उपत्यकामा ५ हजार क्षमताको क्वारेन्टाइन बनाइने

उपत्यकामा ५ हजार क्षमताको क्वारेन्टाइन बनाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ उपत्यकामा कम्तिमा ५ हजार व्यक्ति क्षमताको सार्वजनिक क्वारेन्टाइनस्थल निर्माण गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई संयोजक रहेको क्वारेन्टाइनस्थल निर्माण तथा व्यवस्थापन कार्यदलको आज बसेको बैठकले क्वारेन्टाइन बनाउनका लागि तत्काल सम्बन्धित सबै निकायहरूलाई संयुक्तरूपमा परिचालित गर्ने  निर्णय समेत गरेको छ ।

सार्वजनिक क्वारेन्टाइनस्थललाई आवश्यक पर्दा तुरून्त अस्थायी अस्पतालकारुपमा रूपान्तरण गर्न सकिने गरी तयारी गर्ने पनि निर्णय गरेको छ । कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकारलाई क्वारेन्टाइन बनाउन गाउँपालिका, नगरपालिका तथा प्रदेश सरकारलाई निर्देशन दिन सिफारिस गरेको छ ।

जस अनुसार प्रत्येक प्रदेश र महानगरपालिकाले कम्तिमा २ हजार क्षमताका र प्रत्येक उप महानगरपालिकाले एक हजार क्षमताका क्वारेन्टाइन बनाउनुपर्ने छ । त्यस्तै हिमाली क्षत्रका गाउँपालिका र नगरपालिकाले ५ सय क्षमताका, पहाडी जिल्लाका गाउँपालिका र नगरपालिकाले एक हजार क्षमताका तथा तराई क्षेत्रका गाउँपालिका र नगरपालिकाले २ हजार क्षमताका क्वारेन्टाइनस्थल बनाउनुपर्नेछ ।
बैठकले सार्वजनिक क्वारेन्टाइनस्थल सम्बन्धी मापदण्ड मस्यौदा आजै तयार पेश गर्ने जनाएको छ ।

पर्यटन विभाग र नेपाल पर्यटन वोर्डले नेपाल होटल संघ र होटल व्यवसायी महासंघसँग समन्वय गरी कम्तिमा २ हजार व्यक्ति क्षमताका लागि उपयुक्त होटलहरूको स्थान सहितको विवरण तयार गरी सोमबार विहानसम्म पेश गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै काठमाण्डौका प्रमुख जिल्ला अधिकारीलाई इचङ्गुनारायण स्थल र बलम्बुस्थित मनमोहन अस्पतालको भवन परिसरको निरीक्षण गरी क्वारेन्टाइनका लागि आवश्यक विवरण तयार गर्न निर्देशन दिएको छ । त्यस्तै प्यावसन, एन-प्यावसन, हिसानका प्रतिनिधिले आपसी समन्वयमा २ हजार ब्यक्ति क्षमताका होस्टेल र स्कूलको स्थान सहितको विवरण तयार गरी पेश गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषदले काठमाडौं, ललितपूर, पोखरा, वुटवल र धरानमा रहेका होस्टल तथा रङ्गशालामा क्वारेन्टाइनको लागि व्यवस्थापन गर्न सकिने क्षमता एकिन गर्न पनि निर्देशन दिइएको छ ।

Logo