प्रहरीले बरामद् गरेको ११ लाख थान मास्क बजार लैजाने तयारी (भिडियोसहित)

प्रहरीले बरामद् गरेको ११ लाख थान मास्क बजार लैजाने तयारी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलँदा नेपाली बजारमा भने व्यापारीहरु मास्ककै कालोबजारी गरिरहेका छन् । काठमाडौंमा प्रहरीले विशेष अपरशेन शुरु गरेर ११ लाख थान मास्क बरामद गरेको छ ।

प्रहरीले कालोबजारी विरुद्ध विशेष अपरशेन शुरु गरेर सोमवार काठमाडौंको सतुंगलबाट ८ ट्रक मास्क बरामद गरेको छ । ट्रकमा ८ लाख ५० हजार थान मास्क रहेको प्रहरीले जनाएको छ । यति धेरै मास्क बरामद भएपछि बजारमा रहेको मास्कको अभाव हट्ने आम जनमानसको बुझाइ छ । यसैबीच अहिले बरामद भएको मास्क शिलबन्दीमा नै रहन्छन की के हुन्छ ? बजारमा बेच्नको लागि खुल्ला गरेर सर्वसाधारणहरुले प्रयोग गर्न पाउँछन् की पाउँदैनन् ? भन्ने सबैको चासोको विषय रहेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीले बरामद गरिएको मास्कलाई के गर्ने भन्ने विषय जिल्ला प्रशासन कार्यालयको भएको बताए । उनले भने ‘जिल्ला प्रशासन कार्यालयले के गर्ने निर्णय गर्छ त्यही अनुसार अगाडी बढ्छौं ।’ बरामद भएको मास्क कानुनी प्रावधान अनुसार चाडैं बजारमा बिक्रीका लागि पठाइने जिल्ला प्रशाशन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले केन्द्रविन्दुलाई बताए ।

उनका अनुसार प्रहरीले बरामद गरेको सामान मुद्दाको फैसला नभएसम्म प्रहरीले शिलबन्दी गरेर राख्ने हो तर अहिले कोरोना भाइरसको प्रभावले बजारमा मास्कको अभाव छ । त्यसैले कानुनी प्रक्रिया मिलाएर बजारमा बिक्रिका लागि लैजाने तयारीमा लागेको उनले बताए ।

शुक्रबारदेखि सोमबारसम्म प्रहरीले गरेको अप्रेसनमा ११ लाख मास्क बरामद भएको छ भने कालोबजारी गर्ने व्यापारीहरु महाकाल मञ्जुश्री ट्रेडर्सका सञ्चालक मिन्टु तामाङ, अनिस कार्की, उज्वल अधिकारी, मानकाजी लामा, थुमराज उपाध्याय, नृप कार्की, गणेश तामाङ र शिव खड्कालाई पक्राउ परेका छन् ।

आइतबार कपनको एउटा गोदाममा छापा मार्दा १ लाख ६८ हजार मास्क बरामद भएको थियो । प्रहरीले कपनमा छापा मारेर मास्क कालोबजारी गर्ने कार्यमा संलग्न भारतीय नागरिकहरु सुरजकुमार गोयल र सुवास महेश्वरीलाई पनि पक्राउ गरेको थियो । उनीहरुकै समूहले काठमाडौंको सतुंगलस्थित रोहित श्रेष्ठको घरमा रहेको गोदाममा मास्क लुकाएको पत्ता लाग्यो र आइतबार साँझ गोदाममा सिलबन्दी गरेर सोमबार बिहान प्रहरीले खानतलासी गरेको हो ।

शनिबार पनि मास्क लुकाइएको भन्ने विशेष सूचनाको आधारमा काठमाडौंको डल्लु क्षेत्रमा छापा मार्दा प्रहरीले ७८ हजार थान मास्कसहित ८ जनालाई पक्राउ गरेको थियो । यस अघि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मास्क कालोबजारी तथा मूल्यबृद्धी गरेर बेच्ने ११ फार्मेसीलाई कारबाही गरी २५ लाख रुपैयाँ असुल गरिसकेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौंले मास्क तथा सेनिटाइजर लगायत ग्यास तथा दैनिक उपभोग्य बस्तु कालोबजारी गर्नेहरु विरुद्ध कारवाही गर्न थालेसँगै धमाधम कालोबजारी गर्ने व्यापारसहित समाग्री बरामद हुन थालेका हुन् । नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छैन, तर संक्रमण देखिएको अवस्थामा आवश्यक पर्ने वस्तुहरुको कालोबजारी बढ्न थालेकाले त्यसविरुद्ध प्रहरीले ग्राहककै भेषमा अपरेसन सुरु गरेको प्रवक्ता बोगटीले बताए ।

कोरोना भाइरसको प्रभाव देखाउदै काठमाडौंका केही ठूला व्यवसायीहरुले अहिले दैनिक उपभोग्य वस्तुहरु लुकाउन थालेका छन् । खाना पकाउने एलपी ग्यासका सिलिन्डरदेखि मास्क र सेनिटाइजरसमेत लुकाइएको सूचना प्राप्त भइरहेकाले लुकाइएका सेनिटाइजर, मास्क र ग्यास सिलिन्डरको खोजतलास प्रहरीले गरिरहको जनाएको छ ।

यसैबीच प्रहरीले बरामद गरेका मास्क तत्कालै बिक्री वितरण गर्न महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको छ । महान्यायाधिवक्ताको कार्यालयले नेपाल प्रहरीलाई पत्र लेखेर बरामद मास्क साझा स्वास्थ्य सेवा लगायतका सरकारी कार्यालयलाई बजार मूल्य अनुसारको पैसा लिएर उपलब्ध गराउन निर्देशन दिएको हो । प्रहरीले बिक्री गरेको रकम प्रहरी कोषमा नै रहने छ । प्रहरीले उपलब्ध गराएका मास्क तत्कालै बिक्री वितरण गर्न पनि महान्यायाधिवक्ता अग्नि खरेलले निर्देशन दिएका छन् । हेरौं यो भिडियोमा :

Logo