लकडाउनको समय लम्बाउने समितिको निष्कर्ष

लकडाउनको समय लम्बाउने समितिको निष्कर्ष

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको सयम अझै एक साता लम्बाउनुपर्ने निष्कर्ष निकालेको छ । आइतबार उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको समितिको बैठकले लकडाउनको समय लम्बाउने निष्कर्ष निकालेको हो ।

समितिले चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्म पहिलो चरणमा गरिएको लकडाउनलाई थप गरी आगामी चैत्र २५ गतेसम्म लम्बाउन मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निष्कर्ष निकालेको छ । केही समयमा बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि यो लागू हुनेछ ।
नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएकाले सरकारले लकडाउनको समय थप गर्ने तयारी गरेको हो । गत चैत्र ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका नाममा सम्बोधन गर्दै चैत्र ९ गतेदेखि लागू हुने गरी सम्पूर्ण अन्तर्राष्ट्रिय हवाइ उडान र चैत्र १० गतेदेखि लागू हुनेगरी लामो दूरीका यातायातका साधन सञ्चालनमा रोक लगाएका थिए ।

त्यस्तै गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले एक साताका लागि छिमेकी मुलुक भारत र चीनको सीमानाका तत्कालका लागि बन्द गर्ने निर्णय गरेको थियो । गत सोमबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले चैत्र ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक सातासम्मका लागि देशैभर लकडाउन गर्ने निर्णय गरेको थियो ।

अहिलेसम्म नेपालमा पाँच जनामा नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ । सबैभन्दा पहिले चीनमा अध्ययन गर्ने एक विद्यार्थी नेपाल विदा मनाउन आउँदा उनीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । अहिले उनी पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् । त्यस्तैगरी गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षे युवतीमा पनि कोरोना पोजेटिभ देखिएको पुष्टि भएको थियो । अहिले उनको र अन्य एक जना कतारबाट नेपाल आएका पुरुषको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा उपचार भइरहेको छ ।

त्यस्तै शुक्रबार एक जना ३४ वर्षे नेपाली पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ । उनी गत चैत्र ११ गते कतारबाट नेपाल आएका थिए । उनको अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ भने शनिबार थप एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा बागलुङकी १९ वर्षिय युवतीमा कोरोना पोजिटिभ भेटिएको हो । उनी बेल्जियमबाट कतारको दोहा हुँदै गत चैत ४ गते नेपाल आएकी थिइन् ।

Logo