काठमाडौं ।
मुलुकको कुल गार्हस्थ्य उत्पादन चालु आवमा ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण गरिएको छ । उच्च कृषि उत्पादन, पर्यटक आगमन, विप्रेषण आप्रवाहमा भएको बढोत्तरी तथा निजी क्षेत्रबाट भएको लगानी वृद्धिले अघिल्लो वर्ष ७.१ प्रतिशतको हाराहारीमा रहेको थियो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण चैत २५ गतेसम्म देशभर गरिएको लकडाउन, उत्पादन, सेवा क्षेत्र र विप्रेषण आप्रवाहमा ह्रास भई आर्थिक वृद्धि घट्ने प्रक्षेपण गरिएको हो ।
एशियाली विकास बैंक (एडिबी) ले मनिलामा आज सार्वजनिक गरेको ‘एशियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को महामारीका कारण उत्पादन र आपूर्ति शृङ्खलामा आउने अवरोधले चालु आर्थिक वर्षमा वार्षिक औसत मुद्रास्फीति ६.० प्रतिशत वृद्धि हुनेछ । चालु आवको सात महिनामा खाद्य तथा ऊर्जाजस्ता वस्तुको उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको ४.२ प्रतिशतको तुलनामा बढेर औसतमा ६.५ प्रतिशत पुगेको छ ।
गत माघको अन्त्यतिर सागसब्जी, मसला र मदिराजन्य पेय पदार्थसहित खाद्य वस्तुको मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले बढेको, कोभिड–१९ का कारण अस्थायी रुपमा गरिएको सीमा बन्दले खाद्यान्नको मूल्य बढाएको, महामारीका कारण स्थिति जटिल बनेमा मुद्रास्फीतिमा थप वृद्धि हुनेछ ।
आव २०७६/७७ को पहिला सात महिनामा वस्तु व्यापार घाटा अघिल्लो वर्षको १५ प्रतिशतको विस्तारको तुलनामा ४.९ प्रतिशतले घटेको छ । कोभिड–१९ चाँडै समाप्त हुने, यसपछिका आर्थिक गतिविधि निर्वाध सञ्चालन हुने र मनसुन सामान्य रहने अनुमानका आधारमा एडिबीले आगामी आवमा नेपालको कुल गार्हस्थ उत्पादन ६.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडिबीले आव २०७७/७८ मा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पुरा हुने र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आउने अपेक्षा गरेको छ ।
आव ०७७/७८ मा औसत वार्षिक मुद्रास्फीति ५.५ प्रतिशत रहने अनुमान गरिएको छ । नेपालका लागि एडिबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभ कोभिड–१९ महामारीको विश्वव्यापी विस्तार र त्यसको सङ्क्रमण नियन्त्रणका लागि आवश्यक देशव्यापी बन्दले अर्थतन्त्रमा नकारात्मक असर पार्ने बताउँछन् ।





























प्रतिक्रिया