य वडाले पनि राहत वितरणको कार्यक्रमलाई तिव्रता दिइरहेका छन् ।

Logo