काठमाडौं ।
चीनले कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सूरक्षा सामग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपालस्थित चिनीयाँ राजदुत होउ यान्छीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पूगी ती सामानहरु स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन् ।

चिनीयाँ दुतावास एवं सिन्चुवान प्रान्तले पुनः प्रयोग गर्न नसकिने मास्क २४ हजार थान, एन नाईन्टी फाईब मास्क २ हजार थान, चस्मा ५ सय थान, थर्मोमिटर १ सय थान, व्यक्तिगत सुरक्षा सामाग्री ५३० थान, भ्यान्टीलेटर एक थान र क्वारेन्टाईन टेबल ४ सय बक्सा उपलब्ध गराएको छ । त्यसैगरी अलिबाबा फाउन्डेसन र ज्याकमा फाउन्डेसनले एन नाईन्टी फाईब मास्क १ लाख २ सय थान र पिसिआर टेस्ट किट्स २ हजार ६४ थान उपलब्ध गराएको छ । चाइना सिएएमसि इन्जिनियरिङ्ग कम्पनि लिमिटेडले व्यक्तिगत सुरक्षा सामाग्री २ सय थान, पुन प्रयोग गर्न नमिल्ने मास्क २० हजार थान, चश्मा २ सय थान र पञ्जा २ हजार थान, उपलब्ध गराएको छ । सिन्चुवान हुसी गु्रपले २ हजार थान पुन प्रयोग गर्न नमिल्ने मास्क, होङ्गसि सिमेन्ट कम्पनिले १ हजार थान व्यक्तिगत सुरक्षा सामग्री र पिसिआर टेस्ट किट्स ३ हजार थान उपलब्ध गराएको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै चिनीयाँ राजदुत यान्छीले कोभिड १९ को समस्या कुनै पनि एउटा मुलुकको मात्रै समस्या र चासोको विषय नभएर विश्वव्यापी समस्या भएकाले आफ्नो मुलुक नेपालसँगै अन्तरराष्ट्रिय स्तरमा नै सहयोग गर्न तयार रहेको बताइन् ।
सामान हस्तान्तरणपछि मन्त्री ढकालले चीनबाट प्राप्त सहयोग नेपालमा कोभिड १९ को रोकथाम एवं उपचार र व्यवस्थापन कार्यमा सहयोगी हुने विश्वास व्यक्त गरे । असल छिमेकीको रुपमा एक अर्कालाई सहयोग गर्ने असल परम्परालाई कायम राख्दै चीन सरकार र चीनका विभिन्न संस्थाहरुबाट प्राप्त सहयोगको मन्त्री ढकालले प्रशंसा गर्दै ती संस्थालाई धन्यवाद पनि दिए ।

उनले कोभिड १९ बाट अति प्रभावित हुने कुराबाट जोखिम न्यूनीकरणका लागि विश्वका विभिन्न मुलुकले अपनाएको लकडाउनको नीति सफल भएको र नेपालले पनि संक्रमणको विस्तारलाई न्यूनीकरण गर्न सोही नीतिलाई अबलम्बन गरेको बताए । ढकालले नेपालस्थित चिनीयाँ राजदूतबाट प्राप्त यी सामग्रीलाई आवश्यकता अनुसार सक्दो छिटो नेपालका सात वटै प्रदेशमा पुर्याइने जानकारी दिए ।
उनले विदेशबाट आएकालाई सावधानीका साथ क्वारेन्टाइनमा राख्ने र क्वारेन्टाइनमा राखेका व्यक्तिहरुको नमुना परीक्षण गरेर अरुलाई संक्रमित हुन नदिनका लागि गर्ने काममा प्राप्त औषधीजन्य औजारहरु तथा डाक्टर नर्स लगायत प्रयोगशालामा काम गर्नेहरुका लागि आवश्यक पर्ने सामग्रीले उनीहरुको सुरक्षाको प्रत्याभूति गरेको बताए ।
यी सामग्रीले अप्ठ्यारो परेका बेला हाम्रा छिमेकी मित्रराष्ट्रहरु पनि हाम्रो साथमा छन् भन्ने नेपाली जनतालाई संदेश दिएको र उच्च मनोबलका साथ यो रोगका विरुद्ध लड्न प्रेरणा मिलेको भन्दै उनले चिनीयाँ राजदूत लगायत सहयोगी संस्था र तीनका प्रतिनिधिलाई नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे ।





























प्रतिक्रिया