धनगढी ।
सुदूरपश्चिम प्रदेशमा भारतसहित तेस्रो मुलुकबाट आएका एक हजार बढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौ जिल्लाका एक हजार ७०७ जनालाई क्वारेन्टाइनमा राखिएको हो । कोभिड–१९ रोकथामका लागि प्रदेशका दुई प्रादेशिक अस्पताल, सात जिल्ला अस्पतालसहित स्थानीय तह र नेपाली सेनाले स्थापना गरेको तीन हजार ९७३ शैयाको क्वारेन्टाइन स्थापना गरिएको छ । निर्देशनालयले दिएको जानकारी अनुसार कैलालीमा एक हजार २० शैयाको क्वारेन्टाइन स्थापना गरिएको छ । जसमा अहिले ३३७ जनालाई राखिएको छ ।
यस्तै कञ्चनपुरमा ३०१ शैया स्थापना भएकामा ३४, डडेल्धुरामा ४६१ शैयामा ३९, डोटीमा ५१७ शैयामा ३९८, अछाममा १७१ शैयामा ६५ जना राखिएको जनाइएको छ । यस्तै बाजुरामा ४७० श्ययामध्ये ५८, दार्चुलामा ३३१ शैयामध्ये १६८, बैतडीमा ७०२ शैयामा ३१० र बझाङमा २९८ जनालाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।
यस्तै प्रदेशमा २४९ शैयाको आइसोलेसन स्थापना गरिएको छ । कोरोना सङ्क्रमणको आशङ्कामा ४३ लाई भर्ना गरिएकामा ३२ डिस्चार्ज भइसकेको जनाइएको छ । प्रदेशमा हालसम्म शङ्कास्पद ४७ बिरामीको स्वाब सङ्कलन गरिएको छ । सङ्कलन गरिएको ४७ नमूनामध्ये ३१ को रिपोर्ट आइसकेको जनाइएको छ । ३१ रिपोर्टमध्ये एक जनामा कोरोना सङ्क्रमण देखिएको थियो भने अन्य ३० मा नेगेटिभ देखिएको छ ।रासस





























प्रतिक्रिया