काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसद् विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन् ।
राप्रपा गोरखाले साेमबार गोरखा सदरमुकाममा आयोजना गरेको २९९ औँ पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसमा भाग लिन पुगेका उनले पत्रकारसँग कुराकानी गर्दै संसद् विघटन भइसकेकाले राजनीतिक सङ्कट समाधानका लागि ताजा जनादेश नै अहिलेको सबैभन्दा उपयुक्त विकल्प भएको बताएका हुन् ।
‘‘राजनीतिक दृष्टिकोणका हिसाबले वर्तमान राजनीतिक समस्या समाधान, भ्रष्टाचार र धर्म परिवर्तन जस्ता समस्याको समाधानका लागि पनि निर्वाचनमा जानु उपयुक्त हुन्छ”, उनले भने, “राप्रपाको राजनीतिक दृष्टिकोण र आधिकारिक धारणा पनि यही हो ।” अध्यक्ष थापाले संसद् विघटनपछि अहिले सडकमा पक्ष विपक्षमा भइरहेको विरोधको कार्यक्रम उपयुक्त नभएको बताए।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट संसद् विघटनको भइसकेपछि अहिले देशमा संवैधानिक जटिलता थपिएको बताए । अध्यक्ष थापाले संविधानमा देखिएको अस्पष्टताको व्याख्या गर्ने अधिकार अब सर्वोच्च अदालतलाई भएको उल्लेख गरे।
“संसद् विघटनले नेपालको संविधानमा रहेका विवाद र अस्पष्टतालाई उजागर गरेको छ”, अध्यक्ष थापाले भने, “अब यसको निरुपण गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई मात्र छ ।” पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले सर्वोच्च अदालतमा पुगेको मुद्दामा सडकमा पक्ष र विपक्षमा विरोध कार्यक्रम गरेर मुद्दालाई प्रभावित पार्ने काम भइरहेको भन्दै कोही कसैबाट पनि त्यस्ता खालका कार्य हुन नहुनेमा जोड दिए।





























प्रतिक्रिया