कोरोना त्रासबीच कतारका नेपालीले बुझ्नुपर्ने कुरा

कोरोना त्रासबीच कतारका नेपालीले बुझ्नुपर्ने कुरा

केन्द्रबिन्दु
0
Shares

नेपालमा कानुन कार्यान्वयन निकै फितलो र कमजोर मानिन्छ । सायद त्यसैले होला नेपालीलाई विदेशको कडा कानुनमा बानी पर्न हम्मे हम्मे परेको देखिन्छ । हामीहरू कतिसम्म दयालु प्रकृतिका छौँ भने, विदेशमा कसैले मृत्युदण्ड पायो भने उसलाई पैसा तिरेर सजायबाट उन्मुक्ति मात्र दिँदैनौँ, भएभरको सहानुभूति समेत त्यही व्यक्तिमाथि खन्याउँछौँ ।

हुँदा हुँदा अवस्था के सम्म भयो भने भवितव्यको कारणले मृत्युदण्ड पाएकालाई जोगाउँदा जोगाउँदै हामीहरू कर्तव्य गरेरै सजाय पाएका अपराधीलाई समेत जोगाउन थाल्यौँ । त्यसैले चन्दा उठाएर भए पनि सरकारले वा जनताले बचाई हाल्छन्, के नै पो हुने हो र भनेर आपराधिक प्रवृत्तिको बढोत्तरी भएको छ ।

ट्राफिक प्रहरीको आदेश नमान्ने, प्रहरीको कुरालाई सामान्यरूपमा लिने नेपालीहरूको बानीलाई भने यहाँको ‘जरिवानाले’ ठेगान लगाएको छ । सानो गल्तीको सजाय स्वरूप लाखौँ रुपियाँ बराबरको चलान आउने भएको कारण ‘अनुशासनहीन नेपाली टिप्पर चालक’ समेत यहाँ आएपछि अनुशासित भएको देख्न सकिन्छ । चलान नतिरे सम्म देश छोड्न नपाउने, दोहोर्‍याएर गरेको गल्तीमा दुई गुणा सजाय लगायत कडा नियमले ट्राफिक नियम नमान्नेहरूलाई अनुशासनमा राखेको छ । एउटा ट्राफिक लाइट नियम विपरीत क्रस गरेमा झन्डै छ हजार रियल १ लाख ८० हजार सम्मको चलान काटिन्छ । सबै भन्दा सस्तो ‘नो पार्किङ’ को चलान नै १० देखि १८ हजार सम्मको छ ।

त्यस्तै सरकारी आदेश अवज्ञा गर्न बानी परेका नेपालीहरू कतिसम्म बेपर्वाह हुन्छन् भने रक्सी बेच्न पाइँदैन यो गैह्र कानुनी हो भन्ने उनीहरूलाई थाहा छ तर पनि रक्सी बेच्ने धन्दा चलाइरहेका हुन्छन् ।

जुवा, लङ्गुर बुर्जा खेल्नु खेलाउनु गैह्र कानुनी हो भन्ने जान्दाजान्दै पनि हाट बजार जस्तो ठाउँमा टेबल लगाएरै लङ्गुर बुर्जा खेलाउँछन् । लाइसेन्स प्राप्त होटलहरुले बाहेक अन्यले तयारी खाद्य पदार्थ बेच बिखन गर्न पाइँदैन त्यो थाहा छ नेपाली हरूलाई तर उनीहरू घरमा बनाएको म म प्याकेट बनाएर समुद्र किनारमा बेच्दै हिँड्छन् । पुरानो बिग्रेर फ्याँक्न राखिएको ट्रक देखे त्यही ट्रकको तल खसीको भुटन र रक्सीको पसल सुरु गरिहाल्छन् । त्यसो गर्ने नेपालीहरू आपराधिक मनोवृत्तिका समेत हुन्छन् । ती मध्ये केही भने अलिकति बढी आम्दानी गर्ने लोभमा वा लहैलहैमा लागेर गएका पनि हुन सक्छन् ।

अब कुरा गरौँ कतारमा लकडाउन कार्यान्वयन गराउन कस्तो खाले चुनौतीको सामना कतार सरकारले गर्नुपर्‍यो यस विषयमा । सबैभन्दा पहिलो कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति कतारी नागरिक नै थिए जो इरानमा रहँदा उनलाई सरेको थियो । २९ फेब्रुअरी २०२० मा बेग्लै जहाज चार्टर गरेर सुरक्षित रूपमा उनको उद्धार गरेको कारणबाट उनीमार्फत अरू कोही सङ्क्रमित हुने सम्भावना रहेको देखिँदैन । त्यसपछि बढ्न सक्ने सङ्क्रमितको चापलाई मध्यनजर राखेर कतारले एउटा ठूलो होटेललाई क्वारेन्टाइन बनाएको छ भन्ने समाचारहरू सुनिन्छ तर त्यो क्षेत्र कुन हो खुलाइएको छैन ।

कतार सरकारले उच्च सतर्कता अपनाएकै थियो । त्यसपछि मार्च ६ तारिकमा नयाँ ३ जना सङ्क्रमित भेटिएसँगै कतार सरकारले उच्चदरमा परीक्षण गर्न सुरु गर्दै एयरपोर्टको बाटो भएर आउने सम्पूर्ण यात्रीको कडाइका साथ स्क्रिनिंग गर्न सुरु गरेको थियो ।

त्यसको केही दिनपछि विश्वकप खेलाइने रङ्गशाला निर्माण गर्ने कम्पनीका कामदार र केही कृषि उपज बेचबिखन गरिने ‘मन्डी’ मा काम गर्ने कामदारहरू ठूलो सङ्ख्यामा सङ्क्रमित भएको भेटिएपछि १८ मार्च २०२० बाट औद्योगिक क्षेत्रको १ देखि ३२ नम्बर स्ट्रिट सम्म सम्पूर्ण रूपमा लकडाउन गर्ने निर्णय गरेको थियो । लकडाउन अगाडि शंकास्पदहरुको परीक्षणलाई एकदम तीव्र पारेको सरकारले लगभग कतार भित्रका सम्पूर्ण शङ्कास्पद मजदुर क्याम्पहरूमा आकस्मिक छड्के चेक गरेको थियो । ट्राभल हिस्ट्री, काम गर्ने लोकेसन र सङ्क्रमितहरूसँग सम्पर्क हुन सक्ने सम्भावनाको अध्ययन गरेर लकडाउन गर्ने क्षेत्र निर्धारण गरिएको थियो ।

दुई तीन दिन अगाडि नै लकडाउन गर्ने घोषणा गरेर त्यसलाई सार्वजनिक गर्दै दूतावास मार्फत पटक पटक नेपालीले बुझ्ने भाषामा जारी गराउँदा समेत त्यस्ता क्षेत्रमा नेपालीहरू धेरै नै पक्राउ परे । झन्डै ४ लाख नेपाली रहेको कतारमा प्रायस् सबैले फेसबुक चलाउँछन् तर आफ्नै दूतावासको फेसबुक पेज भने जम्मा २५ हजारले मात्र लाइक गरेका छन् । दूतावासले सूचना जारी गर्ने र सजिलै सर्वसाधारणले थाहा पाउन सक्ने माध्यम भनेको फेसबुक हो । दूतावासले लगातार फेसबुकमार्फत सूचित गरेको पनि छ तर नेपालीहरू दूतावासको सूचनाको वास्ता नै गर्दैनन् । केही थोरै सङ्ख्यामा मात्र नेपाली छन् जो लगातार सूचनाहरू पच्छ्याउछन् ।

कोरोना र कतार सरकारको अवस्थाको बारेमा दूतावासले निरन्तर सूचना जारी गरिरह्यो । कतार सरकारले कम्पनीहरूमा व्यवस्थापनलाई पनि सूचना पठाइरह्यो, कम्पनीहरुले पनि आफ्ना कामदारहरुलाई सुचित गरिरहे । सरकारले पत्रपत्रिका र सामाजिक सञ्जालमा आक्रामक रूपमा विज्ञापन गरेर रेस्ट्रीक्टेड ठाउँमा नजान आग्रह गरिरह्यो, त्यस्तो अवस्थामा समेत केही नेपालीहरूले त्यो सूचना देखेर पनि वास्ता गरेनन्, झुक्किए या गम्भीरतापूर्वक लिएनन् अथवा कतिपयले देख्दै देखेनौँ सूचना नै पाएनौँ भनेर नेपाल पुगेर गुनासो गरेको पनि देखियो ।

भएको के थियो भने ‘यहीँ नजिकै त हो नि’ भनेर अवैधानिक बजारतिर जाने, एक छिन त के पुलिस आउला र भनेर लङ्गुर बुर्जा खेलाउन सुरु गर्ने, पसल थापिहाल्ने यस्तै गरेर सुरुवातका केही दिन नियम उन्लंघनका घटनाहरू भइरहे । त्यसपछि क्याम्प भित्रै त हो केही हुन्न होला भन्ने सोचेर भलिबल टुर्नामेन्ट राख्ने ३०-४०-५० जना जम्मा भएर खेलहरु खेल्ने, घर भित्रै बस्नु पो भनेको हो प्राङ्गणमा त जे गरे पनि हुन्छ भन्ने किसिमले गलत बुझेको कारण दुःख पाएका केहीको गुनासो पनि पत्रपत्रिकामा आयो त्यो पनि हामीहरूले देखियो ।

त्यो समस्या लकडाउनको सुरुवाती चरणको कुरा थियो । कतार अहिले आंशिक लकडाउनको अवस्थामा छ । सुरक्षित मानिएका क्षेत्रमा निर्बाध कार्यालयहरू खुलेका छन् । मलहरू जहाँ भिड हुने सम्भावना थियो त्यतातिर कडाइ गरिएको छ । आपूर्तिका कामहरू सुचारित छन् । पूर्णरूपमा लक भएको सनैयाको १ देखि ३२ नम्बर स्ट्रिट सम्म हरेक इन्ट्री र एक्जिटमा प्रहरीको गाडी तैनाथ रहेको देख्न सकिन्छ ।

कामदारहरू पूर्ण अनुशासित रूपमा आफ्ना आफ्ना घर भित्र बसेका छन् । व्यवस्थित सहर भएको कारण जतासुकैबाट बाहिरभित्र गर्ने गेटहरू हुँदैनन् त्यसैले त्यहाँ अहिले नियम उन्लंघनका घटना हुने सम्भावना शून्य जस्तै रहेको छ ।

Logo