काठमाडौं ।
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस अर्थात् (कोभिड–१९) का कारण निधन हुनेको संख्या १० हजार नाघेको छ ।
विश्वभरमा साढे दुईलाख भन्दा बढीलाई भाइरस संक्रमणको पुष्टि भइसकेको छ । विश्वमा कोरोना भाइरस यस्तो रोग बनेको छ, जुन ६ महादेशमै फैलिसकेको छ । पहिलो र दोस्रो विश्वयुद्धमा समेत विश्वले नदेखेको र नभोगेको आर्थिक क्षति कोरोना भाइरसका कारण देखिन थालेको अर्थशास्त्रीहरुले बताउन थालेका छन् ।
कोरोना भाइरस गत डिसेम्बर महिनाको अन्तिम सातादेखि चीनको हुवेई प्रान्तको वुहानबाट शुरु भएको थियो । हुवेई प्रान्तमा भाइरस देखिन शुरुभए पछि चीन सरकारले उक्त प्रान्तको राजधानी वुहानलाई लकडाउन गरेको थियो ।
बिस्तारै चीनका अन्य शहर, कोरिया, हङकङ हुदै यूरोप र विश्वभरि नै यो भाइरस फैलिएसँगै अहिले सयौं ठूला साना शहरहरु लकडाउन गरिएका छन् । अवस्था यस्तो सम्म आइसकेको छ की अब थप मानवीय र आर्थिक क्षति बेहोर्नु नपरोस् भनेर पूरा देशनै लकडाउनमा गइसकेका छन् ।
दुई दिन अघि अष्ट्रेलिया र न्यूजिल्याण्डका प्रधानमन्त्रीले मुलुक नै लकडाउन गरिएको घोषणा गरेसँगै विश्वका बाँकी अन्य मुलुकले पनि त्यही पथ समाएका छन् । दक्षिणी छिमेकी भारतले अर्को साताबाट लकडाउनमा जाने संकेत गरिसकेको छ ।
किन गरिन्छ लकडाउन ?
कोरोना भाइरस मानिसबाट मानिसमा प्रत्यक्ष रुपमा सर्ने भएकाले रोग फैलन नदिन लिइएको कदम लकडाउन हो । थप संक्रमणबाट जोगिन विश्वभरिका मुलुकहरुले यस्तो कदम उठाइरहेका छन् ।
यूरोपमा यो भाइरस भित्रिने वित्तिकै इटाली लकडाउनमा गएको थियो । इटाली लकडाउनमा जानुअघि निर्वाधरुपमा संक्रमणले गाँजेको मुलुक चीनबाट चिनियाँसँगै अन्य विदेशी नागरिक इटालीको भ्रमण गरिरहेका थिए । लकडाउनमा जान ढिलो गरेकै कारण आज इटालीले चीनभन्दा बढी मानवीय र आर्थिक क्षति बेहोरिरहेको छ । इटालीकै नियती भोग्नु नपरोस् भनेर विश्वभरका मुलुक बेलैमा लकडाउन गरेका बसेका छन् ।
लकडाउन एउटा इमजेन्सी अथवा आपतकालीन व्यवस्था हो । यदि कुनै मुलुक अथवा शहर लकडाउनको अवस्थामा छ भने उक्त क्षेत्रका मानिसलाई घरबाट निस्कनलाई अनुमति दिँइदैन । लकडाउनमा भएका बेला जीवनका लागि चाहिने अत्यावश्यक सामाग्री सरकारले घरघरमा पुर्याउने व्यवस्था गर्छ ।
कम्तिमा विकसित मुलुकले लकडाउनमा रहेका आफ्ना नागरिकलाई खाना, स्वच्छ पानी, औषधी, मास्कजस्ता अत्यावश्यक सामाग्रीको होम डेलिभरी गरिदिन्छ । इटाली, फ्रान्स, जर्मनीलगायत यूरोपका अन्य मुलुकमा यस्तै व्यवस्थाका साथ नागरिकलाई लकडाउनमा राखिएको छ ।
लकडाउनमा गएका मुलुक बाँकी विश्वसँग हवाइमार्ग, पानी जहाजलगायत कुनै पनि किसिमको सम्बन्ध नराखि सम्पर्क विच्छेद गरेर बस्छन् । एक मुलुकका मानिस अर्को मुलुकमा प्रवेश गर्न नदिन लकडाउन नै उचित माध्यम हो । लकडाउनमा गएका मुलुकले थप नियमहरु सहित आफ्ना अतिप्रभावित र कमप्रभावित शहरहरुमा बेग्लाबेग्लै नीति लिन सक्छन् ।
यतिसम्मकी लकडाउन अवधिभरि घरभाडा पनि मिनाहा गर्नुपर्ने हुन्छ । कम्तिमा पश्चिमा अतिप्रभावित मुलुकहरुले यस्तो आपतकालीन अवस्थामा लकडाउनमा रहेका आफ्ना नागरिकलाई घरभाडा छुट दिने नीति ल्याएका छन । त्यस्तै व्यापार व्यावसायलाई धरासायी हुन नदिन विभिन्न आर्थिक राहत प्याकेजका घोषणाहरु गरिएका छन् ।
भारतले लकडाउनलाई आफ्नै किसिमले व्याख्या गर्दै नागरिक कफ्र्युका रुपमा व्याख्या गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार सबेरैदेखि रातिसम्मै अत्यावश्यक काम बाहेक आफ्ना सवा अर्ब नागरिकलाई घरबाहिर ननिस्कन अपिल गरेका छन् । यो पनि एककिसिमको लकडाउनको अवस्था नै हो ।
अर्को दक्षिण एशियाली मुलुक श्रीलंकाले आज साँझदेखि कम्तिमा ६० घण्टाका लागि कफ्र्यु नै लगाएको छ । नेपालले सम्भवतः आज साँझदेखि लकडाउनमा जाने नीति अख्तियार गर्न सक्छ ।
समयमै लकडाउनमा नगएका मुलुकहरुले गम्भिर संकटको सामना गरिरहेकाले आपत्कालीन अवस्थामा यो नै उत्तम निर्णय हुने बुझिसकेका छन् । त्यसैले कोरोना भाइरसको जोखिम फैलन नदिन अत्याधिक भिडभाड हुने शहर र स्थानलाई लकडाउन गर्नु नै रोकथामको पहिलो खुड्किलो हो । यातायातको चाप रोक्न, प्रतिकुल परिस्थितीलाई नियन्त्रणमा लिन लकडाउन सहज उपाय हो ।
यसअघि कहिले भएका थिए लकडाउन ?
यसअघि, अमेरिकाको न्यूयोर्क शहरमा सन् २००२ मा आतंकवादी आक्रमण हुँदा तीन दिन लकडाउन गरिएको थियो । त्यस्तै, अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यले सन् २००५ मा भड्किएको दंगा नियन्त्रणमा लिन लकडाउनको सहारा लिएको थियो । त्यसैगरि, फ्रान्सको राजधानी पेरिसमा सन् २०१५ मा आईएसद्वारा गरिएको भिषण आतंकवादी आक्रमणपछि शहर नै लकडाउन गरिएको थियो । तर विश्वमा सम्भवतः कुनै भाइरस अथावा रोगले विश्वनै लकडाउन गएको यो पहिलो अवस्था हो । रोगबाट जोगिन यो नै सर्वोत्तम उपाय हुनसक्छ ।





























प्रतिक्रिया