अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्ने डेमोक्र्याटिक पार्टीका एक नेताले बताएका छन्।
तल्लो सदनका डेमोक्र्याटहरूले राष्ट्रपतिविरुद्ध ‘दङ्गालाई प्रोत्साहन गरेको’ आरोप लगाउने योजना छ । संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्र्याटहरूको तयारी हो।
संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग उक्त कदम यो साता उठाउन सकिने बताए । यदि उक्त प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन्।
त्यो सम्भव हुनका निम्ति महाभियोगको आरोप तल्लो संसद्मा ल्याएर पारित हुनुपर्नेछ । त्यसपछि प्रक्रिया सिनेटमा जानेछ जहाँ राष्ट्रपतिलाई हटाउन दुई तिहाइ मत आवश्यक हुन्छ।
यदि उनलाई दोषी ठहर्याइयो भने ट्रम्पलाई फेरि सार्वजनिक कार्यालयको जिम्मेवारीमा रोक लगाउन सिनेटले पनि मतदान गर्नसक्छ। तर तल्लो सदनका सांसद क्लाइबर्नले १० दिनमा ट्रम्पले राष्ट्रपति कार्यालय छोड्नुअघि उनलाई महाभियोग लगाउन र सुनुवाइ गर्न आफूले सम्भव नदेखेको बताए।
डेमोक्र्याट र बढ्दो सङ्ख्यामा देखिएका रिपब्लिकनहरूले ट्रम्पमाथि पाँच जनाको ज्यान गएको गत बुधवार संसद्मा भएको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्। तर कुनै पनि रिपब्लिकन सिनेटरले ट्रम्पलाई दोषी ठहर्याउने पक्षमा मतदान गर्ने बताएका छैनन्।
दोस्रो रिपब्लिकन सिनेटर प्याट टूमीले राष्ट्रपति ट्रम्पलाई राजीनामा दिन आइतवार आग्रह गरे । उनले भने, “मेरो विचारमा देशका निम्ति उत्तम बाटो भनेको राष्ट्रपतिले राजीनामा दिने र जतिसक्दो चाँडो टाढा जाने नै हो । म त्यो सम्भावना नरहेको स्वीकार गर्छु तर मलाई लाग्छ सबैभन्दा राम्रो त्यहीँ हुन्थ्यो।” बिबिसीले उल्लेख गरेकाे छ ।





























प्रतिक्रिया