बैंकमा कोरोना असरः विद्युतीय भुक्तानीको सीमा बढ्यो

बैंकमा कोरोना असरः विद्युतीय भुक्तानीको सीमा बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोरोना भाइरसका कारण बैंकिङ क्षेत्र प्रभावित भएपछि विद्युतीय भुक्तानीको सीमा बढेको छ ।

कागजी नोटबाट कोरोना भाइरस सर्ने तथा बैंकमा हुने जमघट कम गराउन नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको हो । राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाका नाममा निर्देशन जारी गर्दै भुक्तानीको सीमा बढाएको हो ।

राष्ट्र बैंकका अनुसार अब मोबाइल बैंकिङ क्युआर कोड मार्फत दैनिक १ लाखसम्म कारोबार गर्न पाइने भएको छ । मासिक सीमा भने १० लाख सम्म छ ।

त्यस्तै, इन्टरनेट बैंकिङ मर्चेन्ट पेमेन्टका लागि १० लाख सीमा तोकिएको छ । जसमा मासिक रुपमा ३० लाख सम्मको कारोबार गर्न पाइने भएको छ । इन्टरनेट बैंकिङ एकाउन्ट ट्रान्सफरमा १० लाख रुपैंयाँ बराबरको दैनिक कारोबार गर्न सकिने भएको छ भने मासिक रुपमा ५० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ ।

त्यसैगरी, वालेटमार्फत गरिने कारोबारमा एजेन्ट वा सव एजेन्टबाट दैनिक २५ हजार र मासिक १ लाख, बैंक खाताबाट वालेटमा एक पटकमा २५ हजार, दैनिक १ लाख र मासिक ५ लाख रुपैयाँ बराबरको कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, वालेटबाट अन्य बैंक खातामा एक पटकमा २५ हजार, एकदिनमा १ लाख र एक महिनामा ५ लाख रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ । एक वालेटबाट अर्को वालेटमा कारोबार गर्दा एउटा कारोबारमा २५ हजार, दैनिक १ लाख र मासिक रुपमा ५ लाख सम्मको कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

बैकिङ सेवा बन्द नगर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बन्द नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले कोरोना भाइरसको त्रास बढेसँगै बिभिन्न सेवाहरु बन्द भइरहेका बेला अत्यावश्यक बैंकिङ सेवा यथावत राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा सर्कुलर जारी गर्दै बैंकिङ सेवा सूचारु राख्न निर्देशन दिएको हो ।

बैकिङ सेवा अत्यावश्यक सेवा भएकाले बन्द नगर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकले बैंकका कर्मचारीलाई संक्रमण नहोस् भनेर कम कर्मचारी राखेर बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । साथै बैंक तथा वित्तीय संस्थामा हुने भेला कम गर्न डिजिटल बैंकिङलाई प्रोत्साहन दिनुका साथै भूक्तानीको सीमा पनि बढाएको छ ।

यसैबीच राष्ट्र बैंकले आरटिजिएस (रियल टाइम ग्रस सेटलमेन्ट) मार्फत हुने कारोबारमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ । यो व्यवस्था सोमबारदेखि लागू हुने राष्ट्र बैंकले जनाएको छ ।

 

Logo