तीनै तहका सरकार प्रमुख र सचिवहरुसँग पर्यटनमन्त्री भट्टराईको छलफल (भिडियोसहित)

तीनै तहका सरकार प्रमुख र सचिवहरुसँग पर्यटनमन्त्री भट्टराईको छलफल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटका लागि पर्यटन सम्बद्ध सातैवटा प्रदेशका मन्त्री, सचिव, महानगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुसँग छलफल गरेका छन् । आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट ‘समृद्ध नेपाल : सुखी नेपाली’को लक्ष्य अनुसार प्रभावकारी बनाउनका लागि मन्त्री भट्टराईले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच छलफलको आयोजना गरेका हुन् ।

आइतबार मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा प्रदेश सरकार तथा स्थानीय तहका प्राथमिकताका आयोजना समेतका आधारमा सहकार्यका विविध पक्षमा मन्त्रालय र सातै प्रदेशको तर्फबाट प्रस्तुतिकरण भएको थियो । कार्यक्रमको सुरुमा मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले मन्त्रालयको तर्फबाट प्रस्तुतीकरण राखेका थिए ।

यसपछि सातैवटा प्रदेशका सचिवहरुले सम्बन्धित प्रदेशको पर्यटन क्षेत्रको सम्भावना, साझेदारीका परियोजना र भावी कार्यक्रमको प्रस्तुति गरेका थिए । सबै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवहरुले सम्बन्धित प्रदेशको पर्यटन क्षेत्रको सम्भावना, साझेदारीका परियोजना र भावी कार्यक्रमको प्रस्तुति गरेका हुन् ।

तीनैवटा सरकारबीच समन्वय, सहकार्य र समझदारी जरुरी : मन्त्री भट्टराई

कार्यक्रममा मन्त्री भट्टराईले मन्त्रालय अन्तर्गतका योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तीनै सरकारबीच समन्वय, सहकार्य र समझदारीमा जोड दिए । उनले मन्त्रालयले नीति कार्यक्रम तथा बजेट छनोट गर्दा सबै तहका सरकारसँग समन्वय गर्ने बताए । योजना छनोट तथा लगानीमा पनि सबै तहसँग समन्वय र सहकार्य गरिने उनको भनाई थियो । उनले भने, ‘संयुक्त लगानी र प्रतिफलका लागि सबै तहबीच समन्वय, सहकार्य र समझदारी गरेर जानुपर्छ ।’

मन्त्री भट्टराईले ‘समृद्ध नेपाल : सुखी नेपाली’को वर्तमान सरकारको लक्ष्य प्राप्त गर्न पर्यटन क्षेत्रको विकास अनिवार्य रहेको भन्दै प्रदेश सरकारसँग सहकार्यमा सबै प्रदेशमा कम्तिमा एक एक वटा रणनीतिक आयोजनाहरु तय गरिने बताए । मन्त्री भट्टराईले प्रदेश सरकारले आन्तरिक पर्यटन प्रबद्र्धन, स्थानीय सरकारले स्थानीय पर्यटन प्रबद्र्धन र संघीय सरकारले अन्तराष्ट्रिय पर्यटन प्रबद्र्धनमा गर्ने गरी योजना तयार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पर्यटन क्षेत्रको एकीकृत विकासको लागि अवलम्बन गर्न सकिने उपायहरुको बारेमा चर्चा गरे । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले नेपालको समग्र पर्यटन क्षेत्रको विकास, पन्ध्रौं योजनाले यस क्षेत्रमा लिएको लक्ष्य तथा रणनीतिबारे बोलेका थिए ।

राम्रो कामको सुरुवात : प्रदेश मन्त्रीहरु

कार्यक्रममा सहभागी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रीहरुले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय अभाव भइरहेको बेला समन्वय गोष्ठी आयोजना गरेर मन्त्री भट्टराईले राम्रो अभियानको सुरुवात गरेको भन्दै प्रशंसा गरे । उनीहरुले बजेटलाई छरपष्ट गर्नुभन्दा तीनै सरकारबीच समन्वय गरेर दिर्घकालिन महत्वको रणनीतिक पर्यटकीय योजनाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

प्रदेश नम्बर एकका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियत, प्रदेश नम्बर २ का राम नरेश राय, वागमती प्रदेशका अरुण प्रसाद नेपाल, गण्डकी प्रदेशका विकास लम्साल, प्रदेश नम्बर ५ का लिला गिरी र कर्णाली प्रदेशका नन्दसिहं बुढाले आफ्नो प्रदेशको अवस्था र योजनाको बारेमा धारणा राखेका थिए । उनीहरुले यस मन्त्रालयबाट भएको समन्वयात्मक गोष्ठीबाट सकारात्मक प्रभाव पर्ने, बजेट तर्जुमा गर्नुअघि भएका यस्ता कार्यक्रम भावी योजना बनाउन अत्यन्त उपयोगी हुने बताए ।

भिडियो :

Logo