कोरोना सल्किन्छ भन्दै डायलाइसिस गराइरहेका मिर्गौला रोगीलाई घरबेटीले निकाले

कोरोना सल्किन्छ भन्दै डायलाइसिस गराइरहेका मिर्गौला रोगीलाई घरबेटीले निकाले

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना सल्किन्छ भन्दै काठमाडौं थानकोटका एक घरबेटीले डेरामा बस्दै आएका मिर्गौला रोगीलाई घरबाट निकालेकी छिन् । नियमित डायलाइसिस गर्नुपर्ने तनहुँका ४६ वर्षीय बुद्धिराज गुरुङलाई गत शुक्रबार घरबेटी शशी थमालले कोठाबाट निकालेकी हुन् ।

अस्पताल जाँदा–आउँदा कोरोना सल्किने भन्दै डेरा छाड्न बाध्य पारेको पीडित गुरुङले बताए । ‘सातामा दुईपटक नियमित डायलाइसिस नगरे ज्यानै तलमाथि हुन्छ, तर घरबेटीले अस्पताल नजानू, नत्र घर छाड्नू भनेर मानसिक तनाव दिनुभयो,’ गुरुङले भने, ‘डायलाइसिसका लागि डेरा छाड्नुपर्‍यो ।’

शशीको घरमा गुरुङका सालीका परिवार बस्थे । एक वर्षदेखि उनी सालीकै परिवारसँग बसेर धापाखेलस्थित सुमेरु सिटी अस्पतालमा डायलाइसिस गराउँदै आए । तनहुँमै घरपायक पारेर डायलाइसिस गराउने प्रयास असफल भएपछि बाध्यताले उनी सालीको परिवारको शरणमा आइपुगेका थिए । गाडी बन्द हुँदा गुरुङलाई साढुले नै स्कुटीमा राखेर अस्पताल लैजाने ल्याउने गर्थे । तर, घरबेटीले साली र साढुलाई नै धम्क्याएपछि आफू कोठा छाडेर निस्किन बाध्य भएको गुरुङले बताए ।

‘सुरुमा सालीलाई कराएको सुनेँ, मन कटक्क खायो । जसको शरणमा म बस्दै आएँ, उनीहरूलाई मेरै कारण दुःख दिन हुन्न भन्ने लाग्न थाल्यो । पछि मलाई पनि सीधै कराउन थाले, अनि डेरा छाडेर निस्किएँ,’ उनले भने, ‘लकडाउन अघि श्रीमती पनि आएकी थिइन् । दुई साता बसेपछि तनहुँ पठाइदिएँ । तीनजना बच्चा छन्, उनीहरूको रेखदेख पनि गर्नैपर्‍यो । तर, लगत्तै मै माथि यत्रो आपत् आइलाग्यो ।’
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo