काभ्रे ।
कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन रोशी गाउँपालिकामा थप सजगता अपनाउन थालिएको छ ।
गाउँपालिकाले सबै वडाध्यक्षको संयोजकत्वमा ‘कोरोना भाइरस नियन्त्रण तथा सचेतना समन्वय समिति’ समेत गठन गरिसकिएको छ । विदेशबाट आएकाको तथ्याङ्क सङ्कलन गरी वडा सदस्यमार्फत उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रहसहितको पत्र घर–घरमै पठाइएको छ । “विदेशबाट आएकालाई पत्र पठाएर घरमै होम क्वारेन्टाइनमा बस्न भनिएको छ”, गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले भने “सबै नागरिकलाई पत्राचार, माइकिङ गरेर घरमै बस्न भनिएको छ ।”
उनका अनुसार अहिलेसम्म विदेशबाट आएका ९ जना होम क्वारेन्टाइनमा बसेका छन् । कतार, दुवई, मलेसिया, इराक, अमेरिका र भारत लगायत विभिन्न मुलुकबाट आएका मध्ये होम क्वारेन्टाइनमा बसेका नौ जनामा पाँच महिला रहेको गाउँपालिकाले जनाएको छ । उनीहरुमाथि निगरानी बढाउन र यसको विवरण दैनिक रुपमा गाउँपालिकामा पठाउन समेत गाउँपालिकाले सबै वडाध्यक्षलाई निर्देशन दिएको अध्यक्ष लामाले बताए ।
यसैविच धुलिखेल अस्पतालमा ३ जना विरामी कोरोनाको आंशकामा उपचारका लागि भर्ना भएका छन् । उनीहरुको कोरोनासँग मिल्ने लक्षण देखिएको भएपनि रिपोर्ट आउन बाँकी रहेको छ ।रासस





























प्रतिक्रिया