सार्वजनिक तथा निजी सबै सवारी बन्द गर्न यातायात व्यवसायीको माग

सार्वजनिक तथा निजी सबै सवारी बन्द गर्न यातायात व्यवसायीको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ,
कोरोना भाइरसको सन्त्रास भएको र नेपालमा पनि सङक्रमित भेटिएकाले निजी तथा सार्वजनिक सबैखाले सवारी सञ्चालन रोक लगाउन यातायात व्यवसायीले माग गरेका छन् ।

सरकारले सोमबारदेखि लामो दुरी चल्ने सवारीसाधन बन्द गराएको छ । कोरोना रोकथामको लागि भएपनि सबैतिर निजी तथा सार्वजनिक यातायात बन्द गर्न व्यवसायीहरुले सोमाबार भौतिक पूर्वाधार तथा यातयातमन्त्री वसन्त नेम्बाङ्सँग छलफल गरेका छन् ।

कोरोना भाइरसको सङक्रमण बढ्दै गएकाले सवारी साधनमा सबैभन्दा वढी जोखिम बढेकाले निजी तथा सार्वजनिक दुवै यातायात सेवा बन्द गर्न यस्तो माग मन्त्रीसामु राखिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले केन्द्रबिन्दुलाई बताए ।

उनका अनुसार यो विसम परिस्थितीमा सबैले मिलेर अगाडी बढ्नु पर्ने तथा सङक्रमण सर्न सक्ने जोखिमको क्षेत्र भएकाले पनि यातायात सञ्चालन बन्द गर्न आग्रह गरेका छौं । उनले भने ‘मन्त्री ज्यूसँग यातायात बन्द गर्न प्रस्ताव गरेका छौं, उहाँले उच्चस्तरीय समितिमा प्रस्ताव गर्ने बताउनु भएको छ ।’

कोरोनाको सन्त्रासले उपत्यकाबाट ७ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । यातायात सञ्चालन गर्दा पनि यात्रु नपाउने अवस्थामा रहेको र व्यवसायीले घाटा खाएर पनि व्यावसाय सञ्चालन गर्न नसक्ने भएकाले पनि सरकारसँग बन्द गराउन माग गर्न लागेको उनको भनाइ छ ।

प्रदेश नम्बर १ भित्र मङगलबारदेखि कुनै पनि सार्वजनिक सवारी सञ्चालन नगर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश नम्बर १ ले सूचना जारी गरेको छ ।

प्रदेश नम्बर १ मा कोरोना भाइरस सङक्रमण देखिएको मुलुकको धेरै सिमाना रहेकाले पनि जोखिम बढ्ने भन्दै कुनै पनि सवारी संचालन नगर्न अनुरोध गरिएको हो ।

Logo