‘उच्च मनोबलले मात्रै कोरोनाविरुद्धको लडाईं जित्छौँ’ : अध्यक्ष दाहाल

‘उच्च मनोबलले मात्रै कोरोनाविरुद्धको लडाईं जित्छौँ’ : अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार र आमजनताले कोरोना विरुद्धको लडाईंमा देखाएको सावधानीप्रति धन्यवाद दिँदै थप सतर्क हुन आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले आज एक भिडियो सन्देश दिँदै विश्वलाई नै चुनौती दिएको यस महामारीबाट हामी छिट्टै मुक्त हुने र मानव जाति तथा राष्ट्रको एकता र उच्च मनोबलले हामी विजयी हुने दृढ विश्वाससमेत व्यक्त गरे ।

सरकारले कोरोना नियन्त्रणमा अपनाएको सार्थक प्रयासको विशेष धन्यवाद दिँदै उनले भनेका छन्, “विश्व स्वास्थ्य सङ्गठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा चित्रण गरेको सन्दर्भमा म नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा नेकपाका सबै तहका नेता तथा कार्यकर्तालाई स्वयंसेवीका रुपमा यस सङ्कटको घडीमा परिचालित हुन र कोरोनाविरुद्धको लडाईंमा सावधानीपूर्वक नेतृत्व गर्न आग्रह गर्दछु ।”

कोरोना भाइरसका कारण आजसम्म संसारभरका करिब छ लाख मानिस प्रभावित भएका छन् भने २७ हजार बढीको मृत्यु भएको छ । विश्व महामारीको कारण निधन भएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष दाहालले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरे । नेपालमा सङ्क्रमण भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अध्यक्ष दाहालले विश्वव्यापी महामारी बनेको कोरोना जस्तो घातक भाइरसविरुद्ध सचेततापूर्वक सावधानी अपनाउनसमेत आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले कोभिड–१९ को सङ्क्रमणविरुद्ध विजय प्राप्त गर्नका लागि नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्दै हरेक नागरिक र परिवारले घरमै बसेर आफ्नो र आफ्नो परिवारको अमूल्य जीवन रक्षा गर्न र त्यसमार्फत देश र दुनियाँको रक्षामा योगदान गर्न सबैसँग अपिल गरेका छन् ।

कोरोना भाइरसविरुद्धको लडाईंको अग्रमोर्चामा रहेर जोखिम उठाउने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षा निकायको मनोबल उच्च राख्न सातै प्रदेशमा उपकरणको व्यवस्थामा राज्यका तर्फबाट थप जोड दिन आवश्यक रहेको उनको भनाइ छ । अध्यक्ष दाहालले भने, “दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माणमा सरकारको ध्यान जाने नै छ ।” रासस

Logo