- कर्साङ लामा-
यतिबेला ‘कोभिड नाइन्टिन्’ अर्थात कोरोना भाइरसले विश्वलाई कसरी गाँजिरहेको छ भन्ने विषयमा धेरैले जानकारी राखिरहेका छन् । मैले निकालेको निश्कर्ष के हो भने विश्वलाई आवश्यकताभन्दा बढी त्रसित चाहिँ बनाइएको छ ।
कोरोना भाइरस पनि एक प्रकारको ‘फ्लू’ हो । अन्यभन्दा केही शक्तिशाली ‘फ्लू’ । तर, यसलाई यसरी ‘ग्लोवलाइज’ गरियो कि मानौं अहिले तेस्रो विश्वयुद्ध भइरहेको छ । राष्ट्र संघले समेत निश्कर्ष निकालेको छ कि यो ‘दोस्रो बिश्वयुद्ध पछिको सबैभन्दा ठूलो चुनौती हो ।’ राष्ट्र संघको विगतदेखि हालसम्मको गतिविधि र निश्कर्ष हेर्ने हो भने ठोकेर भन्न सकिन्छ, ‘अमेरिका र युरोपमा कोरोना नपसेको भए अन्त जतिसुकै महामारी भएपनि ऊ यतिधेरै गम्भीर बन्दैनथ्यो ।’
चाइनामा ‘कोभिड नाइन्टिन्’ प्रवेश भएपछि खासगरी पश्चिमा मुलुकहरुले बदनाम गर्ने हिसावमा प्रचार सुरु गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले त यस भाइरसको नाम नै ‘चाइनिज भाइरस’ भनेर पटक–पटक बोले । उनीहरुलाई यो भाइरस सात समुद्रपारी आइपुग्छ भन्ने अनुमान नै थिएन । चाइनाले यसबाट मुक्ति पाउनैलाग्दा उनीहरुमाथि डरलाग्दो गरी भाइरस पसेको छ ।
भनिरहनु पर्दैन कि, विश्वलाई यतिबेला कोरोना आतंक छ । अर्को पाटोबाट हेर्दा कोरोनाभन्दा मिडिया आतंक बढी छ । र, यी दुईभन्दा ठूलो विश्व अर्थतन्त्रले आतंकको मूल्य चुकाउनुपर्ने अवश्यभावी छ । र, अर्को पनि निश्कर्ष सुनाउँछु, यही कारण पश्चिमाहरुमा विश्व अर्थतन्त्र र ‘लाइफस्टायल’का सम्बन्धमा बहस सुरु हुनेछ । ‘लाइफ स्टाइल’ अर्थात जीवन पद्धति । र, बहसको दोस्रो विषय हुनेछ, अर्थतन्त्रको नयाँ मोडल ।
इतिहासमा यस्ता केही भाइरस पचाइसकेका चाइनिजहरु ‘कोभिड नाइन्टिन्’ भन्दा बढी पश्चिमा मिडिया र नेतृत्वसँग आजीत छन् । पछिल्लो तीन महिनामा चीनमा अन्य विभिन्न रोगवाट झण्डै डेढलाख मानिसको मृत्यु भयो, होला । त्यसको समाचार कतै बनेन । तर, तीन महिनामा कोरोनाका कारण तीन हजार मानिस मर्दा चाइना नै सकियो झैं गरेर समाचार बने । (मर्नेहरुमा बुढा–बुढी र रोगीहरुको संख्या बढी छ ।)
‘लाइफ स्टाइल’ बहसको जग भनेको संक्रमितहरुको मृत्यु दर पनि हो । चाइनिज संक्रमितहरुमा दुई प्रतिशत पनि मृत्यु दर छैन भने युरोपमा यो बढेर १० पुग्न लागेको छ । त्यसैगरी बिरामीको अस्पताल बसाई दर पनि युरोप र अमेरिकामा बढी छ । मलाई लाग्छ, पूर्व र पश्चिमको फरक यसरी पनि छुट्टिएको छ ।
अब सुरुमा चर्चा गरौं, लाइफस्टाइलको । यो भाइरसले अहिले जहाँ जहाँ गाँजेको छ, ती ठाऊँको लाईफस्टाइल हेर्दा हामीसँग मेल खाँदैन । प्राकृतिक वातावरणसँग नबसेर ‘एसी’मा बस्नेहरु, ताजा खानेकुरा नखाएर ‘फ्रिज’मा राखेका खाना खानेहरु र पिजा, बर्गर जस्ता खानामा जीवन गुजार्नेहरुलाई बढी च्यापेको देखिन्छ । उनीहरु खाना मार्फत बेसारको सेवन गर्दैनन् । टिमुर खाँदैनन् । दुध पिउँदैनन् । तितो कुरा खाँदैनन् । महको प्रयोग छैन । कागती पानी खाँदैनन् (सर्बत) । समयमा सुत्दैनन् । यस्ता धेरै कुरा छन् जसले ‘इम्यूनिटी पावर’ अर्थात शरिरको प्रतिरक्षा क्षमता बढाउँछ, उनीहरुले छोडिसके ती सबै । चाइना र इटालीको मृत्युदरमा फरक आउनुको सतही कारण यही नै हो । त्यसकारण यो फरकमा उनीहरुले बहस चलाउनै पर्छ । र, चलाउलान् पनि ।
अर्थतन्त्रको कुरागर्दा भाटभटेनी सुपर मार्केटले साना धेरै पसलहरु बिस्थापित गरेको देख्छु म । अब ‘अलीबाबा’ आयो भने त्यसले पनि ढिलो चाँडो भाटभटेनीलाई बिस्थापित गरिदिन्छ । अमेरिकामा ‘होल फुड’ले अन्य रेष्टुँरा कसरी सुकायो भनेर अध्ययन भएको छ । हामीकहाँ त्यही पाराले ‘कर्पोरेट कल्चर’ सुरु भएको छ । जसले साना किसान र साना उद्योगी–ब्यवसायी सबैलाई बन्द गर्दैछ । ‘कर्पोरेट’ कल्चरले आजका आम मानिसलाई बेरोजगार बनाउँछ ।
७० लाख नेपाली विदेशमा छन् । यही मेसोमा ती मध्ये २० लाख मात्रै फर्किए भने मुलुकले पाल्न सक्दैन । किनभने हामी उनीहरुलाई रोजगारी दिन सक्दैनौं । अर्को कुरा, साना सीपलाई प्रोत्साहित गर्न सकेका छैनौं । नेपालमा यसको भविष्य छैन भन्ने कुरालाई सिटिइभिटीले पढाउन ठिक्क पारेको कोटा सधैं खाली हुनुले पनि पुष्टि गर्छ । अर्को पक्ष किसानको उत्पादनले मूल्य पाउने वातावरण छैन । बजारमा ८० रुपैयाँमा बिक्रि भइरहेको गोलभेडा किसानले २० रुपैयाँमा दिन बाध्य हुनुपर्छ । विचौलिया स्थापित छन्, किसानहरू विस्थापित छन् । यही ब्यवहारका कारण बाध्यता र ‘टापटिप’ किसिमका किसानहरु बाँकी रहेका छन् । समग्रमा उत्पादन छैन ।
बैंकको नीतिले ‘कर्पोरेट कल्चर’ सुरू गरेको हो । २ अर्ब लगानी गरिएको उद्योग वा ‘प्रोजेक्ट’लाई बैंकले जसरी पनि बचाउन कोसिस गर्छ । किनभने २ अर्ब डुब्दा बैंकलाई नै धक्का लाग्छ । तर, उनीहरु २० लाख लगानी गरेको साना उद्योग वा ब्यवसायलाई रुखो ब्यवहार गर्छन् । साना ब्यवसायीलाई कसेर लिन्छन् । ठूला ऋणीहरुप्रति नतमस्तक बन्छन् । यही हो, कर्पोरेट कल्चर । जसलाई अहिलेको आतंकले ध्वस्त गर्छ । किनभने ६ महिनासम्म अवस्था प्रतिकुल रहे, २ अर्बवालाले ब्याज तिर्न सक्दैन । ब्याज खान पाएन भने बैंकको अवस्था के हुन्छ, हामी अनुमान गर्न सक्छौं ।
त्यसकारण वर्तमानको कोराना आतंक निकट भविष्यमा गएर अर्थतन्त्रमा पस्ने छ । जसलाई थाम्न नेपाल जस्ता आफै उत्पादन नगर्ने देशलाई मुस्किल पर्नेछ । विगतका अर्थमन्त्री रामशरण महतले निजीकरणको नाममा सरकारी उद्योगधन्दा बेचेर खाएको हामीले मुल्य चुकाउनुपर्ने अब । वर्तमान अर्थमन्त्री पनि त्यही पथमा छन् । उनी पनि आम मानिसको बसमा रहेका साना उद्योगधन्दाभन्दा ‘कर्पोरेट’ कल्चरमा विश्वास गर्छन् । यी दुई अर्थमन्त्रीका गलत सोचका कारण मुलुकमा ‘आर्थिक कोरोना’ लाग्ने निश्चित छ ।
आर्थिक कोरानाले मुलुकलाई गाँज्यो भने यसको प्रभाव प्रत्यक्ष रुपमा समाजमा पर्नेछ । बेरोजगारी, लुटपाट, हत्या–हिंसा आदिले मुलुक आक्रान्त हुन सक्छ । त्यतिबेला गुलिया कुरा सुनाएर जनतालाई बिद्रोहमा उतार्ने अराज नेतृत्वको जन्म पनि हुनसक्छ । अहिलेको अवस्थाले ल्याउन सक्ने गम्भीर रोग यो हुनेछ, मुलुककालागि ।
उदाहरण नेपालको दिएपनि यो विश्वका आम देशकालागि मेल खान सक्छ । केन्द्रीकृत अर्थतन्त्रलाई बिकेन्द्रीत बनाउने उपाय रचिएन भने त्यसले दुर्घटना निम्त्याउँछ । यही कारण विश्वले नयाँ आर्थिक मार्गकालागि बहस सुरु गर्नेछन् । गर्नैपर्छ ।
(लेखक लामा विश्वप्रसिद्ध थांका लेखक तथा व्यवसायी हुन् ।)





























प्रतिक्रिया